फाल्गुन ७ गतेको नौलो बिहानी । डाँडाभरि सूर्यको सुखद किरण बिशेष राग, तरंग लिई फैलियो । प्रकृतिका कण कण प्रकाशित भई चरा चुरुङ्गीलाई हर्षित पारि मधुर गानका लागि प्रेरित गरि रहेको थियो । रातिभरि मृत्यु तुल्य रहेका जीवहरु यो सुखद बिहानीमा नवजीवन पाएको जस्तो लाग्थ्यो । खोलाको कल कल, चराहरुको मधुर कलरव, बिहानी पखको आनन्ददायी घाम र डाँडाका हरियालीले वातावरण मन्त्र मुग्ध त थियो नै, हिमाल पनि श्वेत, शुभ्र छटाले अरु रमाईलो बनाई दिएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा स्कूलका बालबालिकाहरुको हातमा नेपालको झण्डा र “प्रजातन्त्र जिन्दावाद” को नाराले डाँडा गुँजायमान भएको थियो । आजको दिनले दैनिक समस्यालाई सुखद बनाउन नसके पनि प्रजातन्त्र दिवस मनाउनै पर्ने बाध्यताले वातावरणलाई सुखद बनाएको थियो । सबै आफनो समस्याहरुलाई लुकाएर भएपनि आज आनन्दको भूमिकामा लिप्त थिए ।
तर विक्रमको घरमा प्रजातन्त्र दिवसको सुखद वातावरण आएको थिएन । सधैं जस्तो दिनहुँ दरिद्रतासंग लड्दै दिन बिताउने बाध्यता । बालकको नैसर्गिक अधिकारबाट बञ्चित विक्रमको शैशवकाल आमालाई राहत प्रदान गर्न बलिदान चढेको थियो । चढ्नु पनि पर्ने हो । जीवनभरिका दुःख हृदयभरि संगालेर विक्रमलाई दुई खुट्टामा उभ्याउन सतत् प्रयत्नशील बुढी आमा अस्ताउने घाम सरह भएकी थिईन । आमाको गल्दै गएको शरीर देखेर दग्ध हृदय लिएर विक्रम बाल अधिकारको तिलाञ्जली दिएर पनि आमालाई राहत दिलाउन असक्षम नै थिए । तर मातृभक्तिबाट ओतप्रोत थिए विक्रम । किन नहोस्, आफनो भन्ने आमाबाहेक अरु कोही पनि त थिएन ।
प्रजातन्त्र दिवसको गगनभेदी नारालाई विक्रम घरको बाख्राबाख्रीले उनको घरमा आउन दिई रहेको थिएन । बिहान भई सकेपछि भोकले कराएर बाख्राबाख्री कोलाहलको वातावरण बनाई दिएको थियो । कोलाहलपूर्ण वातावरणलाई शान्त पार्न बूढी आमाले खोरभित्र घाँस फाल्दै जोरले कराई—“नकरा बेस्सरी, छोरा थाक्या छ, सुत्न दे ।”
आमाको कुरा सुनेर विक्रम ब्यूँझ्यो । खाली गुन्द्रीमा उठेर बस्यो । केही सोच्दै ऊ धेरै बेरसम्म केही कुरा सम्झि रह्यो । टाउकोमा हात राखी सोची रह्यो–“राती के सोचेर सुत्या थिएँ, मगजमा आउँदै आएन । कुरा नभई नहुने खालको थियो ?”
डाँडामा अहिले पनि प्रजातन्त्र दिवस जिन्दावादको नारा घन्कि रहेको थियो । आवाज सुनेर शायद विक्रमलाई सम्झना आएको होला, उ कहीं जान हतारिंदै थियो । आमा छोरातिर हेर्दै नहेरी आँगनामा बसी सहस्र खण्डित फरियालाई सिउँदै थिईन । सधैं जस्तो आमालाई ढोग्न पाउमा सिर निहुँराउँदै कतै पाठ सिकेको मन्त्र बरबराउन थाल्यो–“हे मेरी आमा, नेपालकी आमा, संसारकी आमा, दुःखी जनको कल्याण गर्नोस्” भन्दै आमाको आशिष सिरमा लियो । “आमा म केही बेरपछि आउँछु” भन्दै बाहिर निस्क्यो । कुनै काम होला सोचेर आमा आफनो फरियालाई फेरि आङ छोप्न सक्ने गरि दुरुस्त बनाउन सिउन व्यस्त भई । जीवनमा केही नभएपनि छोराको अगाध मातृप्रेमले आमालाई सन्तुष्ट नै पारेको थियो । भौतिक सुखभन्दा मानिस भावनात्मक सुखबाट बढी सन्तुष्ट हुन्छ ।
८ वर्ष पहिले फाल्गुन ७ गते उ जन्मेको दिन । प्रजातन्त्र आएको दिन पराधीनताको बन्धनमा बाँधिएर आएको विक्रम बाल सुलभ अधिकार पनि भोग्न पाएन । आज उसको जन्मदिन मनाउने दिन । बिहान उठ्न अबेला भयो । भएपनि उ अनौठो खुशीका साथ उदयपुरको कटारी बजारतिर लम्केको छ । धेरै दिनदेखि जन्मदिनको उपलक्ष्यमा आमालाई एउटा फरिया उपहार दिन सोची रहेको थियो तर पैसा जोड्न सकि रहेको थिएन । हर्षातिरेकमा उसका पाईला छिटछिटो बजारतिर उठी रहेको थियो । हिंड्न त के, दगुर्दै बजार पुगी हाल्यो । अर्काको बाख्राबाख्री चराउने जागिरमा बाँधिएको विक्रमलाई आज आमालाई उपहार दिन हतार थियो ।
बजार प्रवेश गर्न लाग्दा उसले कालो मैलो कट्टूको पछाडिको खल्ती छाम्यो । बाख्रा साहुले दिएको ३५ रुपियाँ दाम साबित थियो । तैपनि निकालेर गन्यो । पूरै ३५ रुपियाँ रहेछ । १० रुपियाँ खल्तीमा हालेर २५ रुपियाँ फरियाका लागि हातमा च्यापेर एउटा कपडा पसलमा पुग्यो । दरिद्रताको नाङ्गो अनुहार लिएर कपडा पसलमा पस्न लाग्दा पसलेले “बाहिर जा” भनेर हुत्यायो ।
“फरिया किन्न आएको ?” भनेपछि मात्र विक्रम पसलमा पस्ने अनुमती पायो ।
लक्ष्मीलाई फोहोर र मैलो अवस्थामा आएको पसले चिन्नै सकेन । “आउ, बस” त भन्नै प¥यो ।
“ल भन, कस्तो फरिया चाहियो ?” हातमा पैसा च्यापेको देखेर पसलेले विक्रमलाई सोध्यो ।
“अस्ति माघे संक्रान्तिको मेलामा २५ रुपियाँमा हेरेको फरिया देखाउनोस ।” विक्रमलाई हतार थियो ।
पसलेले धमाधम फरिया झिक्न थाल्यो । विक्रमको नजरमा बसेको फरिया आएन । “अस्ति हेरेर गएको फरिया देखाउनोस न साहुजी ?”
“तिमी त मेरो पसलमा पहिलो चोटि आएको हो । कुन फरिया देखेको तिमीले ?” कपडा साहुले प्रश्न गर्दै भन्यो ।
“सुवेदार्नी बज्यैले हेरेको फरिया क्या ? म संक्रान्तिको मेलामा पसल बाहिर उभि रहेको थिएँ । तपाईं देखाउँदै हुनु हुन्थ्यो ।” विक्रमले भन्यो ।
पसले फरिया झिक्दै देखाउँदै दिक्क मान्दै भन्यो–“कुन चाहिं लिने हो ? कि राखी दिउँ ।”
उल्टाउँदै पल्टाउँदै एउटा रातो रंगको फरिया उसले मन परायो । त्यो फरिया हातमा लिएर साहुलाई सोध्यो–“यसको मोल कति साहु ।”
“चालिस रुपियाँ ।” अरु फरिया समेट्दै साहुले भन्यो–“आईमाईले मन पराउने सबभन्दा राम्रो फरिया हो यो । मोल पनि सस्तो छ ।”– पसले साहु विक्रमलाई विस्तारै व्यापारिक जालमा फँसाउँदै भन्यो ।
“अस्ति त २५ रुपियाँ भन्या हो ? आज कस्तो कुरा फेरेको ?” विक्रमको सपना पूरा नभएको देखेर ऊ अलि झोक्किएर भन्यो ।
“अस्तिको २५ रुपियाँवाला फरिया विक्री भयो । यो महँगो खाले हो । तिमी बिहानै आएकोले ५ रुपियाँ कम गरेर ३५ रुपियाँ देऊ ।” अरु फरियाहरु बटुल्दै राख्दै पसलेले विक्रमसंग पैसा माग्दै भन्यो ।
“महँगो भयो साहुजी ।” फरिया फिर्ता गर्दै विक्रम भन्यो ।
“ए बावु, अरु पसलेले यो फरियाको ४० रुपियाँ नलिई दिदैन । मेरो पसलबाहेक मानिसहरु बजारमा कुनै न कुनै तरिकाले ठगिएर जान्छन् ।” पसलेले कपडा नाप्ने मीटरले पसलमा झुण्डिएको “एकदाम” को बोर्डलाई देखाउँदै भन्यो–“हेर यहाँ एकदाम लेखेको छ । मेरो पसलमा मोल तलमाथि हुँदैन । तिमी बालक र बिहानै आएकोले कम भन्या हो । बिहान बोहनीको टाईममा किचकिच गर्नु हुँदैन । दिनभरिको आम्दानी रोकिन्छ । ल १० रुपियाँ कम देउ ।” पसले विक्रमको हातमा पैसा देखेर उसलाई उम्कन दिन चाहँदैनथ्यो ।
विक्रम उठ्ने प्रयास गर्दै सोच्न थाल्यो–“एकदाम भएको भए यो साहु फरियाको मोल कम किन गर्दै गएको हो ? म यसको ईष्टमित्र, नातागोताको होईन, ठ्याक्कै २५ रुपियाँ भन्दिए हुन्थ्यो नि । साले चुसाहा बनियाँहरु ।”
विक्रम पसलबाट तल ओर्लन थाल्दा –“ल बावु, कति दिन्छौ, तिमी नै भन” भन्दै साहुले विक्रमलाई रोक्न खोज्यो ।
“२० रुपियाँ ।” अर्काको बाख्रा चराउन अबेला भएको कारण विक्रम रिसाएर भन्यो ।
“ल झिक पैसा” भन्दै साहुले कागजमा फरिया बेरेर विक्रमलाई दिंदै भन्यो ।
हातमा भएको २५ रुपियाँबाट ५ रुपियाँ बचाएर आफनो जन्मदिनमा भात खाने उद्देश्यले विक्रम दाल, चामल आदि सामान किनेर हिंडी हाल्यो । बाख्रा खोल्न अबेला भएको कारण बाख्राबाख्रीको चिच्याहट तथा मालिकहरुको गालीको भयले विक्रम दगुर्दै घरतिर लाग्यो । विक्रमलाई घर पुग्न हतार पनि थियो भने आफूले प्राप्त गरेको वस्तुको संरक्षणको पनि उत्तिकै चिन्ता थियो । आमाको सहस्र खण्डित फरिया आज फेर्ने खुशीमा उतावलो विक्रम कति छिटो घर पुग्यो, थाहै भएन ।
विक्रमले चिताए जस्तै परैबाट बाख्राबाख्रीको चिच्याहट तथा मालिकको विक्रमलाई बोलाउने स्वर सुनिन थालिएको थियो । विक्रम घर पुगेर फरिया आमालाई दिएर भन्यो–“आमा तपाईं नुहाएर यो नयाँ फरिया लगाउनोस् । आज मेरो जन्मदिन भएकोले दालभात खाएर मनाउनु पर्छ । म बाख्रा खोलेर गएँ । तपाई खानेकुरा लिएर “घोडे डाँडामा” आउनोस्” भन्दै बाख्रा खोलेर उ डाँडातिर लाग्यो ।
छोराले दिएको पोको लिएर आमा आँगनामा बसी । छोराले ल्याई दिएको फरिया पाएको खुशीले आँखामा आँसूको रोकिएको धारा फुट्यो । आँसू झर्दै रह्यो, हात पोको खोल्न हतारिएको थियो । आँसूले भरिएको आँखाले फरियालाई राम्ररी हेर्न दिई रहेको थिएन । आमा आँसू पुछ्न असफल चेष्टा गर्दै छोराको मायालाई राम्ररी हेर्ने प्रयासमा लागेकी थिईन ।
छोराको मायाले ल्याई दिएको अपार खुशीले आँखाबाट झरि रहेको आँसू थामि रहेको थिएन । चामल, दाल घरमा एकतिर राखेर छोराले भने बमोजिम फरिया लिएर आमा नुहाउन खोलामा उत्री । आत्मविभोर भई बगेको आँसू सम्भवतः खोलामा समर्पित हुन चाहन्थ्यो होला । आमा नुहाए पछि मात्र थामियो । खोलाको चिसो पानीले आमालाई भाव विह्वलताबाट बाहिर निकालि सकेको थियो । धेरै दिनदेखि अडकिएको आँसू बाहिर आउँदा र चिसो पानीमा नुहाउँदा आमालाई एउटा अजीब आनन्दको अनुभूति भई रहेको थियो । प्रसन्नचित्त आमा छोराको खानेकुरा तयार गर्न हतारिएर घरतिर लम्कि ।
मन हलुको र आनन्दित भएकोले घरमा सबैकुरा नौलो लागि रहेको थियो । यो घरमा पहिलो पल्ट तर केही दिनका लागि सुख भोगेकी आमा सबैकुरा सम्झिन थालिन । आज प्राप्त भएको नौलो आनन्दमा जीवनका अल्प क्षणका सुखलाई सम्झिनु स्वाभाविक थियो । तर सुखका ती दिनहरु सम्झिदा आँसूको अथाह सागरमा पुनश्च डुबाई देला भनेर उनले भान्छा बनाउनेतिर ध्यान तोडिन ।
“आज छोरा जन्मदिन मनाउन किन उत्तावलो भएको होला । गरिबको जन्म र मरण हर्ष नविषादको महत्वहीन दिनलाई किन मनाउन रहर जागेको होला ? के हुन्छ, जन्मदिन मनाएर ? गरिबको जीवन धनीको चाकडी गर्न त हो । तर छोराले गरेको रहर त पूरा गर्नु प¥यो । छोराको लागि खोई मैले केही गर्न सक्या ? दुई अछेरको ज्ञान पनि दिन नसकेको । आठ वर्षकै उमेरमा अर्काको चाकरी गर्नु परेको । के गर्नु, आफन्तनै बैरी भएपछि यो दिन देख्नु प¥यो ।”–यी यावत् कुराहरु सोच्दै आमाले खानेकुरा पनि तयार पारिन ।
अर्काको घरबाट रंग अबीर माँगेर ल्याईन् । एउटा फूलको माला पनि बनाईन । राता अक्षता पनि बनाईन । सबैथोक लिएर आमा छोराले भने बमोजिम “घोडेडाँडा” तिर जान लाग्दा प्रधानसापकी श्रीमति चप्पल फटपटाउँदै आएर सोधी–“दिदी कहाँको यात्रा गर्नु भएको हो नयाँ लुगा लगाएर ?”
प्रधानसापकी श्रीमतिको व्यंग्यात्मक कुरा अलि नमिठो लाग्यो आमालाई । उ सोच्न थाली–“नयाँ लुगा लगाउने अधिकार, राम्रो खानेकुरा खाने अधिकार, अरुलाई व्यंग्यात्मक रुपमा होच्याउने अधिकार यिनीहरुकै लागि हो कि क्या हो । तर प्रसंग बदलेर उनले भनि–“आज आफनो जन्मदिन मनाउने अवसरमा छोराले आमाको फाटेको फरिया हेर्दा हेर्दै मौका पाएर किनेर ल्याएकोले लगाएकी हूँ । डाँडातिर उसको खानेकुरा लिएर जान लागेकी ।”
“जन्मदिन मनाउन डाँडातिर किन जानु प¥यो ? साँझमा घरमा मनाए भई हाल्थ्यो नि ?” आफनो सम्पन्नता र स्वतन्त्र विचारलाई एउटा गरिबसंग दाँज्दै प्रधानसापकी श्रीमतिले ठट्टाको स्वरमा भनिन् ।
“यो छोराको रहर हो जहाँ मनाएपनि हुन्छ । तपाईंहरु जस्तो मेरो छोराको जन्मदिन मनाउन गाउँभरि आउँदैन क्यारे ? घरमा होस् कि डाँडामा, आशीष दिने आमा मात्र त हुन्छिन् । गरिब र धनीमा यही त अन्तर हो । अनुहार मानिसकै पाए पनि गरिबलाई धनीसंग दाज्नै मिल्दैन । गरिब सबै पुर्वजन्मको श्रापित जीव हो भन्छन् । सजाय भोगेका निकृष्ट जीवहरु ।” आमा विलम्ब गर्न ठीक ठानिन, हतार हतार डाँडातिर लागि हालिन ।
“छोरालाई आफनो जन्मदिन मनाउन कति रहर लागेको ? यो रहर पनि त हामीले नै जगाएको उसमा । पहिलो ४ वर्ष छोराको जन्मदिन कति तडक भडकका साथ मनाउनु भयो विक्रमको बुवाले । गाउँभरि निम्तो दिएर खुवाउनु हुन्थ्यो । छोराको जन्मदिन आमाबावुले मनाउनु पर्दथ्यो । तर के गर्नु, आफनै बुवाले छोरीलाई कंगाल र विधुवा बनायो । अन्तिम चौथो वर्ष स्कूल जाने बेलाको जन्मदिन त बडो रमाईलो भएको थियो । गाउँभरिलाई मासू ख्वाएको जन्मदिन । मैले केही कुराको विरोध गर्दा विक्रमको बा भन्नु हुन्थ्यो–किन रिसाएकी, हामीलाई के कुराको तकलीफ छ । हाम्रो जीवनको फुलवारीमा एउटा फूल मात्र फुलेको, त्यो पनि कति सुन्दर ? हामीले यसलाई राम्ररी स्याहार्नु पर्दछ । एउटा ठूलो मान्छे बनाउनु पर्दछ जसले गाउँ समाजको ठूलो उन्नति गरोस् । छोरा स्कूलमा भर्ना भएको छ । स्कूलका बालबच्चालाई पनि जन्मदिनमा निम्त्याउनु पर्छ । छोराले भोग गर्ने धेरै सम्पत्ति राखि दिएको छु । के ठेगान, अर्को फूल विरुवामा लाग्छ, लाग्दैन । विरोध नगर । मलाई ईच्छा अनुसार गर्न देउ । सुहाउँदो बातावरण पाए मात्र छोरा ठूलो मानिस बन्न सक्दछ । म मरे पनि छोरालाई धेरै पढाउनु विक्रमकी आमा ।”
“छ्या के अशुभ कुरा गर्नु भाको ?”
“हैन भविष्यको कुरा ग¥या मैले ।”
“त्यसपछिका दिनमा मेरा माईतीवालहरुले उहाँलाई खानेकुरामा विष दिएर मारे पछि सबै सम्पत्ति जाली तमसुक बनाई हडपे । त्यस पछिका दिनमा म आमा भएर पनि छोरालाई पढाउन सकिन । छोराले अर्काको बाख्रा बाख्री चराएर पेट पाल्ने बाध्यता आई प¥यो । काल लागेको दिनमा कसैले केही गर्न सक्दैन भने जस्तै म पनि केही गर्न सकि रहेको छैन । आफनै बावुले मेरा पतिलाई मारे पछि उहाँको शोकमा रोएको आँखाले आजसम्म आँसू चुहाउन छाडेको छैन । मेरा पतिले रोप्नु भएको विरुवा घाम, वर्षा, हूरिमा आफै हुर्कि रहेको देखेर मलाई साह्रै दुःख लागेको छ । के गर्ने ?” आमाले आँसूले लेखिएको आफनो जीवन कथाका पानाहरु स्मृतिमा पल्टाउँदै घोडेडाँडातिर लम्कि रहेकी थिई ।
घोडेडाँडामा मानिसहरुको चहल पहल तथा ठूला ठूला स्वरहरुले आमालाई अतीतबाट यथार्थको धरातलमा ल्यायो । अलि परैबाट हेर्दा छोरा नजिक मानिसहरु जम्मा भएको देख्दा आमालाई ठूलो शंका भयो । विगतका दुःखका घटनाहरु सम्झिदै यथार्थमा पुनरावृति हुन लागेको शंकाले ऊ केराको पात झैं काम्न थाली ।
”यो त दाज्यू भीम बहादुरको आवाज हो । पक्कै छोरालाई कुट्न आयो होला ।” आमाको शंका बढ्दै गई रहेको थियो ।
”उ बोक्सी पनि आई हाली ।” भीम बहादुरको स्पष्ट आवाज आमाको कानमा प¥यो ।
अनेक शंका उपशंका तथा अनिष्टको भयले आमाको शारीरिक सन्तुलन कायम रह्न सकेन । उ काम्दै आफनो सन्तुलन दुरुस्त राख्ने कोशिश गरि रहेकी थिई । आमा लड्दै पर्दै हूलको नजिक पुग्ने कोशिश गरि रहेकी थिई । हूलमा आफन्तहरु हेरे पनि छोरा दृष्टिगत भई रहेको थिएन । आमा जोडले कराई– “छोरा विक्रम ?”
प्रत्युत्तरमा धरतीलाई च्याति दिने, पहाडलाई टुक्र्याई दिने, छोराले गगनभेदी विष्फोटक आवाजमा करायो–“आ…म्मा…..।”
आवाजतिर हेर्दा आमालाई तल भयंकर दृश्य देखा प¥यो । दाज्यू भीम बहादुर छोराको गलामा पासो लगाएर अगाडि तानी रहेको थियो । माईला तथा साहिला अमर बहादुर र प्रेम बहादुर दायाँ वाँया हातलाई आफू आफूतिर तानेको थियो । गाउँभरकी केटीलाई बिगार्ने प्रख्यात गुण्डा शेरु हातमा नाङ्गै खुकुरी लिई छोरालाई हान्न खोजेको दृष्य हेरी आमाले हृदय विदारक स्वरमा यतिमात्र “मेरो फूल नटिप्नोस् दाज्यू” भन्दै माथिबाट हाम्फाली । हातबाट दुईटै थाल फुत्केर चट्टानमा ठोक्किदै तल खोलामा खस्यो । आमा पनि लड्दै पर्दै घटना स्थलमा पुग्दै अचेत भई । यता “जयकाली” भई सकेको थियो ।
आफनै नातेदारले मानवताको बध गरि गई सकेको थियो । आफनै भान्जाको बध गर्ने पिशाचले अचेत बहिनीको के ख्याल गर्न सक्थ्यो । विक्रमको लाशलाई खोलामा फालेर पिशाचहरु विजयोन्मादमा मैयाँ हस्तकुमारी देवीलाई अचेत अवस्थामा छोडी घर फर्के । मानव समाजको यो शर्मनाक घटनाको यो घोडेडाँडा साक्षी भई अविचल तर मूक दर्शक बनेको थियो । खोलामा कलिलो बालकको हत्या गरि लाश फ्याँकिदा पनि खोलालाई कुनै सरोकार थिएन, उ अविरल बगि रहेको थियो । सम्भवतः घटनाको प्रमाण मेटाउन लाशलाई बगाएर लैजाने बैरीको आदेश रहेको होला । कोही आमाको पक्षमा थिएन । मानवताको रक्षा गर्ने मानिस लुप्त भएको जस्तो लाग्थ्यो ।
आमाको बेहोशी टुट्न लागेको थियो । उनका आँखा चारैतिरको दृष्य हेरि यथार्थ बुझ्न खोजि रहेका थिए । चेतना आई रहेको थियो । आमा उठेर दायाँ बायाँ हेरिन । केही थिएन । उ कहाँ हो, किन आएकी हो– ठम्याउन सकि रहेकी थिईनन् । नजिकै रगतमा नुहाएको ढुँगा हेरि सबैकुरा एकैचोटि चेतनामा स्पष्ट भयो । “छोरा” भनेर ढुँगालाई अंगाल्न खोजी । तर ठोक्किएर असह्य पीडाले उ फेरि अचेत भई । हुनु पनि पर्दथ्यो । आमाको अगाडि छोराको हत्या कसरी सह्न सक्थिन होली । चेतना र बेहोशीको दोसाँधमा परेकी आमालाई सम्हाल्ने कोही थिएन । आश्वासनका दुई शब्दबाट पनि उ बञ्चित थिई ।
महाभारतमा लेखिएका– “घोर कलियुगमा मानिस मानिस रहदैन, पशुतुल्य हुन्छ । मानिसहरु अखाद्य बस्तु खान थाल्छ । मानवताको क्षय हुन्छ । पाशविकता बढेर जान्छ । सबै एक अर्काका दुश्मन हुन्छ र यसरी पारस्परिक काटमारबाट कलियुगको अन्त हुन्छ ।” यी कुराहरुबाट घोर कलियुगको आभास हुँदैन ? घटि रहेका घटनाहरु लाक्षणिक रुपमा महाभारतका कुराहरुलाई सत्यापित गर्दैन ? होइन भने मानवताको बध हुँदा धरती किन फाटिनन । आकाशले किन बज्र प्रहार गरेनन् । पहाडको सशत्तता के काम लाग्यो । कि कलयुगले यिनलाई प्रभावहीन तुल्याएको छ । यी यावत् प्रश्न आमाको हो । उ चेतनामा रहेको भए सोध्न सक्थिन । आमा बेहोश भएको यी साक्षीहरुका लागि राहत तुल्य थियो । होइन भने आमाको प्रश्नवाण कसैले थेग्नै सक्दैन । यहाँ जन्म दिने आमा, काखमा हुर्काउने नेपाल आमा तथा संसारकी कल्याणी आमा तीनवटै आमा अहिले यस घटनाबाट आहत भई बेहोश भएर सुतेकी थिईन् ।
