नयाँ वर्ष २०७४ को पहिलो दिनको स्वागत गर्दै नेपालीहरु एक अर्काको भलो चिताउने, शुभकामना दिने शिष्ट समाजले चलाएको चलनलाई हामीले पनि निर्वाह गर्नै पर्छ । एक अर्काको भलो चिताउने नववर्षको परोपकारी भावनाबाट हामी कति ओतप्रोत छौं, जाँच्ने बेला आएको छ । कहीं हामीमा मानवीय गुणको अभावका कारण देशमा विद्यमान द्वन्द्वको जन्म त भएको छैन । कहीं हाम्रो ईगोले सबै कुरा बिगारि रहेको त छैन ? हाम्रै कारणले सामाजिक सद्भाव खल्बलिएको त छैन ? विश्वासका आधारहरु भत्किएर विविधतायुक्त सामाजिक संरचनाका सहिष्णुताका गुणहरु हराउने अवस्थाले हाम्रो सभ्य समाज कस्तो बन्ने (अराजक र असभ्य) राज्य संचालक जिम्मेवार दलहरुलाई यी सब कुराको बोध हुन जरुरी छ र ढहदै नेपाली समाजको परम्परागत गुणलाई पुनस्र्थापित गर्ने जिम्मेवारी पनि वहन गर्न आवश्यक छ । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा बाटो बिराएका शीर्ष तीन दलहरुलाई जिम्मेवारीबोध होस् भनेर शुभकामना दिन चाहन्छु ।
विकसित कुनै अवस्थाको एउटा सीमा हुन्छ । त्यही सिमाभित्र अर्को परिवर्तनको भ्रूण विकसित भई नयाँ वस्तुको जन्म दिन्छ । विकासको यही क्रममा मानिस मात्रले होईन, जड र चेतन आफनो अस्तित्वलाई कायम राखेको छ । परिस्थितिको अनुकूलता र प्रतिकूलतामा मानव समाज शक्तिमान र शक्तिहीन भए । शोषक र शोषित जन्मे । शासक र शासित भए । धनी र गरिबको वर्गीय समाज जन्म्यो । सबल र निर्बलको भेदभावले ठाउँ पायो । यी सब कुरा प्रकृतिका विकास विज्ञानका सूत्रहरु ह्ुन् । यही सूत्रलाई प्रयोग गरि प्रकृति परिवर्तनको गतिशीलतालाई अगाडि बढाउँछ । दुई असमान वस्तुबीच हुने कडा प्रतिक्रियाले नै परिवर्तनको भ्रूण राख्दछ र विकासक्रम अगाडि बढ्दछ । विकासवादको यही नियम अन्तर्गत चेतन अचेतनको अस्तित्व देखिन्छ । जसलाई संसार भनिन्छ । क्रिया प्रतिक्रियामा प्रमुखताका साथ भाग लिने भौतिक पदार्थलाई प्रकृतिले शास्वत बनाएको छैन । एउटाको विनाश र अर्कोको जन्म हुने जीवनचक्र निर्धारण गरेको छ ।
गुण सूत्रको आधारमा जड, चेतनले सबल, निर्बलको आधारमा जीवन पाएको हुन्छ । सबल, निर्वल एक अर्काका पूरक रहेकोले दुवैको अस्तित्व अनिवार्य हो । सबलताले पराक्रम दिन्छ, उन्माद दिन्छ, साहस दिन्छ । निर्बलताको जगमा अस्तित्वमान हुने शक्तिशाली व्यक्ति, समूह र राज्य परिवर्तनका प्रमुख कारक रहेपनि आफनो अस्तित्वको मोहमा परिवर्तनको दायित्वबाट भटकिन्छ । राणा परिवर्तनका कारक थिए । राजा परिवर्तनका कारक बने । त्यसपछिका दिनमा सबल राजनीतिक दलहरु यस भूमिकामा आएका छन् । नेपाली समाज तीव्रतर रुपमा परिवर्तन गर्न खोजि रहेको छ । परिवर्तनका लागि कारक तत्वको प्रतिक्रियात्मक भूमिका पुगेको छैन कि भान हुन्छ र परिवर्तन रोकिएको छ । परिवर्तन रोकिएको अवस्था प्रसव वेदनाको अवस्था जस्तै हो । जसरी वच्चा जन्माउने आमा प्रसव वेदनामा छटपटिएको हुन्छ, हाम्रो समाजमा पनि द्वन्द्वको अस्तित्व कायम रहेको देखिन्छ । द्वन्द्व समाधानको दिशामा कुनै पहल नदेखिनु परिवर्तन कै लक्षण बुझ्न सकिन्छ ।
माओवादी जनयुद्ध र मधेशको भीषण आन्दोलनले नेपाली समाजलाई अर्को नयाँ परिष्कृत समाजमा रुपान्तरण गर्न आएको थियो । परिवर्तनका आकाँक्षी जनता आन्दोलनमा सहभागि थियो । अस्तित्वमा रहेका पूर्ववर्ती शासकवर्गले एउटा जामा फेरेर अर्को जामा लगायो । यही परिवर्तनमा सन्तोष गर्न जनतालाई बाध्य बनाएका कारण द्वन्द्वको सहजीकरण हुन सकेको छैन । खासगरि मधेशको सवालमा नव नियुक्त शासकवर्गले विरासतमा पाएका मधेशसंगको भेदभावलाई कायम राख्नमा नै आफनो भलो हुने कुरा सोचे र त्यही अनुरुप शीर्ष दलहरुको सहमती पनि भयो । झण्डै १० वर्ष बित्यो मधेश आन्दोलित अवस्थामा नै रहेको छ । धरातलिय यथार्थबाट बाहिर गएर शीर्ष दलहरुले १० वर्षदेखि अनवरत रुपमा मधेशलाई फकाउने प्रयास ग¥यो तर समस्या ज्यूँका त्यूँ छ । विश्वासको वातावरण यति खल्बलिएको छ कि सरकारले मोर्चालाई बोलाउनु मगरमच्छको आँसू जस्तै वार्ता महत्वहीन भएको छ । चिया खानेमा सिमित वार्ताप्रति दुवै पक्षको चासो नै हट्यो ।
असलमा द्वन्द्व हटाउन दुवै पक्ष चाहँदैन कि ? जस्तो पनि देखिन्छ । सरकारले वार्ताको नाटक गरेर मोर्चालाई दोषी देखाउने एक पक्षको रणनीति होला, मोर्चाले पनि द्वन्द्वको अवस्थामा नै आफनो अस्तित्व रह््ने रणनीति लिएको हुन सक्छ । जे भए पनि वार्ता सार्थक नहुनुमा बढि जिम्मेवार सरकार नै हो । एउटा संशोधन प्रस्तावलाई भारतीय प्रस्ताव भनेर एमालेले विरोध गरि रहँदा पहिलो प्रस्ताव सरकारले फिर्ता गरि एमालेलाई खुशी त पा¥यो, तर दोश्रो संशोधन प्रस्ताव ल्याएर अर्को तनावको स्थिति पनि बनाई दिएको छ । एमालेलाई पूर्ववत् विरोधको खेमामा, मोर्चालाई पनि असन्तुष्टको खेमामा राखेर द्वन्द्व समाधानको बाटो खोज्नु यो पनि एकखाले नाटक हो । मध्यमार्गी काँग्रेस कहिले मधेशीहरुको समर्थनमा त कहिले एमाले, माओवादीको समर्थनमा देखिएको छ । अर्थात् आफनो आफनो स्वार्थ पूरा गर्न उपयुक्त के हुन्छ, तिकडमी चालको आधारमा बोलि रहेका छन् ।
सत्ता प्राप्त गर्ने समीकरणसंग जोडेर हेर्ने शीर्ष तीन दल मधेशको मुद्दाप्रति सम्बेदनशील हुन नसक्नु अर्को बिडम्बना हो । सरकार बनाउन मधेशका दलहरुलाई प्रयोग गर्ने तर कुनै प्रकारको उपलब्धि दिन नसक्ने दलहरुको वैचारिक संकीर्णताले अविश्वासको गहिरो खाडल खनि दिएको छ । सत्ताप्राप्तिको सवालमा तीनै दलहरुको मतैक्य रहेपनि मधेशको समस्यालाई सम्बोधन गर्न तीनै दलको तीन विचार सतहमा देखा पर्नु, तीनै दलहरुको मधेशप्रतिको मानसिकता एकै किसिमको देखिनु, द्वन्द्व भडकाउने दिशातिरको कदम हो ?
सरकार र मधेशी मोर्चाबीचको खींचातानी एक दशकदेखि अर्थात् १० वर्षदेखि चलि रहेको स्पष्ट देखिएको छ । धरातलीय यथार्थबाट बाहिर गएर दशक लामो खींचातानीलाई विभिन्न ढंगले परिभाषित गरि आम जनतामा मोर्चालाई दोषी देखाउन गरिएको कोशिश एक पक्षको लागि शुभ लाभ होला, तर देश १० वर्षमा कति आहत भयो यसको लेखाजोखा छैन । जनताको म्यान्डेट पाएर सत्तामा उक्लिएका दलहरु शक्तिको उन्मादमा आफनो पतनको क्षण कस्तो होला भन्ने विषयमा पनि सोचि रहेको छैन । आफनै सामुन्ने कतिपय शक्तिशाली व्यक्तित्व धूल धुरसित भएको उदाहरण पनि जीवितै छ । पाए जेपनि गर्ने, मर्नु परे मरि दिने सोच निश्चय पनि सत्ता संचालनको लागि उपयुक्त मानिदैन ।
मधेशसंग गरिएको उपेक्षा चरम अवस्थामा पुगेको छ । तीन दलहरुले अनेक बहानामा मधेशलाई पछाडि धकेल्दै भित्ता मै पु¥याएर मधेशीलाई भारतीय परिभाषित गरेर उसको माँग मान्न नसिकने स्पष्ट रुपमा भनि सकेका छन् । संघीयता, समावेशी र समानताको अधिकार भाारतीयलाई नदिने सरकारको व्यवहार वास्तवमा मधेशलाई उग्र दिशातिर अग्रसर गराउने प्रयासमा ठूलो षडयन्त्र लुकेको छ । मधेशलाई अधिकार शेयर गर्नुभन्दा राजालाई नै स्थापित गर्नु बेश भन्ने प्रयासमा मधेशसंगको जानी जानी सम्बन्ध बिगार्ने गरेको विश्लेषण एक थरिको छ भने द्वन्द्व भडकाएर अवसर खोज्ने मनसाय पनि प्रवल देखिएको छ ।
आफनो तिकडमी चालले राजनीतिक माहौल बिगारेर अवसर प्राप्त गर्न तीन दल जति खप्पिस देखिएका छन् राजनीतिक सहजीकरणमा उत्तिकै असक्षम रहेका छन् । देशको समस्यालाई अवसरको रुपमा उपयोग गर्ने दलहरु शक्तिकेन्द्रद्वारा नै समाधान खोज्ने संस्कार पाएका छन् । परनिर्भरताको निर्लज्जतालाई बेला मौकामा स्वाभिमानको नारा त कहिले राष्ट्रवादको नारा उचालेर छोप्ने गरेको कुरा कसैबाट लुकेको छैन । हरेक भूमिकामा आफूलाई उपस्थित गराउन तेज तर्रार यिनी आफै देशमा विद्यमान द्वन्द्वलाई समाधान गर्ने पक्षमा छैनन् । यसलाई पनि शक्तिकेन्द्रको जिम्मा लगाउने मनसाय होला नै । ओलीको थाईल्यान्ड भ्रमण भारतीय गुप्तचर अधिकारीलाई भेट्नेसंग सम्बन्धित रहेको एकथरिका विश्लेषकहरुको आकलन छ ।
राजनीति जाल, फरेब, छल, कपट, धोखा यी पंच तत्वबाट निर्माण भएकोले यसलाई बेईमानीपूर्वक संचालन गर्नु कुनै अस्वाभाविक मानिदैन । राजनीतिको स्तरहीनता नै जहाँ मापदण्ड बनेको छ, त्यहाँ ईमान्दारिको राजनीतिको कल्पना गर्नु मूर्खता नै हो । तर आफनो अस्तित्व कायम राख्न विरोधीलाई परास्त गर्न प्रयोग हुने यो मापदण्डबाट देशलाई घाटा हुने ठह¥यो भने त्यस्ता व्यक्तिलाई वा पार्टीलाई देशद्रोही नै भनिने छ । आफनो स्वार्थको लागि दलीय अस्वस्थ प्रतिस्पर्धाका कारण बिगारेको राजनीतिक माहौलबाट देश क्षत विक्षत भई रहेको नतिजाले देखाउँछ । देशको यस्तो अवस्थालाई पनि नजर अन्दाज गरि बस्ने व्यक्ति, पार्टी राष्ट्रहितमा नरहेको स्पष्ट छ ।
इगोको राजनीतिबाट सरकार र मोर्चाकोबीचको अविश्वासको खाडल बढ्दै गएको छ । वार्ताका अनेक नाटक निष्कर्षमा नपुगेको कारणले मोर्चा किञ्चित पनि आफनो अडानबाट पछि नहट्ने, सरकारले मोर्चालाई आफनो ईगोलाई समर्थन गर्न बाध्य गर्ने क्रियाकलापबाट गतिरोध बढ्दै जानु एउटा ठूलो समस्या उत्पन्न भएको छ । दुवै स्वयं परस्पर मिल्न नसक्ने, गतिरोध बढ्दै जाने भएकोले शक्तिकेन्द्रलाई मध्यस्थकर्ताका लागि गुहार्नुभन्दा देशभित्र कै विद्वतवर्गबाट मध्यस्थता गरि राजनीति सहजीकरणको बाटो खोज्नु पर्दछ । इगोको राजनीति गर्नेले पनि सहजताको बाटो अख्तियार गर्नु पर्दछ । देश सबैको साझा हो । साझा दायित्व निर्वाह गर्नु सबैको कत्र्तव्य पनि हो ।
२०७४ वैशाख १ गते मधेशवाणीमा प्रकाशित
