जसपा विभाजन ः सुखद् कि दुःखद ?

साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता विवादलाई निरुपण गर्न पार्टीका केन्द्रीय कार्यकारिणी समिती सदस्यको उपस्थिति तथा पक्ष विपक्षको मतको आधार तय गरी जसपामाथि उपेन्द्र यादवको पूर्ण अधिकार कायम गरी महन्थ ठाकुरलाई नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । ५१ सदस्यीय कार्यकारिणी संख्यामध्ये उपेन्द्र यादवतिर ३४ तथा महन्थ ठाकुर समूहसँग १६ मात्र परेको कारण पार्टी स्वतः उपेन्द्र यादवको स्वामित्वमा गएको छ ।

एमालेको विभाजनमा सांसद मत कम हुन गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका कतिपय मुद्दा सम्बोधन गरी दिने आश्वासन पाएर महन्थ समूह ओली नजिक भएका थिए । ओलीसँग सम्बन्ध बनाएका कारण जसपामा मत विभाजन भएको थियो । शुरुमा महन्थ पक्षमा २० सांसद तथा २५ कार्यकारिणी सदस्य रहेको कुरा सार्वजनिक हुँदै आयो । महन्थ समूहलाई सरकारमा लैजाने प्रवल सम्भावनाका कारण सांसदहरु टाँसिएका थिए । पार्टीभित्र संसदीय दलको नेता बन्न उच्च महत्वाकांक्षा पालेर राखेको राजेन्द्र महतोको अनर्गल क्रियाकलापबाट जसपाको मतभिन्नता गहिरिँदै गई रहेको थियो । बहुमतको अवस्थामा रहेको महन्थ ठाकुर समूहले तत्कालै पार्टी अलग गर्नु बुद्धिमानी हुन्थ्यो । तर जसपा नै कब्जा गर्ने काली दासीय चिन्तनले अन्ततः महन्थ समूहलाई रुनु न हाँस्नु अवस्थामा पु¥याएको छ । सत्ता कब्जा गर्ने महत्वाकांक्षाले आज कि आत्मसमर्पण कि सांसदविहीनको नयाँ पार्टी दर्ता गराउने किंकर्तव्यविमुढको अवस्थामा ल्याई पु¥याएको छ ।

२१ सांसदलाई रिसोर्टमा लगेर बहुमतको संख्या देखाएर राजेन्द्र महतोले संसदीय दलको नेता बन्नु तथा राजेन्द्र महतोको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको रुपमा समावेश हुने उतावलापन आजको दुर्दशाको प्रमुख कारण बन्यो । लोभी पापी सांसदको जत्था मध्ये १० जना मात्र मन्त्रिमण्डलमा सामेल भएपछि बाँकी उपेन्द्र यादवतिरको अवसर प्राप्त गर्न जानु पनि स्वाभाविकै लाग्छ ।

गत चुनावमा संघीय समाजवादी पार्टीको बराबरीमा प्रतिनिधिसभा सदस्य जिताउन सफल तत्कालीन राजपा आज अलग हुन पर्दा सांसदविहीन अवस्थामा पुग्न कति पीडाजनक अवस्था बेहोर्नु परेको छ । संसदीय परिपार्टीमा उल्लेखनीय भूमिका खेल्नु भएको महन्थ समूह राजनीतिक वृत्तमा अहिले अपमानजनक दुर्दशा भोगि राख्दा सबै राजनीतिक दलहरु तमाशा हेरिरहेका छन् ।

एमाले छाडेर माधव नेपाल समूहका २६ जना सांसदले विपक्षको नेपाली कांग्रेसको उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मतदान गर्दा सांसद पद कायम रहने तर आज महन्थ ठाकुर समूह जसपाबाट अलग पारिँदा सांसदविहीन हुने यो कस्तो शासकीय खेल हो । जुन अदालतबाट माधव नेपालको समूहले वैधानिकता पाएको थियो त्यहीं अदालतमा महन्थ समूहले न्याय माग्न जाने निर्णय गरेको छ । सर्वोच्चबाट माधव नेपाल समूहले प्रतिष्ठा जोगाए जस्तै महन्थ ठाकुरले न्याय पाउन सजिलो छैन ।

अहिले महन्थ ठाकुरलाई प्रतिगमनको मतियारको रुपमा परिभाषित गर्ने उपेन्द्र यादवको पार्टीले विगतमा गरेका गल्तीको यति लामो फेहरिस्त छ कि उपेन्द्र यादवले सफाई पाउन मुश्किल छ । व्यक्तिगत रुपमा विश्लेषण गर्दा महन्थ ठाकुर मधेशको मुद्दाप्रति अडान राख्नेमा उपेन्द्र यादवभन्दा अब्बल हुनुहुन्छ । केही लोभी सहकर्मीको अनर्गल दबाबमा परी अहिलेको दुर्दशा भोग्न बाध्य महन्थ ठाकुरलाई नै बहुसंख्यक मानिस विश्वास गर्छन् ।
सत्ता समीकरकणमा पछाडि परेपनि आजीवन मधेश मुद्दा उठाई रहने महन्थ ठाकुरको निःस्वार्थ भावलाई प्रशंसा गर्नै पर्दछ । मधेशको कट्टर विरोधीको रुपमा प्रख्यात केपी शर्मा ओलीलाई मधेश मुद्दा सम्बोधन गर्न लगाउनु धेरै ठूलो कुरा हो । यो उपेन्द्र यादवबाट सम्भव थिएन । कुनै बेला संविधान संशोधन विषयमा राजपाका नेताहरु सम्मिलित महन्थ ठाकुरले ज्ञापनपत्र दिँदा, मधेश मुद्दाको औचित्य सकियो, अब विकासको काम ल्याउनुस् भनेर फालेको पात्रलाई सोही मुद्दाहरु सम्बोधन गर्न तयार पार्नु धेरै महत्वपूर्ण कुरा हो ।

बहाना जेसुकै होस्, जातिवादी राजनीतिको चरम प्रताड्नाका कारण पूर्व राजपा समूह विभाजनमा परेका छन् । पूर्व राजपाका महेन्द्र राय यादव र राजकिशोर यादव लगायत धेरै जसो यादव मिश्रणमा घुलित भएका छन् । यादव बाहेककाहरु पनि सांसद पद जोगाउन जसपामा झुण्डिएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना हुँदा विचारभन्दा पद जोगाउने चिन्ता सबैलाई छ ।

एजेण्डाविहीन शासकहरुको सत्ताको खेलमा मधेशका दलहरु पनि लामो अभ्यास गरेका छन् । नैतिक अनैतिक अनेकन खेलमा सहभागी भएर नैतिकता, ईमान्दारी, मधेशको एजेण्डा आदि छोडेर व्यक्ति स्वार्थ पूरा गर्ने होडमा चारित्रिक स्खलन कति हदसम्म भयो यसको कुनै लेखाजोखा छैन । विगतमा अक्षम्य गल्ती गरेर अहिले मधेशको मसीहाको उपाधि पाउनेहरुको कति आलोचना भइरहेको छ, त्यसको गणना नै छैन । आफ्नै सहकर्मीहरुद्वारा घिसार्ने प्रक्रियामा कहीं कुनै ठाउँमा महन्थ ठाकुरलाई पनि फोहोर लागेको होला तर देशको महत्वपूर्ण घटना तथा मधेशको मुद्दाप्रति महन्थ ठाकुरको अडान र मधेशप्रतिको बफादारीमा कतै कुनै औंला उठाउने ठाउँ छैन । निःस्वार्थ नेताको रुपमा अहिले पनि चर्चित महन्थ ठाकुर जस्तो चरित्र बनाउनु मधेशको कुनै नेतासँग त्यो क्षमता छैन ।

अहिले महन्थ ठाकुर समूहको अपमानजनक पराजयमा उपहास गर्दै मज्जा लुट्नेहरु सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती भेटिन्छन् । तर नाकाबन्दी आन्दोलनलाई निःशर्त समाप्त गर्ने, मधेश आन्दोलनलाई चुनावसँग निःशर्त साट्ने मधेशका ८ जिल्ला लिएर संविधान पुनर्लेखनलाई त्याग्ने, असोज ३ लाई कालो दिवस मनाएर पुनश्चः मन्त्रिमण्डलमा जागिर खान समावेश हुने जस्ता चारित्रिक स्खलन महन्थ ठाकुरमा नभएको सबैले गुण गाउँछन् ।
अदालततिर जाने महन्थ ठाकुर समूहले राहत पाउन झिनो आशा छ । जे होस् राजनीतिमा चारित्रिक सवलता ठूलो कुरा हो । सांसद पद नरहे पनि मधेश मुद्दाप्रतिको उच्च मनोवल नै सफलताको घोतक बन्छ ।

(२०७८ साल श्रावण १५ गते मधेशवाणीमा प्रकाशित)

 

 

 

 

 

 

 

 

Leave a Comment

error: Content is protected !!