मधेशमा श्रृँखलाबद्ध विभाजनका अवयवहरु

मधेशलाई विजित क्षेत्रको रुपमा हेरिएको दृष्टिकोणले राज्यसत्ता कहिल्यै पनि मधेशलाई बुझ्ने कोशिश गरेन । समथर क्षेत्रका कारण अन्न भण्डारको रुपमा रहेको मधेशलाई शासकवर्ग दोहन त ग¥यो तर मधेशको जनजीवनलाई पढ्न सकेन । पूर्वदेखि पश्चिम मधेशको विशाल भू–खण्ड प्राप्त गरेपछि राज्यलाई जति खुशी भयो, मधेशको फरक भाषा, संस्कृति, वेशभूषाका ठूलो जनसंख्यालाई राख्नु पर्ने बाध्यताबाट त्यति नै दुःखी पनि भयो ।
राज्यले मधेशसंग सम्बन्ध राख्ने आवश्यकता नै नबुझी मधेशको दोहन र शोषणमा मात्र सिमित रहेकोले मधेश राज्यविहीनको अवस्थामा धकेलिन पुग्यो । मधेशमा रहेका जमीन्दारहरु शोषण प्रक्रियामा राज्यसंगको समान स्वार्थ रहेको कारण उनीबीच कतिपयको सम्बन्ध विकसित भएर राज्यसत्ताको उच्च ओहदामा मधेशका जमीन्दारहरु पुगेको देखिन्छ । आम मधेशी जनता शदियौंदेखि राज्यविहीनताको अवस्थामा शोषक सामन्तको शोषणको शिकार नै रहे ।

विजित क्षेत्रको मधेशीलाई आफ्नो अनुरुप रुपान्तरण गर्न एक भाषा एक भेषको नीति ल्याईयो । स्कूल कलेजमा, सरकारी निकायहरुमा कामकाजको भाषा नेपाली राख्न लगाईयो । मधेशलाई रुपान्तरणको प्रक्रियामा लैजान मधेशमा पठाईएका वीर्तावालहरुको ठूलो भूमिका छ । राज्यसंग सरोकार राख्ने मधेशका सभ्रान्तहरुमा परिवर्तनको प्रभाव त देखियो तर आम जनतामा प।िरवर्तनको कुनै प्रभाव देखिएन । सरकारी निकायमा पहाडी कर्मचारीको उपस्थिति तथा गाउँ गाउँमा वीर्तावालहरु पनि पहाडी मूलका भएकाले सबै मिलेर मधेशीलाई दोहन शोषण गर्न थाले । आर्थिक, सामाजिक, मानसिक शोषण तीव्र गतिले अगाडि बढ्यो ।

सरकारी कामकाजका लागि आम मधेशी जाँदा पैसा तान्न अनावश्यक हैरान पार्ने, वीर्तावालहरु जाँदा तुरुन्त हुने देखाएर मधेशीलाई वीर्तावालको चाकडीमा लगाई दिने अदृष्य रणनीतिले लामो समयसम्म काम ग¥यो । मधेश मूलका ठूलाबडाले.सिफारिश गर्दा पनि सरकारी कर्मचारीहरुले काम नगर्ने तर पहाडी मूलका विर्तावालहरुले चिठ्ठी लेखि दिंदा पनि तुरुन्त काम हुने, यस प्रक्रियाले मधेशीहरुको मानसिक शोषण गर्ने रणनीति वास्तवमा धेरै कारगर सिद्ध भयो । लामो समयसम्म यस प्रक्रियाको अभ्यासले मधेशको आम जनतामा पहाडी कर्मचारी तथा ठूलो व्यक्तिको चाकडी गर्ने वानी नै बस्यो । यो वानी कालान्तरमा संस्कारको रुपमा विकसित भयो जो आजसम्म कायम छ ।

शदियौंदेखि सहिष्णुताको आधारमा विविधतालाई समेटेर एकताबद्ध भई जीवन यापन गरि रहेको मधेशी समाजलाई टारगेट गरि यसको एकतालाई छिन्नभिन्न पार्न जातजातमा विखण्डन, धर्मको नाममा विखण्डन, दलित तथा उच्च जातिको नाममा विखण्डन, भाषाको नाममा विखण्डन, बहुसंख्यक तथा अल्पसंख्यकको बीचमा विखण्डन शुरु ग¥यो । मधेश आन्दोलनमा एकताबद्ध रुपमा देखा परेको मधेशी समाजलाई अहिले राज्य तथा राज्यका मतियार मधेशी गुलामहरुले एक अर्काको रक्त पिपासु बनाई दिएका छन् । सामान्य कुरामा भिडन्तको स्थिति देखा पर्नु स्वाभाविकै हो । आजभोली मधेशमा हिन्दु मुस्लिमको झडप, दलित र उच्च जातिबीचका घटनाहरु देखिन थालिएको छ । एक अर्काप्रति आक्रामक रहेको मधेशका जातजातीहरुले चिन्ता बढाई दिएको छ ।
चाकडी जस्तो कुसंस्कारमा मधेशीले दुई शतकभन्दा बढि गुलामी जीवनमा बाँच्नु प¥यो । तर पिढी दर पिढी मधेश समाजको गर्भमा दोहन शोषणको विरुद्ध परिवर्तनका बीजाँकुर पनि प्रस्फुटित भई रहेको थियो । २०६३ सालको मधेश विद्रोह त्यसैको प्रतिफल थियो । शासकवर्गको अस्तित्वलाई चुनौती दिने स्वरुपमा आएको मधेश आन्दोलन शासकवर्गको निशानामा प¥यो । मधेशी समाजको गर्भमा रहेको उथल पुथल अप्रत्याशित ढंगले सतहमा आउँदा राज्यसत्ता समग्र मधेशको एकता देखेर आश्चर्यचकित तथा भयभीत थियो । आन्दोलनका बाहक पनि आश्चर्यचकित तथा हर्षातिरेकको निशामा परे ।

मधेश आन्दोलन भविष्यमा आफ्नो अस्तित्वमाथि खतरा हुन सक्ने विषयमाथि सरकार पक्ष, निजीक्षेत्र, यिनका अधिकार क्षेत्रभित्र रहेका एनजीओ, आईएनजीओहरु सबै छलफललाई सघनस्तरमा अगाडि बढायो । मधेशलाई नियन्त्रण र निस्तेज गर्न एकसे एक रणनीतिहरु तर्जुमा भयो । मधेशलाई भित्रबाटै कसरी तोड्न सकिन्छ भन्ने विषयको रणनीति लागु गर्न सबैलाई कार्य विभाजन गरि खटाईयो ।

मधेश आन्दोलन लगत्तै राज्यले यो रणनीति बमोजिम कार्य थाली सकेको थियो भने मधेशका अगुवा राजनीतिक शक्तिहरु सजधज गरेर राज्यसत्ताको मूलद्वारबाट शाही जोशमा राज्यसत्तामा प्रवेश गरि रहेको थियो । विजयोन्मादमा दिग्भ्रमित भई पद लिन आतुर मधेशका नेताहरु पाश्र्वमा राज्यले मधेशप्रति कस्तो रणनीति अख्तियार गरेको छ बुझ्नै सकेन । पहिलो संविधान सभामा मधेशको उल्लेख्य जनप्रतिनिधीका कारण राज्य मनोवाँछित संविधान बनाउन नपाउँदा दोश्रो संविधान सभामा मधेशको प्रतिनिधित्व कसरी न्यून बनायो, सबैमा स्पष्ट छ ।

राज्यले जनप्रतिनिधीलाई प्रलोभनमा पारेर गुलाम बनाउन थाले भने उनको प्रभाव मधेशमा पनि न्यून होस् भन्ने अनेक षडयन्त्रका जालहरु फैलाउन थाल्यो । बहुसंख्यक जातजातीको बीचमा बिष बमन गरेर एक अर्काको शत्रु बनायो भने अल्पसंख्यकलाई बहुसंख्यकको विरुद्धमा उचाल्यो । एनजीओहरु दलित उत्थानको नाममा उच्चवर्गसंग दलितको शत्रुतालाई प्रमाणसहित स्थापित ग¥यो । ०६५ देखि ०७० सम्म आई पुग्दा समग्र मधेशको पार्टी जात जातको पार्टीमा रुपान्तरण हुन थाल्यो । मधेशका राजनीतिक शक्तिको नाममा संसदमा अति न्यून उपस्थिति हुन थाल्यो । धर्म, जात, पश्चिमेली पूर्वेली, दलित तथा उच्च जात आदिबीच राज्यले एउटै संसदीय कार्यकालमा मधेशको राजनीतिक शक्तिलाई निस्तेज बनाएर मुद्दाविहीन बनाई दियो ।

नेतृत्व मण्डलको अल्पज्ञान, असक्षमता, लुट्ने प्रवृति र जातिमोहले ५ वर्ष कै कार्यकालमा धुल धुरसित बनाई दियो । मधेशी जनतामा मधेशी नेताहरुलाई असक्षम साबित गरि अहिले मधेशको नेताहरुलाई मुद्दाविहीन बनाएर गुलाम बनाएको छ । मधेशी जनताबाट त्याज्य भएर यिनी अब शासकवर्गकै कृपामा बाँचेका छन् । मधेशको मुद्दा र आन्दोलनको विषय यिनको कल्पनाभन्दाबाहिर गई सकेको छ । मधेशलाई पुनश्च शासकवर्गले चाकडीको पासोमा बाँधी सकेको छ । मधेश आन्दोलनलाई जहाँ यिनले छोडे त्यहीं थन्केको छ । राज्य र मधेशबीचको चर्को अन्तर्विरोधले पुनश्च मधेश आन्दोलनको औचित्य सावित गर्नेछ । किनकि अधिकार आन्दोलन कहिल्यै मर्दैन ।
२०८० श्रावण १९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!