एजेण्डाबिहीन दलहरु र स्वार्थलिप्सामा लीन राजनीतिकर्मीहरुको अराजक स्वाभावले राजनीति यति दुषित अवस्थामा पुगेको छ कि जनताले आफ्नो कल्याण कहीं देख्दैन । लोकतान्त्रिक पार्टी होस कि कम्युािष्ट पार्टी देश र जनताका लागि कोही हितकारी नरहेको जनमानसको धारणा छ । पार्टीभित्रका कार्यकर्ताबाहेक आम जनता यिनका कटु आलोचक बनेका छन् ।
देश र जनताका विकासबारे योजनाबद्ध तरिकाले राजनीतिलाई सहज तरिकाले प्रयोग गर्नुको ठाउँमा आफ्नो स्वार्थ पूरा गर्ने प्रयोजनका लागि राजनीतिलाई उपयोग गर्दा पूरै प्रणाली नै अराजक बन्छ र मनोमानी ढंगले सिस्टम चल्दा बेथिति बढछ भन्ने कुरा सबैले जान्दछन् तर स्वार्थलाभलाई सर्वोपरि मानेर परिणामलाई वेवास्ता गरेका छन् । नकारात्मक परिणाम आए समय अनुसार दावपेंच खेलेर समाधान गरुँला भन्ने मान्यतामा सबै दलहरु रहेकोले न सिस्टम बस्न सकेको छ न जन अपेक्षित परिणाम नै देख्न पाईएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली ल्याए पनि यसलाई थेग्न सक्ने राजनीतिकर्मीहरुमा असल आचरण (देश र जनताप्रति उत्तरदायी, निष्पक्षता, त्याग आदि) आउन सकेन । अनैतिक किसिमले धनलाभ गर्ने, चुनावको परिणाम आफ्नो भागमा पारेर सरकारमा आएर सोही गतिविधीलाई पुनरावृति गर्ने यही मानसिकताबाट ग्रसित सबै राजनीतिकर्मीहरु रहेकाले देशले असल परिणाम प्राप्त गर्नै सक्दैन । आश्चर्यको कुरा के छ भने नयाँ होस कि पुरानो सबै राजनीतिकर्मीको एउटै ध्येय कसरी भयो ?
अहिले देउवा सरकार अगाडि एमसीसी पास गराउने दबाव बढेको छ । ऋण होस कि अनुदान वैदेशिक सहयोग लिन किञ्चित पनि नहिचकिचाउने कुनै पनि सरकारको समान चरित्र रहेकोले आज सशर्त एमसीसी परियोजना पास गराउन अमेरिकाले सरकारमाथि दबाव बढाएको छ । यसको सकारात्मक वा नकारात्मक के परिणाम हुने भन्नेबारे किञ्चित चिन्ता नलिने स्वाभावले यिनी देशप्रति कति जिम्मेवार छन् भन्ने कुरा त्यसै प्रष्ट हुन्छ ।
३.५ वर्ष केपी शर्मा ओलीको सरकार रहँदा पनि एमसीसी पास गराउन नसकेपछि ओली सरकारलाई अपदस्थ गरि अमेरिका नजिक रहेको शेरवहादुर देउवाको सरकार सत्तामा आयो । न चिताएको अवसर पाउँदा शेरवहादुर देउवाको एकमात्र जिम्मेवारी एमसीसी पास गराउनु हो । एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर केही राजनीतिकर्मीहरु बुन्दागत रुपमा जनमानसको दिमागमा घुसाएका कारण यसको विरोध पनि व्यापक छ ।
गठबन्धनका राजनीतिक दलहरुले (माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा आदि) मिलेर शेरवहादुर देउवालाई सरकार बनाउन अवसर प्रदान गरेबाट शेरवहादुर देउवालाई यो गुण बिर्सिन गाह्रो भई रहेको छ । एमालेले संसद अवरुद्ध गरेको छ । एमालेको कुरा नमान्दा संसदबाट कुनै कुरा पास हुन सम्भव देखिदैन । एमालेको शर्त नेकपा एकीकृत समाजवादीका १४ साँसद तथा सभामुखको खारेजी रहेकोले शेरवहादुर देउवालाई गुन लगाएको गठबन्धन पार्टीप्रति विश्वासघात कसरी गर्ने भन्ने अपठ्यारो अवस्था छ । हुनत छल, प्रपञ्च, जाल, फरेब, धोखालाई आधार बनाएर गरिएको राजनीतिमा निजी स्वार्थ प्रमुख एजेण्डा मानिएकोले जब जैसा तब तैसा गरिने स्वाभाव अनुसार अवरोध पन्छाउनु मुख्य कुरा हो । ओलीसंगको कुराकानीमा शेरवहादुर देउवाले पनि गठबन्धन तोडेर ओलीसंग जोडिने निचोड निकालेको छ । राजनीतिमा सबै कुरा जायज छ भन्ने मन्त्र त सबैलाई कण्ठस्थ छ नै, शेरबहादुर देउवाले गठबन्धन पार्टीसंग विश्वासघात ग¥यो भने त्यो कुनै नौलो विषय बन्ने छैन ।
ओलीले आफ्नो शर्त पुरा नभएपनि शेरवहादुर देउवालाई आपूmसंग सरकार बनाउन निम्तो दिएको छ । एमसीसी पनि पास गर्ने आश्वासनको भरमा उनले सहकर्मी मित्र पार्टीसंग सम्बन्ध तोड्न तयार भएको छ । आफ्नो स्वार्थ पुरा गर्न जेपनि गर्ने सर्वमान्य बनेको राजनीति अनुसार देउवाको कदम अगाडि बढेको हो । एमसीसीबारे माओवादी पार्टी क्लियर नरहेको कुराबाट देउवा सशंकित बनेको छ । संशोधन पश्चात् एमसीसी पास गराउने प्रचण्डको धारणा र एमसीसी पास गर्नु हुँदैन भनेर चट्टानी अडानमा रहेको माओवादीका नेता देव गुरुङको फरक विचारले माओवादी पार्टी क्लियर न रहेको स्पष्ट छ । जसपा पार्टी पनि द्वैध मानसिकतामा परेको छ । बावुराम भट्टराई एमसीसीको पक्षमा छ भने उपेन्द्र यादब विपक्षमा छन् । यी सब कारणले एमसीसीका लागि गठबन्धन विश्वासिलो ठहर्न सक्दैन । एमसीसी पास गराउन संसद सुचारु ह्ुन जरुरी छ । एमालेसंग सम्झौता नगरि संसद सुचारु हुन सक्दैन । त्यसकारण नयाँ समीकरण नबनी एमसीसी पास हुने सम्भावना न्यून देखिन्छ ।
अहिेलेको गठबन्धनबाट यदि एमसीसी पास भयो भने माओवादी पार्टी र जसपा दुबै पार्टी फुट्ने सम्भावना बढि छ । चुनावमा अपेक्षित सफलता पाउने आश रहेपनि विभाजनको कष्टकर पीडा भने भोग्नै पर्ने हुन्छ । गठबन्धन टुट्यो भने पार्टी जोगिने तर चुनावमा घाटा हुने प्रष्ट छ । अहिले सरकारको एमसीसी पास गराउने एकमात्र एजेण्डामा राजनीति केन्द्रीत रहेकोले गठबन्धन पार्टीहरु सरकारमा रहने नरहने दावपेंचमा व्यस्त छन् ।
ओली जसरी पनि यो गठबन्धनलाई तोड्ने दाउमा छन् । ओलीका लागि माओवादी, एकीकृत समाजवादी तथा जसपा तीनवटै पार्टी दुश्मन प्रतिस्पर्धी रहेकोले चुनावमा सत्ताबाट लिने फायदा लिन नसकोस् भनेर ओली तीनवटै पार्टीलाई सत्ताबाट च्यूत गर्न चाहन्छ । ठूलो पार्टीको रुपमा रहेको एमालेबाट यो सम्भव पनि हुन सक्छ । तर दावपेंचको राजनीतिमा एमाले पार्टी निर्णायक भूमिकामा रहेपनि एमसीसी पास गर्न देउवासंग बन्ने गठबन्धनबाट हानी लाभ यिनले पनि भोग्नु पर्ने हुन्छ । सत्तामा आएपछि चुनावमा अपेक्षित सफलता मिल्ने ओलीको आकलन विरुद्धको परिणाम पनि आउन सक्ने सम्भावना छ । अहिले एमसीसी राष्ट्रघाती भनेर उफ्रिने राष्ट्रवादी शक्तिहरु ओलीको विपक्षमा लाग्ने सम्भावना छ । दुष्परिणाम भोग्नै पर्ने अवस्था आए पार्टी विभाजन हुन सक्ने संकेत देखिन्छ । पार्टी विभाजन गराउन अहम भूमिका खेल्ने केपी शर्मा ओली समर्थक इतरका कार्यकर्ताको आम धारणाले विद्रोह गरि विभाजन गराउन सक्छन् । भीम रावलले त्यसको नेतृत्व गरि माधव नेपालसंग मिलेर चुनाव लड्ने अवस्था आउन सक्दछ ।
(२०७८ माघ २१ गते मधेशवाणीमा प्रकाशित)
