अधिकार प्राप्तिका लागि उठेको मधेश आन्दोलनले शदियौंदेखि भेदभावको उत्पीडनमा बाँची रहेको मधेशलाई राजनीतिक रुपले चेतनशील त बनायो, तर संगठनात्मक सशक्त स्वरुप भने दिन सकेन । व्यक्तिवादी चरित्रका नेतृत्व पंक्तिका मधेशी नेताहरुको फरक सैद्धान्तिक चरित्र भए पनि उद्देश्य भने नैतिक अनैतिक जुनसुकै काम गरेर पनि आफ्नो लागि अवसर खोज्ने नै रह्यो । यहींबाट मधेश आन्दोलनको दुर्भाग्यको शुरुवात् भएको हो । कोही आफ्नो नेतृत्वमा मधेश आन्दोलन भएको कारणले आफूलाई मधेशको मसीहा बुझ्न थाले, कोही आफूलाई राज्य संचालनमा २० वर्षको कटु अनुभव रहेको प्रमाण देखाएर अग्रपंक्तिमा आए, रातोरात करोडपति बन्ने अवसरवादीहरु, व्यापारीहरु, तस्करहरु आदि मधेश आन्दोलनको कुम्भमेलामा सामेल भए । उच्च महत्वाकाँक्षा लिएका मधेशका ३ पार्टीका ८३ प्रतिनिधीहरु जनादेश लिएर संविधान सभामा आए । पार्टी नेतृत्वले पार्टीलाई संस्थागत गर्नुको सट्टा आफ्नो महानतामा नै रमाए । विभिन्न चरित्र बोकेका मानिसहरुको जमघटलाई आन्तरिक व्यवस्थापनको माध्यमबाट मधेशको अधिकार प्राप्तिलाई पार्टी जीवनको उद्देश्य बनाउन सकिएन । असलमा तीनवटै पार्टीले मधेशको अधिकार प्राप्त गर्ने उद्देश्य बमोजिम क्याडरतयार गर्न सकेन । पार्टीभित्र रहेका क्याडरहरु नेतृत्वको कोपभाजन भएर निष्क्रिय भए । मासबेस्ड तीनवटै पार्टीहरुलाई तीब्र महत्वाकाँक्षाले विभाजनको दिशामा डोर्यायो । पार्टी विभाजनबाट राहतमहसूस गर्ने असक्षम नेतृत्वले दम्भ वर्चस्वलाई फेरि कायम गर्न रमायो भने मधेशको विश्वासमाथि ठूलो बज्रपात भयो । विभाजनबाट कुनै पार्टीले शिक्षा लिई पार्टीलाई बचाउने प्रयास पनि गरेन, बरु अरुको पार्टी विभाजनमा मनग्गै रमाए । आफ्नो पार्टी फुट्दा दुखी हुनुको साटो सन्तोषका साँस लिए । यसरी क्रमिक रुपले पार्टीहरु विभाजन भई तीनबाट ८ पार्टी बनि सकेको छ । तर पनि विभाजनको प्रक्रिया रोकिएको छैन । यसरी क्रमिक रुपमा पार्टीको विभाजनले मधेशको विश्वासलाई क्षतविक्षत बनाई दिएको छ ।
व्यक्तिगत लाभका लागि जुनसुकै अनैतिक कार्यमा सफल प्रतिस्पर्धीका रुपमा परिचित मधेशका स्वनाम धन्य नेताहरुको क्रियाकलापले मधेशको शिर निहुरेको छ । व्यक्तिगत स्वार्थ पूरा गर्ने अवसरको खोजिमा रहेका मधेशका प्रतिनिधिहरुले मधेश आन्दोलनको उद्देश्यलाई बिर्से नै, पार्टीहरुलाई पनि कमजोर बनाए । मधेशी मोर्चा मधेशी आवाज उठाउन प्रतिकारात्मक भूमिकामा नभै अत्यधिक दलीय लाभ प्राप्त गर्ने थलोको रुपमा परिणत भएको छ । मधेशी मोर्चाले मधेशका दलहरुलाई एकै सूत्रमा बाँधे पनि कोही राज्यको कोपभाजन हुँदा मोर्चा त्यसको प्रतिकारमा नउठ्नु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको कुरा प्रष्ट हुन्छ । प्रतिकारात्मक भूमिकामा आउँदा आफू पनि पर्ने भन्ने डरले कोही कसैको लागि नबोल्ने अवस्थामा छ । बाबुराम भट्टराई नेतृत्वको सरकारमा महत्वपूर्ण तथा अत्यधिक मन्त्रालय प्राप्त गर्ने मधेशी मोर्चा अवसरबाहेक अरु सबैकुरा त्यागी सकेको छ । बढी संख्यामा मधेशीहरुलाई यो सरकारले मन्त्री बनाउन अवसर दिएको कुरामा रमाउने मधेशी मोर्चा एउटा एउटा गरि तानिदै मधेशी मन्त्रीप्रति कुनै प्रतिक्रिया दिने हिम्मत पनि गर्न सकि रहेको छैन । मधेशी मोर्चाको यो उद्देश्यविहीनता मात्र होइन, चरम अवसरवादिता पनि हो ।
मधेशी मन्त्रीहरुको भ्रष्टाचारका कुरा दिनहुँ छापाहरु आफ्नो स्थाई स्तम्भ बनाएर नाम सार्वजनिक गर्दै आएका छन् । ५० हजारमा मन्त्रीहरु अख्तियारमा तानिएका छन् । जयप्रकाशलाई जेल पठाइएको छ । सरिता गिरी हटाइएकि छिन् । कतिलाई अख्तियारले पूर्जी काटेको कुरा सुनिन्छ । कमजोर मानसिकता र चरम अवसरवादिताको परिणाम हो यो । एक पल्ट मन्त्री बने जीवन सफल हुने मानसिकता बोकेकाहरुले जुन लज्जाजनक क्रियाकलाप विगतको दिनमा देखाए, त्यसबाट मधेश त लज्जित भयो नै, राज्यले मधेशलाई डुबाउन प्रोत्साहन पायो । मधेशी मन्त्रीहरुको भ्रष्टाचार देखाएर सजाय पनि दिने र मधेशीलाई मधेशमा नँग्याउने माहौलको सृजना गम्भीर रुपमा गरिदै छ । स्वर्गबाट नजिक रहेको काठमाण्डौ उपत्यकामा घनीभूत रुपमा निर्मित गगनचुम्बी अट्टालिका पक्कै पनि विष्णुको वरदानका परिणाम हुन सक्दछ । यसलाई भोग गर्ने विलासी भक्तहरुमा भ्रष्ट आचारको कल्पना गर्नु नरकमा जाकिने पाप सरह नै हुन्छ । भ्रष्ट आचार त असुरहरुले ल्याएका कुरा हुन जसलाई सफाई गर्न जरुरी छ । यही सोच लिएर राज्य अग्रसर छ ।
मधेशको मुद्दाले राज्यलाई सचेत र गम्भीर बनायो भने मधेशका दलहरु यसलाई अवसरको माध्यम बनायो । अवसरको खोजि र प्राप्तिमा मधेशका दलहरुले मधेश आन्दोलन कहाँ र कसरी छुट्यो, सरोकारको विषय नै सम्झेन । सत्तालिप्साको एकमात्र लक्ष्य राख्नेहरुले आफ्ना क्रियाकलापले मधेशमा कस्तो प्रतिक्रिया भई रहेको छ, हेर्ने आवश्यकता पनि ठानेन । फलतः मधेशमा घोर निराशा र राजनीतिक वितृष्णा व्यापक रुपमा फैलियो । यसको परिणाम निश्चय पनि मधेशका राजनीतिक दलहरुले भोग्नु पर्ने हुन्छ । यसको विपरित राजनीतिक दलहरुले धनको माध्यमबाट मधेशले आफूलाई नै विश्वास गर्ने कुरामा पूर्ण रुपले ढुक्क छन् । जतिसुकै फट्याई गरे पनि मधेशलाई हामीलाई विश्वास गर्नुको कुनै विकल्प छैन । किनभने हामीसंग पैसाको ताकत छ, लामो समय सम्म राज्य संचालनको अनुभव छ । मधेश अभावमा छ, जुनसुकै मधेशका क्रान्तिकारी अगुवाहरुलाई हामीले आफ्नो पक्षमा पार्ने रणनीति छ । राजनीति कूटनीतिको भरमा चल्छ । राजनीति दाँवपेच हामी भन्दा अरु कसलाई थाहा छ । निरीह मधेशी जनतालाई मधेश मुक्ति भन्दा पैसाको खाँचो छ । त्यसकारण हाम्रो जतिसुकै विरोध भएपनि माछा हाम्रै हडियामा खस्ने निश्चित छ भन्ने कुराले ढुक्क छन् राजनीतिक दलहरु ।
यही मदान्धताले संविधान सभाको विगत ४ वर्षमा राजनीतिक दलहरुको छविलाई विगार्यो । परिवर्तनको माध्यमबाट जनतालाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धतासंग शुरु गरेको राजनीतिक यात्रा केही समयभित्रै आफ्नो स्वभाव अनुसार धनलाभको बाटोतिर मोडियो । कुनै पनि वस्तु प्रारम्भ र अन्तको समय सीमाभित्र बाँधिएको हुन्छ । तत्पश्चात् त्यो वस्तुको विनाश भई नयाँ परिस्थितिमा नयाँ वस्तु देखा पर्दछ । प्रकृतिको यो शाश्वत् नियमलाई नमान्ने तानाशाहको घिनलाग्दो अन्त भएको इतिहास साक्षी छ । प्रत्येक दश वर्षमा यहाँ आन्दोलनको आँधी उठ्ने गरेको प्रमाण सबैले देखेकै छन् । आन्दोलनबाट स्थापित संविधान सभालाई समेत तुहाउन खोज्नेलाई जनताले तह लगाउने छ ।
संविधान सभाको विगत ४ वर्षमा राजनीतिक दलहरुले खसीको टाउको झुण्ड्याएर कुकुरको मासू बेच्ने काम गर्यो । अहिले संविधान सभाको अन्तिम निर्णायक घडीमा विवादित संघीयतालाई थाती राखेर संविधान बनाउने अभिव्यक्ति सार्वजनिक भई रहेको छ । यति विशाल आन्दोलन, जसले नेपालमा ऐतिहासिक परिवर्तन गराएको छ, त्यसलाई चुनौती दिंदै सामन्ती राज्यसत्तालाई पूर्ववत् रुपमा स्थापित गराउन संविधान सभामा राजनीतिक गतिरोध ल्याई राज्य पुनर्संरचनालाई विवादित बनाएको छ । राज्य पुनर्संरचनाको विवादित अवस्था देखाएर तथा संविधान सभाको अन्तिम अवस्थामा आफ्नो निरीहता प्रदर्शित गरेर नेपाली जनतालाई फेरि पनि अधिकारविहीन अवस्थामा लैजाने षडयन्त्रको थालनी हुन लागेको छ । संघीयता प्राप्त गर्ने महत्वपूर्ण भूमिकामा उदाएका मधेशका दलहरु संविधान सभामा पुग्ने बितिक्कै मधेशका मन्त्रहरु बिर्सेर राज्य संचालक प्रमुख तीन दलबाट दीक्षित भई अवसरको लाभ लिन रमाए । संविधान सभा स्थापना भएदेखि नै संघीयता विरुद्ध षडयन्त्र गर्न लागि परेका संघीयता नचाह्ने शक्तिहरुले एकातिर संघीयताको जोडदार आवाज उठाउने मधेशका दलहरुलाई प्रलोभनमा लिएर पार्टी विभाजनतिर लगाएर कमजोर पारी सबैलाई प्रशस्त अवसर दिएर लट्ठ पारे भने अर्कोतिर परिवर्तनकारी शक्तिको रुपमा आएको माओवादीलाई महको रसास्वादन गराएर शक्तिहीन बनायो । यी सब कुरा गर्दा देशमा राजनीतिक गतिरोध आवश्यक थियो । अहिले संघीयता दिनै नसकिने बाध्यात्मक परिस्थितिको सृजना गरिएको छ ।
मधेशी मोर्चाले सकिन लागेको संविधान सभाको म्यादको पूर्व सन्ध्यामा पाएको अवसर गुम्ने भयले चैत्र १८ गते देखि बेसूरा राग अलाप्ने रणनीति तय गरेको छ । राज्यद्वारा संघीयता विरुद्धको षडयन्त्रवारे “समग्र मधेशको एकता गराउने” नाराका साथ काठमाण्डौको खुलामञ्चबाट राज्य विरुद्ध मधेशी मोर्चाले पहिलो धाबा बोल्ने तयारी गरेको छ । मलामीमा पञ्चेबाजा, शुभविवाहमा शोकधुन, राजनीतिक दृष्टिकोणले यसलाई बेमेल भन्न मिल्दैन । “सावन आए या न आए, जिया जब झुमे सावन है” राजनीतिमा सबै चल्छ । धुर्त्याईं सधैं चल्दैन । मधेश विगत ४ वर्षदेखि देशका तथा मधेशका राजनीतिक दलहरुले के के गरे भन्ने वारे गम्भीर चिन्तन मनन गरेको छ । मधेश धुर्त्याईं र पाखण्डलाई अब राम्ररी चिन्न थालेको छ । यही आन्दोलन संविधान सभाको शुरुवातदेखि थालेर राज्यलाई संघीयताको लागि बाध्य गरेको भए अहिले यी नेताहरु पूजनीय अवस्थामा रहन्थे । मधेशलाई क्षतविक्षत पारेर अहिले बेसूरा राग सुन्न कुनै मधेशी तयार नहुने कुरा स्पष्ट छ ।
२०६८ चैत्र १७ गते मधेशवाणीमा प्रकाशित
