०४२ सालमा “पंचायती व्यवस्था” विरूद्ध चली रहेको अहिंसात्मक आन्दोलन नेपाली कांग्रेसले नेतृत्व गरेको थियो । नेपाली कांग्रेस र नेकपा “एक नदीको दुई किनारा” मा रहेको अवस्थाले नेपाली कांग्रेस आफैलाई पूर्ण सम्झिरहेको थियो । तर नेकपा (पुष्पलाल समूह) सत्याग्रह आन्दोलनलाई बढाउन नेपाली कांग्रेसलाई सघाउन निर्णय गरेको थियो । नेकपा (माले) भने सशस्त्र धारमा थिए ।
विभिन्न मागहरूमध्ये “आन्दोलन हिंसात्मक बनेको खण्डमा आन्दोलन फिर्ता लिने” बुँदा राजाका लागि अमोध अस्त्र साबित भयो । चरम उत्कर्षमा पुगेको सत्याग्रह आन्दोलनलाई थेग्न सरकार असमर्थ भइरहेको थियो । जेल भर्ने सत्याग्रहीहरूको कार्यक्रमलाई बिथोल्ने, गिरफ्तार आन्दोलनकारीहरूलाई राख्ने ठाउँ नभएर सरकारले “हिंसात्मक घटना” देखाएर नेपाली कांग्रेसलाई “सत्याग्रह” फिर्ता लिन बाध्य ग¥यो । राजदरबारको गेट तथा अन्नपूर्ण होटलमा भएको बम प्रहार” सत्याग्रह आन्दोलनलाई फिर्ता गराउन घटाइएको थियो ।
अन्ततोगत्वा “बमकाण्ड” कै कारण सत्याग्रह आन्दोलन स्थगित भयो । राजाको महिन षड्यन्त्रलाई कसैले बुझ्न सकेन । नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनमा भाँडभैलो मचाउन सक्छ भनेर नेपाली कांग्रेसले सहकार्य गर्न मानेको थिएन । तर बमकाण्डमा नेकपालाई नपारि मधेशलाई नै बलिको बोका बनाईयो । सशस्त्र आन्दोलनमा नेकपा (माले) थियो, जनवादी मोर्चा पनि तर जनवादी मोर्चालाई नै टारगेट बनाएर मधेशमा व्यापक धरपकड गरेर मारियो ।
०४२ सालको बमकाण्डमा मधेशमा व्यापक दमनका कारण बाहिरी रूपमा भएको वातावरण सृजित भयो भने भित्रभित्रै राजतन्त्रप्रतिको वितृष्णा पनि व्यापकता लिँदै गयो । राजतन्त्रको लोकप्रियता घृणा बढ्दै गयो । सबै राजनीतिक दलहरूमा पारस्परिक सहयोगको भावना जन्मिन थाल्यो । राजतन्त्रलाई धक्का दिन बलियो शक्तिको आवश्यकता नेपाली कांग्रेसले महसुश ग¥यो । ०४२ सालको सत्याग्रह आन्दोलनबाट नेपाली कांग्रेस सबै राजनीतिक शक्तिसँग सहिष्णु बनेको थियो ।
२००८ सालमा “तराई कांग्रेस” जस्तो राजनीतिक दलको जन्म भएपनि सांगठनिक रूपमा यो मधेशभरि फैलिन सकेन । २००७ सालको क्रान्तिमा मधेशको प्रमुख भूमिका रहनुको कारण भारतको प्रजातान्त्रिक शक्तिसँगको गहिरो लगाव थियो । त्यसकारण मधेशमा नेपाली काँग्रेसको पकड मजबुत बनेको थियो । २००७ सालदेखि ०४२ सालसम्मको नेपाली कांग्रेसको सम्झौता परस्त ढुलमुले चरित्रका कारण मधेशमा प्रगतिशील शक्ति (नेपाल कम्युनिष्ट पार्टी) को प्रभाव बढ्न थालेको थियो ।
तराई कांग्रेसमा रहेका संस्थापक सदस्य गजेन्द्र नारायण सिंह, रामजनम तिवारी जस्ता नेताहरूले मधेशमा राजनीतिक दलको अपरिहार्यतालाई महशुस गरि “नेपाल सद्भावना परिषद्” को नाममा राजनीतिक संगठन गठन ग¥यो । पश्चात् २०४७ अषाढमा यो विधिवत् नेपाल सद्भावना पार्टीको रूपमा वैधानिकता पायो । मधेशी मुद्दा उठाएर यो पार्टी सांगठनिक रूपमा विकास गर्न थाल्यो । यो पार्टीमा मधेशका प्रभावशाली नेताहरू प्रवेश गर्न थाल्दा चुनावमा पनि यसले सानो स्थान बनाए पनि आफ्नो अस्तित्व भने कायम राख्न सफल भयो ।
०४६ सालपछि प्रजातान्त्रिक सरकार स्थापना पश्चात् नेपाली कांग्रेसको सरकार जनअपेक्षा पूरा गर्न नसकेर र सत्ताका लागि हानथापका कारण गुट, उपगुटमा विभाजित भएकोले जन समर्थन घट्न लागेको थियो । मधेशमा नेपाल सद्भावना पार्टीको अभ्यास सुरू भएपछि कांग्रेसको प्रभाव मधेशमा कम हुन थालेपछि भेदभावको राजनीति प्रभावकारी रूपमा अगाडी बढ्यो । अहिलेसम्म भावनामा रहेको विभेद व्यवहारमा अप्रत्यक्ष रूपमा चल्दै थियो भने प्रजातान्त्रिक सरकारमा भेदभाव प्रत्यक्ष रूपमा देखिन थालियो । आफ्नै धरातलमा मधेशले हक, अधिकारको लागि राजनीतिक अभ्यास नेकपा र नेपाली कांग्रेसको लागि अपच बनेको थियो । मधेशले पनि राजा र कथित प्रजातान्त्रिक सरकारको मधेशप्रति भेदभावको व्यवहारले पीडित भयो । शासक र मधेश बीचको अन्तविरोधबारे गहन अध्ययन र बहस शुरू भयो । सरकार र मधेश बीचको दूरी बढ्दै गयो । शासक र मधेश एक नदिको दुई किनारा जस्तै अलग अलग व्यवहार गर्न थाले ।
नेपाली कांग्रेसभित्र सत्ताको भागवण्डाका लागि तथा सत्तामाथि प्रजातान्त्रिक शक्ति (नेपाली कांग्रेस) को वर्चस्व कायम भएकोले नेपाली कांग्रेसका नेताहरूको व्यक्तिगत लिप्सा, स्वार्थ पूरा गर्न होडबाजीका कारण पारस्परिक मुठभेडको अवस्था सृजना भएकोले पार्टी कमजोर बनेको थियो । पार्टीका सहकर्मीहरूको असहयोगका कारण सरकार संचालनमा अवरोध पैदा भइरहेको थियो । चारैतिर गुट, फूट, झै–झगडामा तल्लीन रहेको नेपाली कांग्रेस फुट्यो । गुड गबर्नेन्सको अभावमा देशमा राजनीतिक अराजकता व्याप्त भयो । जन आकांक्षा पूरा हुन नसकेर नेपाली जनता वैकल्पिक मार्ग खोज्न द्वन्द्वको दिशातिर उन्मुख हुँदै गयो । फलतः २०५२ सालमा माओवादी द्वन्द्वको जन्म भयो । यो द्वन्द्वले वैशाखीमा चलिरहेको नेपाली कांग्रेसको सरकारलाई झन् कमजोर तुल्यायो ।
माओवादीको यो संघर्षलाई मधेशले पनि सहयोग ग¥यो । यो संघर्षमा पनि मधेशका धेरै सपूतहरू बलिदानी दिए । माओवादी संघर्ष आमूल परिवर्तनका लागि ठूलो जनमत तयार गरेको थियो । माओवादी संघर्ष उत्कर्षमा पुगेको थियो । सरकार यसलाई नियन्त्रण गर्न असक्षम रहेको मौका छोपेर ‘दरवार हत्याकाण्ड’ भयो । राजा विरेन्द्रको वंशनाश भई विरेन्द्रका भाई ज्ञानेन्द्रको हातमा शासन सत्ता गयो । ०५८ सालमा राजा विरेन्द्रको हत्या गरी भाई ज्ञानेन्द्र शाहलाई राजा बनाउने चमत्कारी राजनीति परिवर्तन देखा प¥यो ।
त्रासलाग्दो यो राजनीति परिवर्तनपछि राजाको प्रत्यक्ष शासन कायम हुँदा नेपाली जनता “घुमीफिरी रूम्जाटार” जस्तै भयो । पुनश्चः राजनीतिक शुन्यतामा आएपछि नेपाली जनता बलवूतामा संघर्ष गर्न सक्षम भएको थियो । क्रमशः..
२०७६ माघ १७ मधेशवाणीमा प्रकाशित
