आषाढ ४ गते प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द र उपेन्द्र यादब नेतृत्वको ४ पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । नेपाली काँग्रेस र एमालेबाहेक तेश्रो स्थानमा निर्णायक शक्तिको रुपमा समाजवादी मोर्चा चारै पार्टीको अस्तित्व रक्षा कवच हुने मानिएको छ । जातीय कट्टर तथा निरंकूश सोचबाट प्रेरित उपेन्द्र यादबको पार्टीबाट अलग भएर समाजबादी केन्द्र बनाउने बावुराम भट्टराईको सोच र पहललाई खोसेर प्रचण्डले समाजवादी मोर्चा गठन त गरे तर त्यसमा बावुराम भट्टराईलाई समावेश गर्न सकेन । भाले खान काले काले मिल्ने कुरामा बावुराम भट्टराईको अप्ठ्यारो चरित्र त छैन, तर पनि वामदेव गौतम समेतलाई समाजवादी मोर्चामा ल्याउनु पर्छ भनेर तर्कहीन बहाना खोजेर बावुराम भट्टराई मोर्चामा सामेल हुन मानेन । बावुराम भट्टराईको आगमनमा सम्भवतः उपेन्द्र यादब नै बाधक रहेको बौद्धिक समुदायमा व्यापक चर्चा छ ।
कोठाभित्र रहेको सामानलाई ठाउँ बदलेर नयाँपन ल्याउने पुरानो परम्परा अनुसार नै समाजवादी मोर्चा बनेको हो । सत्तामा रहेर जिम्मेवारीबोध नहुने, भूmठो आश्वासन, तथा जनतालाई ढाँट्ने प्रवृति र निजी स्वार्थलाई सर्वोपरी ठान्ने समाजवादी मोर्चाका तीनै जना नेताहरु जन आकर्षण गुमाई सकेका छन् । यथास्थितिमा रमाउने तीनै जनासंग नेत्रविक्रम चन्द जोडिन आएकोले उनी पनि यथास्थितिका मतियार भए । संघर्ष गरेर सत्ता कब्जा गर्ने दिवा स्वप्न कहिले पूरा नहुने बुझेर नै उनी आफ्नो अस्तित्व कायम गराउन कहिले ओलीसंग त कहिले समाजवादी मोर्चामा भौंतारि रहेका छन् । ओलीभन्दा प्रचण्डसंग अलि बढि सहज हुने देखेर उनी पनि सामेल भएका हुन् ।
माधव नेपाललाई खेदेर सिध्याउने ओलीको योजनाबद्ध रणनीति आखिर सफल नै भएको छ । एमालेबाट अलग्गिएका साथीहरु सबै धोखा दिएर एमालेमा फर्केपछि माधव नेपालको पार्टी संघमा १० सीट ल्याए पनि राष्ट्रिय पार्टी बन्न सकेन । वास्तवमा सवभन्दा बढि अस्तित्वको संकट माधव नेपाललाई भएको छ । समाजवादी मोर्चा उनको लागि आरामदेय भएको छ ।
सत्ताको दलाली गर्न यथास्थितिमा रुपान्तरित भई क्रान्तिकारी प्रतिष्ठा गुमाई सकेका तथा मधेशका जनताले पनि त्यागि सकेका कारण उपेन्द्र यादब अब मधेशबाट विस्थापित भई सकेका पात्र हुन् । मधेशको आवाज उपेन्द्र यादब हो भनेर दिग्भ्रमित भएका खसदलहरु क्रान्तिकारीभन्दा गुलाम नै ठीक भनेर सहकर्मी बनाएका छन् । उपेन्द्र यादब आन्दोलन गरि रहेको बेला मधेशका प्रतिनिधी विजय गच्छदारलाई ठानेर कुनै बेला सरकारले सम्झौता गरेको थियो । क्रान्तिकारी चरित्र यथास्थितिमा रुपान्तरित भई सकेपछि आज उपेन्द्र यादब शासकवर्गका लागि महत्वपूर्ण पात्र बनेका छन् । म मधेशवादी होइन भनेर उपेन्द्र यादबले आफ्नो चरित्र रुपान्तरणको कथा आफै सुनाउँछन् । मधेशीको नाममा फायदा लुट्ने तथा मधेशको अस्तित्व जोगाउन नसक्ने उपेन्द्र यादब अहिले नागरिकताविहीनको आन्दोलनलाई किन अगाडि बढाउन अग्रसर हुँदैन ? खस शासकहरु एउटाले नागरिकता पास गरेर घाट घाटमा तैनाथ गरेका मानिसहरु कसरी नागरिकता रोकेका छन् ? त्यस्तै नेतृत्वविहीन नागरिकतावाला युवाहरु आन्दोलन गरि रहेको बेला नेतृत्व गर्न आउनु पर्दैन ? ती युवाहरुको लागि उपेन्द्र यादबको कुनै जिम्मेवारी छैन ।
समाजवादी मोर्चाले भन्न त संविधानको रक्षा, सुशासन, जनहितकारी कार्यहरु तथा प्रतिगमनलाई रोक्ने दावा गर्छन । समाजवादको कुरा गरेर लोकतन्त्रलाई बदनाम गर्ने यी नेताहरु लेखतमा जति दार्शनिक छन् त्यस्को हजार गुणा निर्लज्ज र भ्रष्टाचारी छन् । नक्कली भुटानी प्रकरणको अनुसन्धान हुँदा सार्वजनिक पद धारण गरेका नेपाली काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु सबै मुछिए पछि संस्थागत भ्रष्टाचार भनेको के हो बल्ल थाहा भयो । तीनै दलका नाम चलेका शीर्ष नेताहरु सबैको नाम नक्कली भुटानी प्रकरणमा मुछिएपछि सिनु खान एउटा पनि गिद्ध नछुटेको उदाहरणबाट किञ्चित लाज नमान्ने नेताहरु नाम सार्वजनिक हुँदा क्रुद्ध बनेका नेताहरु एकदिन पाप धुरीबाट कराउँछ भन्ने थाहा थिएन ?
३४ वर्षदेखि भ्रष्टाचार गर्दै अकूत सम्पत्ति कमाएका यी नेताहरु कहिल्यै पनि देश र जनताप्रति जिम्मेवार नहुनु रोगी मानसिकताका हुन् भन्ने कुरा पनि अवगत भयो । वास्तवमा यिनले भ्रष्टाचार बाहेक अरु कुनै कुरा गर्न सक्दैन प्रमाणित भएको छ । जति भ्रष्टाचार गरेपनि कोही नसमातिने भद्र सहमतीका आधारमा चलि रहेको शासन व्यवस्थामा यसपाली जेजति कारणले होस् प्रचण्डको सरकारमा अनुसन्धानको क्रममा ठूला माछाहरु समातिएर जेल गएका छन् । नेपाली काँग्रेसका पूर्व गृहमन्त्री वालकृष्ण खाँडलाई जोगाउन नसकी प्रचण्ड सरकारले जेल पठाएको कुराबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अत्यन्त रुष्ट बनेका छन् । पत्नि आरजू देउवा पनि निशानामा परेकी छिन् । यी सब कारणले विद्यमान गठबन्धन धेरै कमजोर अवस्थामा रहेको कारण प्रचण्डले हतारिएर समाजवादी मोर्चा गठन गरेका छन् । सिंगापुरबाट शेरबहादुर देउवा आएपछि सरकार बदल्ने चर्चा पनि व्यापक रुपमा चलेको छ ।
केपी शर्मा ओली, शेरबहादुर देउवा, पत्नि आरजू देउवा, बालकृष्ण खाँडकी पत्नि मञ्जू खाँड, रामबहादुर थापा बादल र उनका पुत्र आदिहरुको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपनि यिनी हिरासतभन्दा बाहिर छन् । बाँकीहरुलाई जोगाउनका लागि भएपनि सरकार आफ्नो हातमा लिन आवश्यक भएको छ । नेपाली काँग्रेस, एमाले गठबन्धन बनेर सरकार बन्ने सम्भावना प्रवल देखिन्छ । सरकार बनाएर बाँकीहरुलाई कसरी जोगाउने भन्ने कुरा पनि चाखलाग्दो हुनेछ । हेरौं समयको गर्भमा के के लुकेको छ । तर देशको अवस्थाले विकासभन्दा विनाश नै आउने देखिन्छ । कुपात्रले अनिष्ट नै निम्त्याउँछ ।
भारतसंग नेपालको निर्विकल्प सम्बन्धलाई जेजति कारणले होस्, तनावपूर्ण अवस्थामा रहेको, नेपाल चीनसंग गहिरो प्रभाव बनाएको भारतको सोच रहेको, अहिले रुस पनि विकासको नाममा नेपालमाथि इन्टरेष्ट लिन खोजेको, नेपालको आयात व्यवस्था ८० प्रतिशत भारतमाथि निर्भर रहेको, देशले आर्थिक संकट झेली रहेको, व्यापार घाटा र सार्वजनिक ऋण हदै नाघेको, यस्तो आर्थिक संकटसंग देश जुधि रहेको अवस्थामा भारतसंगको कूटनीतिक सम्बन्ध बिगार्नु निश्चय कल्याणकारी हुन सक्दैन । शासन चलाउन बिल्कुल असक्षम तीनै दलका नेताहरु शक्ति सन्तुलन तथा लोक कल्याणकारी कार्य गर्न सक्ला भन्ने कुरामा १ प्रतिशत पनि जनताको विश्वास छैन ।
२०८० आषाढ ८ गते मधेशवाणीमा प्रकाशित
