राज्य मधेशमा षडयन्त्रको जाल बिछाउँदै

सैद्घान्तिक अवधारणा जतिसुकै आकर्षक भएपनि, राजनीति लक्ष्य जति क्रान्तिकारी भएपनि कार्यविधि र कार्यान्वयन पक्षसंग तालमेल छैन भने पार्टी लक्ष्यविहिन भएर यथास्थितिमा हुँदै विसर्जनको अवस्थामा पुग्छ । मुठ्ठीमा बालुवा समाते जस्तै मुठ्ठी त रहन्छ तर बालुवा निस्केर गएको थाहै हुँदैन । एउटा राजनीतिक पार्टी भनेको समग्र जनताको भावनालाई समेटेर एउटा खास उद्देश्य प्राप्तिका लागि अग्रगमनको दिशामा बढन प्रतिनिधीको भूमिका निर्वाह गरेको हुन्छ । सयकडौं यात्रीलाई बोकेर हावामा उडने बोइङ बिमान जसरी हजारौं खतराका चुनौतीहरुलाई झेल्दै गन्तव्यमा सफलतापूर्वक अवतरण गर्छ र किञ्चित पनि सफलताको अहंकार प्रदर्शन गर्दैन । राजनीतिक पार्टीको जीवन पनि त्यस्तै हुनु पर्दछ । यात्रुहरुलाई गन्तव्य सम्म पुरयाउने एकमात्र उद्देश्य बोकेको विमान चालक जतिसुकै चुनौती आएपनि निरुद्देश्य हुँदैन, अनिमात्र ऊ गन्तव्यमा पुग्छ ।
मधेश आन्दोलनका चुनौतीहरुः– राज्यले अप्रत्यासित रुपमा परिभाषित गरे पनि शदियौंदेखि विभेदको पीडा झेल्दै आएको मधेशी समाज शोषणका सबै अवयवहरुलाई चुडाल्न परिपक्व भई सकेको थियो । २०६३ माघको ऐतिहासिक ‘मधेश विद्रोह’ यसैको परिणाम हो । गुलाम र कातरको रुपमा मधेशलाई हेर्दै आएको राज्यको मानसिकता विरुद्घ आएको मधेश विद्रोहलाई एक्कासी आएको हुरीको संज्ञा दियो, तर मधेश आन्दोलनको भयावह स्वरुपलाई हेरेर राज्य गम्भीर र संवेदनशील पनि भयो । मधेशले उठाएको आवाजलाई सम्बोधन गर्न होइन, मधेशको सिंगो एकतालाई खण्डित गरि कसरी मधेश आन्दोलनको स्वरुपलाई छोटयाउन सकिन्छ भन्ने सम्बन्धको राज्यले ‘मधेश च्याप्टर’ को फायल खडा गरयो ।
मधेश राष्ट्रिय आयको प्रमुख स्रोत रहेकोले यसलाई कसरी नियन्त्रणमा लिने भन्ने सम्बन्धमा राज्यका विज्ञहरु राष्ट्रिय योजना तर्जुमा गर्ने, अनुसन्धान गर्ने, रणनिती बनाउनेदेखि लिएर कार्यान्वयन गराउनसम्म सक्रियतापूर्वक लागे । द्वन्द्व विस्थापनको नाममा राज्यले अपार अन्तर्राष्ट्रिय सहयोग पनि पाउन सफल भएको छ । राज्यले अख्तियार गरेको पहिलो रणनीति अन्तर्गत १.बाह्य रुपमा मधेशका प्रतिनिधी पार्टीलाई मित्रवत व्यवहार गर्ने, २. आन्तरिक रुपमा मधेशमा कडाईका साथ प्रस्तुत हुने । यसै द्वैध रणनीति लिएर राज्य मधेशमा उपचाररत छ । अपार धनराशि व्यय गरेर भएपनि मधेशलाई पुनश्च नियन्त्रणमा लिई छाडने राज्यको भागिरथ प्रयत्न सफल पनि भई रहेको अवस्था छ ।
मधेशलाई नियन्त्रणमा लिन अपनाइएका यी दुई रणनीति अन्तर्गत अनेक षडयन्त्रका अवयवहरु क्रियाशील छन । मधेशका लागि यी नै मुख्य चुनौती हुन । मधेश आन्दोलनको सफलताको विजयोन्मादमा मधेशका प्रतिनिधी पार्टीले तीक्ष्णतापूर्वक फैलाइएका षडयन्त्रका यी जालहरुलाई नजर अन्दाज गरेर अगाडी बढे । पहिलो रणनीति अन्तर्गत राज्यले जति अनुपातमा प्रतिनिधी पार्टीलाई लोभ्याउन सफल भयो, त्यतिनै अनुपातमा ऊ मधेशमा उपद्रव गर्न पनि सफल भयो ।
मधेश आन्दोलनको सफलताबाट आनुपातिक रुपमा उन्मादित मधेशका राजनीतिक दलहरुमा (राज्यले चाहे जस्तो) जातिवादी र व्यक्तिवादी चरित्र द्रूतगतिले विकास भयो । यी प्रवृतिले पारस्परिक द्वन्द्व सृजना गरेर पार्टीलाई शक्तिहीन बनाउन विभाजन सम्म पुरयायो । राज्यले अपेक्षा गरे अनुसार विभाजन हुँदै मधेशका दलहरु जाति अतिवादको कित्तामा उभिए । विगत तीन वर्षमा यही दुई अतिवादी चरित्रको प्रदर्शन, सत्ताका लागि हानथाप र पार्टी विभाजन यी नै रणनीति रह्यो मधेशी पार्टीको । यसको विपरित संघीयताको विरुद्घ शक्तिसंचय गर्न राज्य सफल पनि भएको छ । तीन दलहरुको स्वामित्वमा रहेको राष्ट्रिय राजनीतिमा पनि अहम भूमिकाबाट पर हटाइएका मधेशका दलहरु आफनै अन्तरव्यथा र सत्ता राजनीतिमा व्यस्त रहेका कारण मधेशको उपलब्धिलाई संस्थागत गर्ने दिशामा कुनै भूमिका नै रहेन । आई परेका चुनातीमाथि आँखा पनि परेन । चुनौतीलाई पहिचान गरेर लिने प्रतिकारात्मक रणनीतिको कुरै छाडौं ।
मधेशका राजनीतिक दलहरुमा (क) जाति तथा व्यक्तिवादी चरित्रका कारण कमजोर नेतृत्व, (ख) लक्ष्यप्रति अडान को अभाव, (ग) सत्तालिप्सा मुख्य लक्ष्य मान्ने (घ) समग्र मधेशको एकतालाई व्यक्तिवादी मापदण्डमा तौल्ने, (ङ) लक्ष्य र कार्यविधिको तालमेल नहुने (च) सामुदायिक सहिष्णुताको अभाव, (छ) लोकतान्त्रिक चरित्रको अभाव, (ज) घोर दक्षिणपंथी चरित्रको प्रदर्शन (झ) सहअस्तित्वलाई स्वीकार गर्ने क्षमताको अभाव, (ञ) अदुर्दर्शी तथा अलोकतान्त्रिक निर्णय, (ट) व्यक्तिवादी उच्च महत्वाकाँक्षा देखिएका पात्रहरु । मधेश आन्दोलनको पवित्र लक्ष्य विपरितका यी प्रवृतिहरु निश्चय पनि मधेशलाई गन्तव्य सम्म पुर्‍याउँदैन । मधेश विरोधी प्रवृतिहरुबाट प्राप्त परिणाम पार्टीहरु भोग्दै छन र अरु भोग्ने नै छन ।
मधेशले आन्दोलन पश्चातका दिनहरुमा उदाएका यी प्रवृतिहरुबाट आएका परिणाम भोग्यो । यसबाट शिक्षा लिदै दिशाविहिन मधेश आन्दोलनलाई दिशा दिन र पाएको उपलब्धिलाई संस्थागत गर्न फेरि मधेशको अखण्ड एकताको धारलाई तिख्खर पारेर यी प्रवृतिहरुलाई समाप्त पार्ने अभियानमा जुटन अनिवार्य भएको छ । हामीले जे पायौं आफनै बलबूताले, अब जे पाउँछौं आफनै बलबूताले । जय मधेशको अभियानमा जुटौं ।
२०६८ जेष्ठ २० गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!