जनसत्ता स्थापित गर्न जनताको पक्षमा परिवर्तन ल्याउने जनआन्दोलन गर्नु सजिलो छ तर प्राप्त भएको जन अधिकारलाई संरक्षण गरि स्थायित्व प्रदान गर्न लोकतन्त्रका हिमायती नेपाली काँग्रेस, एमाले र माओवादी तीनै असफल रहेको देशको वर्तमान अवस्थाले सिद्ध गरि सकेको छ । राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरि गौरवान्वित हुने तीनै दलका नेताहरु निर्विकल्प शासकको रुपमा स्थापित हुँदा जनताप्रतिको जिम्मेवारी विर्सेर निजी स्वार्थमा लामो समयसम्म तल्लीन रहँदा देशमा विषम परिस्थिति सृजना भएको हो ।
विषम परिस्थितिले हरेक क्षेत्रमा अराजकता ल्याएको छ । देश चलाउने जिम्मेवार समूह शासकवर्ग, कर्मचारी सबै आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेर भ्रष्टाचार गर्न शुरु गरे, त्यसमा सबैले सबैलाई संरक्षण गर्ने गरेकोबाट भ्रष्टाचारले संस्थागत रुप लियो । राजनीति भनेको देश र जनताको विकास होइन, भ्रष्टाचार गर्ने थलोको रुपमा विकसित भयो । एकपल्ट चुनाव जितेर गएपछि करोडपति, अरबपति हुने देखेर राजनीति पैसा कमाउने पेशामा सबै उत्रन थाले । यसरी चुनाव पनि महँगो हुन थाल्यो । जिम्मेवार शासकवर्गको अनैतिक क्रियाकलापले जनतामा घृणाको आम संचार भयो । अब जनता न संघीय लोकतान्त्रिक गणतन्त्र मन पराउँछ, न तीनै दललाई ।
पैसा कमाएर दैवत्वको प्रतिष्ठा हासिल गर्ने महारथीहरु अहिले भ्रष्टाचारको आरोपमा दनादन जेल जाँदैछन् । देउता समान आदरणीय र पुजनीय सम्मान पाएका जेलको लामो बसोवासबाट डराएर रुने गर्छन् । देश र जनताको पैसामा रजाईं गर्नेहरुको क्रन्दन थोरै भएपनि जनतालाई राहत मिलेको छ । सबैले सबैलाई संरक्षण दिने चलनमा भ्रष्टाचारीहरुले “पाप धुरीबाट कराउँछ” भन्ने उखान विर्सि सकेको थियो । पैसा गयो, इज्जत प्रतिष्ठा गयो, जेलको नारकीय जीवन बिताउन बाध्य भयो । निस्केर बाँकी जीवन सम्मानपूर्वक बिताउन पनि कठीन भयो । समाजमा घृणाका पात्रको रुपमा बाँच्नु पर्ने पनि सजायभन्दा कम छैन ।
प्रजातन्त्र आएको ३४ वर्ष भ्रष्टाचारको लामो अवधिमा भ्रष्टाचारीको सूची पनि लामो छ । भ्रष्टाचारीलाई संरक्षण दिने क्रम भंग भएपछि एकपछि अर्को प्रत्येक दिन भ्रष्टाचारीहरु समातिदै जेल जाँदैछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिम्मेवार शासकवर्गको संलग्नताले संसारभरि नेपालको शिर निहुरेको छ । नेपाली काँग्रेस, माओवादी गठबन्धनमा प्रचण्ड नेतृत्वको सरकार चलि रहेको छ । एमाले प्रतिपक्षमा छ । नेपाली काँग्रेसका पूर्व गृहमन्त्री वालकृष्ण खाँड लगायत दर्जनौं ओहदावालहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल गए । निजकी श्रीमति मञ्जु खाँड फरार रहेकोले समातिएकी छैनन् । यसैमा शेरबहादुर देउवा, निजकी पत्नि आरजु देउवा, प्रतिपक्षका नेता केपी शर्मा ओलीको पत्निीसहित नाम मुछिएको अवस्थाले उनीहरु पनि निकै डराएका छन् ।
शासन सत्तामा रहेर अमेरिकालाई झुक्याएर नेपालबाट मानव तस्करी गर्नेहरु उपर कार्रवाही भएन भने नेपालले पाउने सारा सहयोग रोकिदिने अमेरिकाको दबावलाई अनादर गर्ने हिम्मत कसैमा नरहेकोले सरकारलाई कार्रवाही गर्ने बाध्यता छ । नेपाली उखानमा यसैलाई भनिन्छ पाप धुरीबाट कराउँछ ।
शेरबहादुर देउवालाई अब प्रचण्डप्रति आपूm र परिवार बाँच्ने विश्वास नरहेको अवस्थाले सरकार बदल्ने चर्चा चलेको छ । जो समातिएको छैन, त्यसलाई बचाउन सकिन्छ कि भनेर शेरबहादुर देउवा र ओलीको निकटता बढेको देखिन्छ । शेरबहादुर देउवा अमेरिकन लाविका मानिस भएकोले बाँच्ने धेरै सम्भावना बोकेको छ । सार्वजनिक रुपमा शेरबहादुर देउवाले यो गठबन्धन टुट्दैन भने पनि त्यसमा सत्यता भने देखिदैन । उनको सरकार आएपनि यो प्रकोपबाट बच्न सक्ने अवस्था देखिंदैन ।
राष्ट्रवादको तुमुल शंखनाद गर्ने राष्ट्रवादीहरुले भ्रष्टाचारको घुन लगाएर देशलाई कङ्गाल त बनायो नै, शक्ति राष्ट्रहरुसंग पनि सन्तुलित कूटनीतिक सम्बन्ध बनाएर राख्न जानेनन् । चार कार्ड राखेर खेल्ने नेपाली शासकहरु जति धम्काउँछन् त्योभन्दा बढि सबैको गुलामी गर्छन् । अब त रुस पनि नेपालमा ठाउँ बनाउन खोजि रहेको छ । कार्ड देखाएर आफ्नो दुनो सोझ्याउने शासकहरु असलमा लुटेराको भूमिकामा देखिन्छन् । राष्ट्रवादको नारा उचालेर खासगरि नेपालमा भारतको विरोध गराउने चलन छ । माओवादीको पालामा अमेरिकी साम्राज्यवादको विरोध थियो । सत्तामा आएदेखि माओवादी नेतृत्व अमेरिकाको गुलामीमा तल्लीन देखिन्छ ।
नाकाबन्दीको पालामा भारतसंग जुधेर चीनसंग सम्बन्ध बनाउन सफल केपी शर्मा ओली पछि पुनश्च भारतको पोल्टामा खस्दा न घरको रह्यो नघाटको । राष्ट्रघाती कालापानी सम्झौता ओली र गिरिजा प्रसाद कोईरालामा भएको हो । लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा उचालेर भारतसंग जुध्ने तर पछि गुलामी गर्न तयार भएपछि यी नक्शालाई सार्वजनिक नगर्न आदेश दिनेको अर्थ के हो ? देशको स्वतन्त्रताको कुरा गर्ने तर सबैको गुलामी गर्ने । यस्ता प्रवृतिमा स्वाभिमान कहीं देखिदैन । गुलामी पनि देशको लागि गर्दा केही क्षम्य थियो । तर निजी स्वार्थ पूरा गर्ने उद्देश्यका साथ गुलामी गर्नु देशलाई पनि गुलाम बनाउनु हो । जङ्गबहादुरले पनि अंग्रेज सरकारको गुलामी देशलाई बचाउनका लागि गरेको थियो ।
हरेक क्षेत्रमा असक्षम रहेका यी तीनै पार्टी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बाँकी रहेका सबै इज्जत प्रतिष्ठा गुमाई सकेका छन् । देशको संकटग्रस्त अर्थतन्त्र र जनतामा क्रयशक्तिको अभावले देश आर्थिक मन्दीको शिकार भएको छ । यसवारे कुनै चासो चिन्ता छैन । चिन्ता छ भने अहिले गिरफ्तार हुनबाट कसरी जोगिने ? सरकार बदलेर भएपनि बचाउ पक्ष कसरी मजबूत बनाउने । घाट घाटमा राखिएका कार्यकर्ताहरु समेत मुछिन थालेपछि अब कसको गुलामी गरेर बच्ने सो अन्तिम दाउ लगाउने देखिन्छ ।
माँगेर खाने भिखारी प्रवृतिलाई नै संस्कारको रुपमा स्वीकार गरेर बाँच्ने यी शासकहरु देशको समृद्धि, आत्मनिर्भरता आदि विषय यिनको सोचभन्दा बाहिर रहेकोले यसवारे चिन्तन वा पहल नहुनु स्वाभाविक पनि हो । खोक्रो राष्ट्रवादको नारा दिएर देशको स्वाभिमान, प्रतिष्ठा, विकास र समृद्धि आदिबारे सोच्नु मुर्खता नै हो । देश विकास गर्न देशको माया चाहिन्छ जो यी राष्ट्रवादीहरुमा कहिं पाइँदैन ।
२०८० आषाढ १५ गते मधेशवाणीमा प्रकाशित
