भ्रष्टाचार छानबिन तथा दलको निरीहता

विचारको भिन्नतालाई थाती राखेर मिलेर खाने रणनीति बनाएका नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीले राजनीतिमा आदर्श, ईमानदारिता, अनुशासन, सच्चरित्र तथा देशप्रेम आदि रहेका नैसर्गिक गुणहरुलाई तिलाञ्जली दिई छल, कपट, जाल, फरेब, धोखालाई राजनीतिक गुणको रुपमा स्थापित गरेका छन् । सफाईमा यिनी सत्ययुगको महाभारत युद्धलाई प्रमाणको रुपमा उदाहरण दिएर राजनीतिमा छल, कपट सबै चल्ने कुरा निर्धक्कसाथ भन्न हिच्किचाउँदैन । तर देशप्रतिको जिम्मेवारी बिर्सेको कुराप्रति किञ्चित पनि लाज मान्दैनन् ।

लोकतान्त्रिक शक्ति भनाउँदा ठूलो पार्टीका ठूला नेताले २१ जनालाई जिउँदै जलाउने सोही पार्टीका जेल काट्ने एकजना ठूला नेतालाई जेल मुक्त गराउने. सार्वजनिक रुपमा अभिव्यक्ति दिएर चरित्रमा कलंक लाग्ने किञ्चित पनि चिन्ता गरेको छैन । यही ठूला नेताकाी श्रीमति नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारको प्रमाणित आरोप लाग्दा पनि किञ्चित लाज नमान्ने उदाहरणबाट नेपालको तीनै पार्टीको नैतिकहीनता प्रष्ट भएपनि त्यसप्रति आत्मालोचना गरि सत्य सत्य स्वीकार्ने हिम्मत पनि छैन । तीनै पार्टीका नेताहरु अहिले कतिपय जेलको हावा खाँदै छन् भने कतिपय अनुसन्धानको घेराभित्र परेका छन् ।

सबैले सबैलाई बचाउने रणनीति अहिले निष्क्रिय हुँदै गएको रहस्य के हो, सत्तामा भएकाहरुलाई पनि थाहा छैन । अत्याचारको रथपनि चरम अवस्थामा पुगेपछि न्यायपथमा आफै मोडिन्छ भन्ने कुरा सत्यापित भई रहेको छ । अहिले कसैले कसैलाई बचाउने शक्ति गुमाएको अवस्था छ । ठूला माछाहरु समातिंदै जेल जाने प्रक्रिया रोकिएको छैन । तीन दशकदेखि देशलाई बन्धक बनाएर लुट्ने राजनीतिक गिरोहका नाइकेहरु गिरफ्तार भई रहँदा जनताले थोरै भएपनि राहत महसूस गरेका छन् । लुटेराहरुका कारण जनताको थाप्लोमा ७५ हजार वैदेशिक ऋण आएपनि, जनताको क्रयशक्ति हराएपनि भ्रष्टाचार विरुद्धको निष्पक्ष जाँचमा यी ठूलाहरु पर्दै गएकोले जनता आनन्द महसूस गरेका छन् । यो कारवाहीले राजनीति शुद्धिकरण हुनेमा अब किञ्चित शंका रहेन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओली, माधव कुमार नेपाल, बाबुराम भट्टराई, शेर बहादुर देउवा, उनकी पत्नि आरजु राणाहरु लगायत धेरै भूराहरु अझै समातिन बाँकी छ । नैतिकहीनताको आधारमा चलेको सरकारमाथि भर पर्ने अवस्था त आउँदैन, तर यो सरकारको निष्पक्ष कारवाहीले जनतामा केही आश जागेको छ । यिनी पनि समातिने कि नसमातिने भन्ने विषय समयको गर्भमा छ । सम्पत्ति शुद्धिकरणको अन्तराष्ट्रिय दबाव रहेकोले यो कारवाही निष्कर्षमा पुग्ने सरकारको अभिव्यक्ति पनि आई रहेको छ ।

पूर्व गृहमन्त्री वालकृष्ण खाँड र टोपबहादुर रायमाझी समातिएर जेल जाँदा यो कसैलाई राम्रो लागेन । प्रचण्डको नेतृत्वमा यो कारवाही भई रहेकोले नेपाली काँग्रेसको गठबन्धनमा रहेर नेपाली काँग्रेस कै नेताहरुलाई समातेर जेल हाल्ने व्यवहार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पटक्कै मन परेको छैन । अझ आफ्नो र पत्निको नाम मुछेर सार्वजनिक हुँदा झन् सशंकित बनेको अवस्थामा नेपाली काँग्रेस र एमाले अहिले निरीह अवस्थामा पुगेको देखिन्छ ।

संस्थागत भ्रष्टाचारको अवस्था कस्तो छ भने जुन प्रकरणको अनुसन्धान ग¥यो, ठूलाहरु नै पर्ने देखिन्छ । सरकार लगायत सरकारको सबै निकाय भ्रष्टाचारमा संलग्न रहेको अहिलेको अनुसन्धानले देखाएको छ । जसलाई समात्दा पनि भ्रष्टाचारी ठहरिने अवस्थाले कोही पनि यो रोगबाट नबच्ने कस्तो महामारी नेपालमा चलेको हो । जति दिन म सरकारमा बस्छु जनतालाई केही दिएर जान्छु अभिव्यक्ति दिने अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको ठूलो रोग भ्रष्टाचार निको पार्ने जुन हिम्मत देखाउनु भयो त्यो प्रशंसाको लायक छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई पत्निशोक परेको छ । मृत आत्मालाई हार्दिक श्रद्धाञ्जली दिंदै शोकलाई शक्तिमा बदलेर देशको लागि केही गरेर गयो भने सबै पाप धुल्ने र जीवन निर्मल हुनेछ । प्रचण्डको एउटा असल र फरक भूमिका कायम होस् मेरो शुभकामना छ ।

यस कारवाहीबाट भ्रष्टाचारका खडा गरिएका स्थाई सञ्जालका धेरै खम्बाहरु उखेलिने छन् र ती फेरि पुर्वावस्थामा आउन सक्दैन । यसरी भग्नावशेषको रुपमा परिणत हुने भ्रष्टाचारका किल्ला पूर्ववत् सशक्त ढंगले सक्रिय हुन सक्दैन । राज्यसत्ताको सबै अंगलाई बिगारेको यो संस्था कमजोर भई समाप्त भएमा देशमा प्रगतिशीलता बढ्नेमा कुनै शंका छैन । यसरी भूलवश नै सही यो कारवाही देशहितमा हुने भएकोले यसलाई अगाडि बढाउनु बुद्धिमानी नै हुनेछ ।

खोक्रो राष्ट्रवादको जामा लगाएर देश लुट्ने राष्ट्रघाती तत्वहरु राज्यसत्तामाथि पूर्णरुपले हावी भएर तीन दशकदेखि लु्ट्ने क्रम जारी राखेकोमा अब क्रम भंग हुन त्यसै जरुरी देखिन्छ । हामी रहौंला कहाँ देशै नरहे भनेर देशको अस्मिता लुट्ने यी छद्मवेशीहरुको पहिचान हुन जरुरी देखिन्छ । राष्ट्रवादको नारा दिएर साम्प्रदायिक सहिष्णुता भंग गरेर राजनीतिको रोटी सेक्ने, देशलाई लुटेर कङ्गाल बनाउने, सामाजिक सद्भाव खलबलाउने, देशको राष्ट्रिय एकतालाई नष्ट पार्ने यी तत्वहरु कुनै पनि हालतमा देशप्रमी हुन सक्दैन ।
२०८० आपाढ २९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!