राज्यसत्तामा ओलीको पदार्पणसँगै नेपाली राजनीति जहिले पनि तरंगित भई यत्रतत्र धक्का दिई सबै क्षेत्रलाई सजग बनाउँदै आएको छ । दुई कदम अगाडि र एक कदम पछाडिको रणनीति अपनाउँदै राजनीतिलाई सामान्य अवस्थामा रहन नदिई वेगवान बनाएको प्रयासले कहीं प्रशंसा र कहीं आलोचनाको पात्र बनेका छन् केपी ओली ।
चीनसँग गहिरो सम्बन्ध बनाएर भारतको रुढिवादी चिन्तनको विरुद्ध शंखनाद गर्दै उनका अयोध्या लगायत सबै तीर्थस्थल आफ्नो देशमा सार्ने हिम्मत देखाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा (चीन) तथा विपक्षमा (भारत, अमेरिका, ईयु) समेत चर्चाको केन्द्रविन्दुमा रहे । चीनसँग सम्बन्ध देखाएर भारतसँग (वर्तमानमा) सम्बन्ध सुधार गरी राजनीतिलाई अनौठो किसिमले बेगवान बनाई अगाडि बढ्ने केपी शर्मा ओलीको राजनीति गन्तव्य के हो भन्ने जनमानसमा कौतुहलता छ । दुई तिहाइको राजनीतिलाई अल्पमतमा ल्याएर राख्ने कालीदासको उदाहरण दिने ओलीको चटक देखाउने खेलबाट सबै दिक्क मानेका छन् । उनले विपक्षलाई वैकल्पिक सरकार बनाउने अवसर दिए पनि सत्तामा आफै बसेर चमत्कार देखाएका छन् ।
केपी शर्मा ओलीलाई दुई तिहाइको मत होस् कि अल्पमतको कुनै फरक पर्दैन । बहुमत भएको बेला एाकाधिकारको पासोमा माओवादीका प्रचण्ड र एमालेका आफ्ना सहकर्मी माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भूसाल आदि नेतालाई गत पुषदेखि घिसार्दै ल्याउँदै आउँदा प्रचण्ड उछिट्टिएर अलग भए भने केही विपक्षी नेताहरुलाई आत्मसमर्पण गर्न बाध्य बनाई दिएको छ ।
यस्तै भूकम्पीय राजनीतिको प्रभाव जसपामा पनि घनीभूत रुपमा परेको छ । माओवादी, नेपाली कांग्रेसबाट समर्थन मिल्ने सम्भावना न्यून रहेको अवस्थामा ओलीले महन्थ ठाकुर, राजेन्द्र महतो समूहलाई उनका माग पूरा गर्दै जाने शर्तमा आफ्नो पक्षमा समेटे । वैकल्पिक सरकार बनाउने पक्षमा रहेको उपेन्द्र यादव र महन्थ ठाकुरबीच मतभेद बढ्न थाल्यो । नेतृत्वपंक्ति लगायत दुवै समूहको कार्यकर्ता पंक्तिमा गालीगलौजको ताण्डव नै शुरु भयो ।
अल्पमतमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीलाई समर्थन गरी मन्त्री पदसमेत पाएका जसपाका महन्थ ठाकुर समूहका सन्तोष पाण्डेयलगायतका चार जनालाई उपेन्द्र पक्षले कारबाही गरी प्रदेशसभा सदस्यसमेतबाट निष्काशित गरिदिए । उनले पदबहालीका लागि सर्वोच्चमा रीट गरी फैसला अनुसार पद बहाल पनि भए । कार्यकारिणी समितिको २६ सदस्यको बहुमतद्वारा गरिएको कारबाही सर्वोच्चले रद्द गरिदियो । सर्वोच्च अदालतको फैसला अगाडि उपेन्द्र यादव निरीह देखिए ।
जातीय राजनीतिमा चुर्लुम्म डुबेको जसपा सर्वोपरि व्यक्तिस्वार्थ, जातीय स्वार्थ र यसले दिएको ईष्र्या, गलत सोचको प्रवृति आदिबाट मुक्त हुन सकिरहेको छैन । यसै परिधीबाट गरिने राजनीति सही दिशामा जानै सक्दैन । दुई पार्टीबीचको एकीकरण एक वर्ष पार गरेपनि भावनात्मक मेलको कुरै छाडौं भौतिक रुपमा पनि यिनका मातहतका संगठनहरु एक हुन सकेको छैन । अहिले उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त विज्ञप्तिमा जसपा कसैको सरकारमा सामेल नहुने, आफ्नो नेतृत्वको सरकार बनाउने अवसर आयो भने सरकार बनाउने भन्ने आशयको कुरा सार्वजनिक भएको छ । जसपाको यस्तै निर्णय रहे देश चुनावमा जाने सम्भावना बढेको देखिन्छ ।
सबैलाई तह लगाउँदै चुनावमा जाने ओलीको मनसाय सबैले बुझेका छन् । तर नित नवीन चमत्कार देखाउने ओली भविष्यमा आउने चुनौतीबाट किञ्चित पनि हच्किएको छैन । जसपाबाट समर्थन नपाउने संयुक्त विज्ञप्तिले ओलीलाई अहिले कुनै फरक पारेको छैन । बरु जसपाभित्र दुवै पक्षबाट भइरहेको गालीगलौजको क्रम भने बन्द हुने संकेत देखिएको छ । जसपाको यो सहमतिलाई परिस्थितिले कतिञ्जेल दुरुस्त राख्छ यो त समयले नै देखाउँछ ।
भारतले नेपालमा पत्याएको पात्र केपी शर्मा ओली हुन् भनेर बीजेपीका प्रभावशाली सांसद सुब्रमन्यम स्वामीको कथन बीजेपीको दृष्टिकोण हो भन्ने कुरा बुझ्न अब कठिन छैन । आफ्ना विरोधको कडा शब्दबाट तथा सो नटेरी कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा बनाएर वैधानिकता प्रदान गरी भारतमाथि गरिएको कडा प्रहारबाट भारतलाई ब्युँझाउने ओलीको अद्भूत प्रयासले नेपालभित्र एकमुष्ट समर्थन पाएको अनौठो उदाहरण पाइन्छ । यी सब प्रयासबाट भारतले नयाँ सोचका साथ ओलीसँगै सम्बन्ध सुधार्ने प्रयास गरेको हो ।
बैशाख २७ गते विश्वासको मत लिनका लागि केपी शर्मा ओलीले विशेष संसद अधिवेशन डाकेपछि वैकल्पिक सरकार बनाउने भनेर माओवादी, जसपा र नेपाली कांग्रेस सक्रिय भए । ओलीको विकल्प खोज्न चीन र ईयूले विपक्षलाई अकल्पनीय धनराशी सहयोग दिएको नेपाली मिडियामा व्यापक प्रचार भयो । तर पूर्वनिर्धारित योजना अनुसार यस्तो सरल तरिकाले विपक्षलाई असफल बनाइयो कि त्यो प्रचारमाथि कसैले विश्वास गरेन । आफू पनि विश्वासको मत नलिने र विपक्षलाई पनि बहुमत हुन नदिने पूर्वनिर्धारित रणनीति सफल पारी पुनश्चः ओली आफै सत्तासीन भए ।
भ्रष्टाचारका मतियार प्रतिगामी, निरंकूश, संविधान विरोधी, कानून विरोधी सबै अलंकारबाट विभूषित गरेर विपक्षले ओलीको विरोध गरेपनि ओलीको केही नबिग्रेको र उनले विपक्षीको धेरै बिगार गरेको देखिन्छ । उनलाई स्वेच्छाचारी भनेर प्रचण्डसँग मिलेर विरोध गर्ने माधव नेपाल गुट अन्ततोगत्वा ओलीसँग नै “त्वम् शरणम्” गर्न बाध्य भए ।
सधैं राजनीतिमा नयाँ तरंग ल्याउने केपी शर्मा ओली कानूनको नाकमुनी मनोवाञ्छित राजनीति गरेर कसरी सबैलाई चकित पार्न सकिन्छ, त्यो कला केपी शर्मा ओलीसँग मात्र छ । कसरी कसलाई निस्तेज पार्ने ओलीको चातुर्य चलनचल्तीको राजनीतिमा अनुकरणीय छ । केपी शर्मा ओलीले फेरि नयाँ के राजनीति ल्याउने हुन् प्रतिक्षा गरौं ।
(२०७८साल ज्येष्ठ ७ गते मधेशवाणीमा प्रकाशित)
