अन्ततः समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव केपी ओली सरकारको भाजन बन्नै प¥यो । मधेशको अधिकारप्रति इमान्दार रहन नसक्ने, चाकडीको बाटो रोजेर स्वार्थ पूरा गर्ने उपेन्द्र यादवले गुलामी पनि इमान्दरीपूर्वक गर्न सकेन । शासकहरू समक्ष टाउको निहुँराएर विन्तीको भावमा आफ्नो कुरा राख्ने गुलामी परम्परा विरूद्ध अनपेक्षित संशोधन प्रस्ताव ल्याउँदा मालिक क्रुद्ध हुनु स्वाभाविक हो ।
राजपाका अध्यक्षहरू पनि संशोधन प्रस्तावबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञाापन पत्र दिँदा “यसको औचित्य समाप्त भईसकेको छ । विकास निर्माणको कार्यमा सहयोग गर्नाेस्” भनेर स्पष्ट गरेपछि सरकारको एजेण्डामा मधेशको संशोधन प्रस्ताव रहेन भन्ने कुरा उपेन्द्र यादवको बुद्धिमा पसेन होला ? वा ओलीको गुलामीप्रति उनी विश्वस्त थिए ? उनी ओलीप्रति पूर्ण विश्वस्त थिए । मन्त्रीमण्डल पुनर्गठन गर्दा ठूला ठूला मधेशी नेताहरू बहिर्गमनमा परेको तर उपेन्द्र यादवले मन्त्रालय बदले पनि निरन्तरता पाएकोले “प्रधानमन्त्रीको माया” को स्तुतिगान गाउनु भएको थियो । असलमा सरकार विरूद्ध अनेक अभिव्यक्ति सार्वजनिक हुँदा ओली भित्रैबाट क्रुद्ध थिए नै, पार्टीका सहकर्मी नेताहरूको दबावमा परेर महत्वपूर्ण मन्त्रालयबाट हटाएर कानून मन्त्रालयमा राखेको थियो ।
मन्त्री मण्डलमा निरन्तरता पाएर उनी हौसिएका थिए । यही विश्वासका साथ उनले संशोधन प्रस्तावको “विषको प्याला” प्रधानमन्त्रीलाई टक्रयाएका थिए । “स्टप ईट” को चाबुकबाट क्रोध शान्त नभएपछि “राजीनामा नदिए वर्खास्ती” मा पर्ने सन्देश अनुसार उपेन्द्र यादवले पौष ८ गते राजीनामा दिएर गुलामीको पहिलो अध्याय समाप्त पारेका हुन् ।
उपेन्द्र यादवले लिखित रूपमा समर्थन फिर्ता लिएको छैन । प्रदेशमा सरकार परिवर्तन हुने पक्का छ । २९ सीट लिएर समाजवादी बाहिरिए पनि राजपा २५ सीट लिएर सरकारसँग टाँसिनेछ । समाजवादी पार्टीको गुलामी अवधी सकिएको छ । राजपाले गुलामीको राम्रो अवसर पाएको छ ।
राजपा जसरी सरकारबाट समर्थन फिर्ता लिएर “के गर्ने” को बन्दी भएका थिए । राजपा सरकारमा गएपछि अब अन्योलग्रस्त अवस्था समाजवादी पार्टीको हुनेछ । केपी शर्मा ओलीको “कोपभाजन भएपछि उपेन्द्र यादव निरस्त्र बनेका छन् । ठुला ठुला नेताहरूलाई जेलको हावा खुवाउने क्रममा उपेन्द्र यादवको पनि पालो नआउने होइन । गौर काण्डमा उपेन्द्र यादव जेल जाने चर्चा सार्वजनिक भएपनि यिनी आर्थिक अनिर्यामततामा जान सक्ने सम्भावना प्रवल रहेको जानिफकारहरूको भनाई छ । जति गरिव अवस्थाबाट शुरू गरेको राजनीतिक यात्रामा मधेश आन्दोलनमा स्वामित्व ग्रहण गरे पश्चात् अफूत सम्पत्तिका मालिक बनेका छन् ।
मधेश आन्दोलनमा सत्ताका स्वाद चाखेका अनेकौं भ्रष्ट प्रवृति भएको नेताहरू आएपनि उपेन्द्र यादव स्वच्छ छवि, नयाँ अनुहार, अधिकार आन्दोलनप्रति इमान्दार रहेकोले मधेशले आन्दोलनको नेतृत्व सुम्पेको थियो । दरिद्र मानसिकताका रोगी उपेन्द्र यादव अधिकार आन्दोलनको माला गर्दनमा धेरै दिन झुण्ड्याउन सकेन । मधेश आन्दोलनले राजनीतिक शिरोमणीको उपाधि दिई सकेपछि अब जे भन्दा, जे गर्दा पनि मधेशको लागि “ब्रहमवाक्य”हुने विश्वासका साथ उपेन्द्र यादवले स्वार्थलाभका लागि बेईमानी शुरू गरे । बेईमानीका प्रसंगहरू बेला बेलामा सार्वजनिक भएपनि उपेन्द्र यादवको भगवत् स्वरूपको अगाडी ती आलोचनाहरू अर्थहीन नै बन्यो । मधेशमा जाति बाहुमुल्य (यादब) रहेकोले उपेन्द्र यादव “अवतार” को रूपमा स्थापित भएकोले यिनको संगठानात्मक सशक्तता थियो ।
उपेन्द्रको विकल्पमा तमलोपा, सद्भावना पार्टी सत्ताको दलाली, गुलामी गरि अवसर प्राप्त गर्ने प्रवृति राखेकाले मधेशी जनताका लागि त्यति विश्वसनीय थिएन । त्यसकारण पनि उपेन्द्र यादव निर्विकल्प बनेका थिए । तर एउटा निश्चित समयपछि सबैको अवसन हुने प्रक्रियामा उपेन्द्र यादवको “विषम परिस्थिति” को शुरूवात भएको छ । सरकारबाट अलग हुनु, आन्दोलन गर्न नसक्नु, पावर बिना सिङ्गै पार्टीलाई सन्तुष्ट राख्नु नसक्नु, आदिबाट सृजित अन्योलग्रस्त अवस्थाले त आर्जन गरेको शक्तिलाई क्षीण बनाउँछ ।
संविधान घोषणाको विरूद्ध शान्तिपूर्ण आन्दोलन गर्दै ६ महिनाको नाकाबन्दी आन्दोलनबाट थकित सरकारले उपेन्द्र यादव र राजेन्द्र महत्तोलाई आफ्नो प्रभावमा लिने रणनीति बनाए । दुबैलाई आफ्नो अनुयायी बनाएर नाकाबन्दी आन्दोलनको अन्त गरायो । ५ दर्जन मधेशी सपूतहरूको बलिदान गराएर उपेन्द्र यादव र राजेन्द्र महत्तो केपी ओलीको प्रभावमा बिना शर्त आन्दोलन फिर्ता लियो । यो घटना मधेशप्रतिको ठूलो गद्दारी हो ।
उपेन्द्रे यादवको दोस्रो गद्दारी आन्दोलन छोडेर विना शर्त स्थानीय चुनावमा जानु हो । बिना शर्त चुनावमा जाने तथा उल्लेख्य स्थान प्राप्त गर्ने प्रधानमन्त्री केपी शर्माकै अनुकम्पा हो । गृह जिल्ला छाडेर उपेन्द्र यादव सप्तरी र राजेन्द्र महत्तो धनुषाबाट जित्नु केपी शर्मा ओली कै कृपाबाट सम्भव भएको थियो । यो सारा सुविधा भोग गर्नेहरू मधेशको अधिकारबारे संघर्षको कुरा छाडौं, बकम्फुसे संशोधन प्रस्ताव लैजाँदा चाबुक खाएका छन् ।
गुलामी द्विअर्थी भाषामा पोख्त भएका उपेन्द्र यादवको मन्त्रीमण्डल बैठकमा पेस भएका संशोधन पढ्दा सबैकुरा थाहा हुन्छ । अर्थहीन संशोधन प्रस्ताव लग्दा मधेशी जनताको सहानुभूति प्राप्त गर्ने तथा सरकारलाई पनि बढी दबाव झेल्नु नपर्ने द्विअर्थी प्रस्तावलाई प्रधानमन्त्रीले पढ्दै नपढि फालेकोबाट उपेन्द्र यादवको साख धराशायी भएको छ । मधेश मुद्दाको पहिचान गरेर राजनीति गर्ने उपेन्द्र यादवले प्रस्तावमा सरकारलाई संशोधनका मुद्दाहरू पहिचान गर्न विज्ञ टोली गठन गर्न आग्रह गरेको छ । मधेशप्रति गद्दारीको यो तेस्रो नमुना हो ।
समाजवादी पार्टीले गुलामीको पहिलो अध्याय समाप्त गरेको छ । अब गुलामी गर्ने अवसर राजपाको हो । जसरी भएपनि गुलामी गरेर धनलाभ गर्ने मधेशका पार्टीहरूले अन्ततः मधेशलाई शासकको गुलामी गर्ने सन्देश नै दिएको छ । गुलामीको चादर च्यातेर अधिकारको लागि उठेको मधेश आन्दोलनले अधिकारको चेतना गरेको छ, त्यो त्यसै खेर जाँदैन । गद्दारहरूको हिसाब गरेर त्यो अगाडि बढ्छ ।
२०७६ पुस ११ मधेशवाणीमा प्रकाशित
