भारत पाकिस्तानको चर्को तनावले दुबै देशलाई भिडन्तको स्थितिमा ल्याई दिएको छ । नेपाल भारतको खुला सिमानाको कारणले यसको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना छ । दुबै देशसंग रहेको परमाणु हथियार प्रयोगको लागि प्रतिक्षारत छ । भारतसंग प्रगाढ सम्बन्ध बनाउन सफल अमेरिकी राष्ट्रपति बाराक ओवामा फेरिएको छ । चुनावले अमेरिकालाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्फ दिएको छ । चीन र आई. एस.संग चर्को दूरी राख्ने भनिएको ट्रम्फको दक्षिण एशियामा कस्तो सम्बन्ध रहला, प्रतिक्षाको विषय बनेको छ । बिना युद्ध पाकिस्तानलाई परास्त गर्ने भारतको रणनीति कति हदसम्म युद्धलाई पर धकेल्न सक्दछ, यो पनि प्रतिक्षाको विषय बनेको छ ।
पाकिस्तानलाई संसारभरिका आतंकी उत्पादन स्थलको आरोपमा सबैले त्यागी सकेका छन् । चीनले पनि काश्मिरको मामिलामा भारतसंग एक्लै सल्टाउने भनेर साथ छोडि सकेको छ । पाकिस्तानको विरुद्ध भारतसंग अन्तरंग सम्बन्ध जोड्ने अमेरिकाले पनि पाकिस्तानको परमाणु हथियारलाई प्रभावहीन पार्ने आश्वासन दिई भारतका साथ अगाडि बढि रहेको छ । भारतको लक्ष्यमा रहेको पाकिस्तान अहिले परमाणु शक्तिबाट लैस भएपनि संसारमा एक्लिएको छ । युद्ध घोषणा नभएपनि सैन्यबलको प्रयोग दुबै देशले गरेका छन् । विशाल भारत र तुलनात्मक रुपमा अति सानो देश पाकिस्तान सीधा टक्करमा उभिएको छ । कुनै बेला अमेरिकाको छत्रछायामा सबल बनेको पाकिस्तान अहिले भारतसंगै अमेरिकाको पनि दुश्मन बनेको छ । मित्रताको खेमा परिवर्तन गरि पाकिस्तान चीनसंगको मित्रता गाँस्यो । तर अहिले परि आएको बेला चीनले पनि साथ नदिने कुरा गरेको छ । सद्दाम हुसेन जस्तै एक्लिएर युद्धको सामना गर्ने स्थितिमा पुगेको छ पाकिस्तान ।
समृद्धिको अहंकारमा नेपाललाई कुल्चिदै, पाकिस्तान हुँदै भारतमा आफनो वस्तु व्यापार गर्न पुगेको चीन आवेगमा यस क्षेत्रको शक्ति सन्तुलनलाई खल्बलाई दिएको छ । नेपाल भारतको “बफर स्टेट” को रुपमा रहेको कुरा चीनलाई पाच्य नभएकोले नै चीनले नेपाल र पाकिस्तानलाई भारतको विरुद्ध उतारेको मित्रताको आवरणमा रहेको कूटनीतिक चाललाई भारतले बुझ्नै सकेन । संसारमा आफनो समृद्धिको प्रभूता स्वीकार्न सबैलाई बाध्य पारि रहेको अवस्थामा आफनै वरिपरिको देशलाई के बाँकी राख्थ्यो र । सार्कमा आफनो प्रवेशमा भारत नै अडचन भएको कुराले भित्रैबाट क्रूद्ध बनेको चीन त्यसपछि भारतलाई मित्रतावत् पछार्ने नियतले जहाँ भारतसंग ट्रेड सम्झौता गरि मित्रतालाई प्रगाढ बनाउन खोजी रहेको छ भने नेपाल पाकिस्तानलाई उचालेर भारतसंग भिड्न उक्साई रहेको छ । चीनको दोहरो चरित्र प्रदर्शन सबैलाई शंकाको घेरामा ल्याई दिएको छ । भारत पाकिस्तानको राजनीतिक तनाव बढि रहेको बेला पाकिस्तानको साथ छोडेर चीनले भारतसंगको मेरो मित्रता बरकरार छ भन्न देखाउन चाल चलेको कुरालाई भारतको देशभक्ति शक्तिले राम्ररी बुझेका छन् । चीनको दोहोरो भूमिकालाई मात दिन भारतले चीनको उत्पादनलाई बहिष्कार गरेको छ ।
एक दशकदेखि नेपालको राजनीतिमा चीनको हस्तक्षेपकारी चासोले नेपालको आन्तरिक र वाह्य राजनीति खल्बलाएर नेपाललाई भारतको नजरमा अविश्वसनीय बनाई दिएको छ । नेपाल र पाकिस्तानलाई मोहरा बनाएर भारतको विरुद्ध प्रयोग गर्ने चीनको मनसाय दक्षिण एशियामा असन्तुलन फैलाएर आफनो उपस्थितिलाई मजबूत बनाउने हो । लामो समयदेखि विश्व राजनीतिमा चासो नराखेको चीन अब आफनो वस्तु बेच्न संसारभरि कुद्नु स्वाभाविक हो । तर अनावश्यक हस्तक्षेपबाट तनाव उत्पन्न गर्ने चीनको कदमलाई सराहनीय मान्न सकिन्न ।
भारतसंगको सम्बन्ध बिगारेर नेपाललाई आफनो प्रभावमा राख्ने चीनले देखेको दिवास्वप्न नै हो । हिमालपारि चीनको सहयोग प्रभावबाहेक अरु कुनै प्रभावले नेपालको अस्तित्व नै समाप्त पार्नेमा नेपाल सजग छ । चीनको एकतर्फी हस्तक्षेपकारी भूमिकाका कारण नेपालको आधी जनसंख्या मधेश क्रूद्ध बनेको छ । मधेशको अधिकार आन्दोलनलाई तुहाउन चीनको बलियो भूमिका रहेको थियो । शासकवर्गलाई खुशी पारेर दुनो सोझ्याउने चीनको कपटता अब सबैले बुझ्न थालेका छन् ।
पाकिस्तानबाट आतंकी नेपाल आएर खुला सिमाना उपयोग गरि भारतभित्र पस्छन् र आतंकी हमला गर्छन । पाकिस्तानीहरु नेपाली भूभाग प्रयोग गर्नुको साथै समुद्रीमार्ग पनि प्रयोग गर्छन । सीमा ईलाका पनि घूसपैठको निशानामा परेका छन् । पाकिस्तान, नेपाल र चीन एकै खेमामा बस्नुको अर्थ भारत विरुद्धको रणनीति हो कि भन्ने आशंका प्रवल बनेको छ । दुई वर्षदेखि भारत चीनको गतिविधीलाई सी एण्ड वाचको रुपमा हेर्दै आउँदा चीनको रणनीतिक प्रभाव भारतलाई घेर्दै आएपछि भारत सजग भयो । सजग हुने वेलामा नेपाल र भारत दुवै भारतको विरोधमा रहेको प्रष्ट भयो । छिमेकी देशहरुलाई विरोधमा उतार्नु चीनको रणनीतिक साजिश थियो भन्ने कुरा स्पष्ट भई सकेपछि भारतले चीनप्रति अलि कडा रवैया अपनाउन थाल्यो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण र भारतका राष्ट्रपतिको नेपाल भ्रमण एकै पल्ट भएकोले प्रचण्ड सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई गरेको सम्मानबाट चीनको ईर्ष्या धेरै मात्रामा बढ्यो । चीनले नेपालमा आफनो प्रभाव घट्न थालेको अनुभव गर्यो । देउवाले तिब्बती प्रभावशाली नेतासंग एउटा कार्यक्रममा भेट्यो भनेर चीनले एक चीन नीतिबाट नेपाल पछाडि हट्यो भनेर आरोपित गरि स्पष्टीकरण सोध्यो । असलमा नेपालप्रति चीन क्रूद्ध हुनुको कारण नेपालमा भारतीय राष्ट्रपतिको भव्य स्वागत भएकोले हो । नेपालमा आर्थिक सहयोगको माध्यमले आफनो प्रभाव जमाउन अथक प्रयास गरि रहेको चीनको प्रभाव घट्दै जानुबाट चीन तिल्मिलाएको हो ।
गरिब राष्ट्र नेपाललाई आर्थिक सहयोगको माध्यमबाट दुई चार वर्षमा आफनो प्रभावमा लिने चीनको प्रयास बिल्कुल असफल हुने कुरा चीनलाई अनुभव हुन थालेको छ । एक दुई वर्षमा आफनो प्रभावमा लिएर नेपाललाई भारतको विरुद्धमा प्रयोग गर्ने चीनको सपना कहिल्यै पूरा नहुने कुरा स्पष्ट छ । चीनले नेपाललाई सहयोग गरेर साजिशपूर्ण रणनीतिको मोहरा बनाउनु राम्रो कुरा होईन । नेपालमा भारतको प्रभाव धर्मका, रीतिरिवाजका, संस्कृतिका, वेशभूषाका कारण शताब्दियौंदेखि परेको हो । भारतको प्रभावबाट नेपाललाई निकाल्न चीनको कुनै साजिश काम नलाग्ने प्रष्ट छ । चीनको प्रभावबाट संचालित दुबै देश (नेपाल र पाकिस्तान) लाई घाटा हुने कुरा प्रष्ट रहेकोले अविलम्ब यसलाई सच्याउनु राम्रो हो ।
पाकिस्तानी सत्तामा सेनाको प्रभाव बढि रहेकोले परिणाम नभोगि पछाडि नहट्ने उसको स्वाभाव हो । चीनका कारण शक्ति सन्तुलन खल्बलिएको अवस्थामा बलूचिस्तान जसरी स्वतन्त्र हुन खोजि रहेको छ, मधेशमा पनि त्यो प्रभाव बढि रहेको छ । यो प्रभाव तिब्बतलाई नछुला भन्न सकिन्न । एउटा मानसिकताबाट बनाईएको विरोधको रणनीति कता कता कुन कुन ठाउँमा चोट गर्छ परेपछि मात्र थाहा हुन्छ । औचित्यहीन बनेको एउटा वस्तुलाई समयले कसरी महत्वपूर्ण बनाउँछ, दक्षिण एशियामा फैलाईएको राजनीतिक तनावको परिणाममा स्पष्ट हुनेछ ।
नेपालको राजनीति परावलम्बी रहेकोले चीनले केपी ओली पालामा बनाएको राजनीतिक महल प्रचण्डको पालामा ध्वस्त हुन लागेको देखेर अत्तालिएको हो । जी.२० को कार्यक्रममा भाग लिन जाँदा अमेरिकी राष्ट्रपतिलाई चीनले गरेको अपमानजनक व्यवहार जस्तै आफनो प्रभावमा रहेको नेपालले पनि भारतीय राष्ट्रपतिलाई गरुन भन्ने चीनको मानसिकता हुन सक्छ । तर नेपालको संस्कृतिमा पाहुनालाई चीनले गरे जस्तो छैन । अतिथि देवो भवःको भावनाबाट ओतप्रोत नेपालीले गरेको पाहुनाको सम्मान उदाहरणीय हुन्छ । चीनले नेपालसंग राखेको अपेक्षा पूरा नहुँदा सशंकित बन्यो र नेपालले एक चीन नीतिबारे अप्रासाँगिक रुपमा बयान लिन खोज्यो । सरकारले एक चीन नीतिको सम्झौतालाई नेपाल बिर्सेको छैन भनेर चीनलाई आश्वस्त पार्न खोज्यो, तर भारतप्रतिको सम्मानजनक व्यवहारले चीन सशंकित रहेको कुरा स्पष्ट छ ।
नेपालका राजनीतिक पार्टीहरु राजतन्त्रदेखि लोकतन्त्रसम्म आएर पनि आत्मनिर्भर बन्ने प्रयास गरेन । शक्ति केन्द्रको ईशारामा चल्ने संस्कारको विकास भएकोले सोही अनुरुपको चरित्र बनेको छ । आत्मनिर्णय गर्ने ईच्छाशक्ति जाग्न नसक्दा आन्तरिक समस्या पनि शक्तिकेन्द्रले सल्टाउने विषय बनेको छ । फलतः नेपाल द्वन्द्वबाट कहिल्यै मुक्त हुन सकेन । आन्तरिक रुपमा देखिएका समस्या सम्बोधनको अभावमा विभिन्न स्वरुप धारण गरि पुरातन राज्यसत्ता विरुद्ध संघर्ष हुँदै आएको छ । संघर्षका कारणहरुको निराकरण नगरि टालटुले तरिकाको समाधानले नयाँ संघर्षको बीजारोपण हुनु कुनै आश्चर्य मान्ने कुरा पनि होईन । शक्तिकेन्द्रको दलाली गरि राज्यसत्तालाई टिकाई राख्ने, जन आवाजलाई दबाउन शक्तिकेन्द्रको प्रयोग गर्ने आदि चलनले नेपालको राजनीतिले मौलिकता गुमाएको छ । सबैले शक्तिकेन्द्रहरुको स्वार्थवश गुलामी नै गरेर आफनो वर्चस्वलाई कायम राखेको छ । संघर्ष भने नयाँ नयाँ स्वरुप धारण गरि सतहमा आउने गरेको तथ्यसंग राज्यसत्ता संचालकलाई कुनै वास्ता छैन । वर्गीय राज्यसत्ता कसरी रहि रहने हो त्यसमा मात्र ध्यान केन्द्रीत रहेको छ ।
मधेशलाई समेट्न नसकेको नेपाली राजनीतिको दिशाहीन गतिशीलता भोली कुन दिशातिर मोडिने हो, त्यसको आकलन कल्पनाभन्दा बाहिर छ । दक्षिणबाट उठ्ने अलगाववादी तूफान नेपालको भूभागलाई पनि छुन सक्छ । मधेशसंग चर्काईएको अन्तर्विरोधले मधेशको राजनीति कुन दिशातिर अग्रसर हुन्छ, यसको पनि ठोकुवा राजनीतिक ज्योतिषीहरुले गर्न सक्दैन ।
२०७३ मंसीर ३ गते (२०१६ नवम्बर १८) मधेशवाणी साप्ताहिकमा प्रकाशित
