सन् १९४७ मा भारत आजाद भइसकेपछि नेपालमा पनि स्वतन्त्रता आन्दोलन उत्कर्षमा आउन खोजिरहेको थियो । राणा शासनको निरंकुशतालाई नेपाली जनताले चुनौती दिन विरोधका कार्यक्रमहरू निरन्तर भइरहेका थिए । भारतसँग मधेशको खुला सिमाना रहेको कारण आन्दोलनकारीहरूका लागि भारत भूमि सुरक्षित स्थान भएकोले पनि मधेश आन्दोलनको केन्द्र–विन्दु बनेको थियो । राणा शासन विरूद्ध लामो समयदेखि मधेशमा राजनीतिक चेतनाको अभ्यास भएकोले नेतृत्वको विकास र संगठित आन्दोलनको पृष्ठभूमि तयार भइसकेको थियो । विराटनगरको मजदुर आन्दोलन ः– ४ मार्च १९४९ (वि.सं. २००६ चैत) विराटनगर जुट मिल तथा मोरङ कटन मिलमा रहेका मजदूरहरू दास र गुलाम जस्तै न्यूनतम पारिश्रमिक समयमा उपलब्ध हुन नसक्ने, असिमित श्रम शोषणमा बाँच्न बाध्य हुनु पर्ने, आफ्नो स्वतन्त्र अस्तित्व नभई मालिकको इसारामा बाँच्नु पर्ने पीडाले मजदूरहरू पीडित थिए । आफ्नो मौलिक हक अधिकारका लागि राजनीतिक रूपले सचेत भइरहेका मजदूरहरू अन्ततः आफ्ना मागहरू (१) दिइने पारिश्रमिक समयानुसार उचित नरहेकाले ४०% वृद्धि गर्नुपर्ने (२) प्रतिवर्ष पारिश्रमिक वृद्धि गर्नुपर्ने (३) विरामी भएका मजदूरहरूलाई प्रतिवर्ष १५ दिनको सवैतनिक विरामी विदा दिनुपर्ने (४) जुट मिल अस्पतालमा बोर्डको व्यवस्था आदि मागहरूका साथ दुवै मालिक मजदूरहरूले सरकारका विरूद्ध आन्दोलन थाले ।
यो आन्दोलनलाई वी.पी. कोईराला, जी.पी. कोईराला, मनमोहन अधिकारी, नैनाबहादुर बोहरा, दिनेश दुबे, मुनीलाल चौधरी, इन्द्र प्रताप सेन, पंचानन दास र पुरन सिंहले नेतृत्व गरेका थिए । यो राणा विरोधी ऐतिहासिक मजदूर आन्दोलनलाई निर्ममता पूर्वक दमन गरेको नेताहरू पक्राउ पाँच जना मजदूर शहीद भएको दर्जनौँ घाईते भई लडेको तथा मधेशी मजदूरलाई राणाका अफिसरले अश्लील गाली गर्दै “आफ्नो माग लिएर भारत सरकार कहाँ जाउ” भन्दै दमन गरेबाट यो आन्दोलन मधेशबाट संचालित रहेको बुझिन्थ्यो ।
नेतृत्व गरेको कतिपय नेताहरू पक्राउ पर्दा पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिन चैत २७–२८ गते जोगबनीमा नेपाली राष्ट्रिय कांग्रेसको बैठक बस्यो । यो बैठकले मातृका प्रसाद कोइरालालाई सभापति बनायो । २००७ बैशाख १ गतेदेखि देशभरि सत्याग्रह आन्दोलन गर्ने निर्णय पनि यो बैठकले ग¥यो ।
विराटनगरको मजदूर आन्दोलनको दमन र गोर्खाली अफिसरको मधेशी मजदूरप्रतिको भेदभाव (भारतीय भनेर गाली गरेको) प्रति रघुनाथ ठाकुरको लिखित प्रतिक्रियामा मधेशीलाई अश्लील शब्द प्रयोग न्याय माग्न इन्दिरा गान्धी नजिक जाउ भन्ने अभिव्यक्तिमा सो अफिसरलाई अपदस्थ गर्ने र मधेशको उद्योगमा मधेशी मजदूरको प्रधानता हुनुपर्ने माग राखेका थिए ।
सत्याग्रह आन्दोलन ः– २००७ साल बैशाखदेखि देशैभरि सत्याग्रह आन्दोलन संचालन गर्ने नेपाली राष्ट्रिय कांग्रेसको जोगवनीको बैठकले निर्णय गरी कार्यविभाजन समेत ग¥यो । राणा विरोधी कार्यक्रम संचालन गर्न सप्तरीको सीमापारि कुनौलीमा क्याम्प राखियो । कृष्णप्रसाद भट्टराईलाई कुनौली मोर्चाको इन्चार्ज बनाइयो ।
आन्दोलनको निरन्तरता दिन राजविराज गोश्वारा (वडाहाकिमको अड्डा) अगाडि प्रदर्शन गर्ने कार्यक्रम अनुसार गजेन्द्र प्रसाद सिंह कुशेश्वर पाठक र महेन्द्र राय सम्मिलित सो विरोध कार्यक्रम स्थलबाटै तीनै जना पक्राउ परे । तर पछि भारत सरकारको आग्रहमा रिहा पनि भए । जनकपुर मोर्चामा महेन्द्र नारायण निधी र रामाकान्त झा तैनाथ थिए भने लुम्बिनी अञ्चलको इन्चार्ज भोलानाथ शर्मा, दयाशंकर मुन्शी, एवं काशीनाथ गौतम विरोध कार्यक्रमलाई अगाडी बढाउने क्रममा गिरफ्तार भए ।
सत्याग्रह आन्दोलनको कार्यक्रममा सहभागी जनकपुरमा सरयुग चौधरी, आशीष भगत, मिश्रीलाल गुप्ता, लक्ष्मण साह, मेघ प्रसाद उपाध्याय, भिष्मजंग केशरी, दिगम्बर झा, बच्चा झा, बाल बहादुर मगर, निर्गुण यादव, भारतीय कवि नरेन्द्र देव, मटिहानीमा सरोज कोइराला, महेन्द्र नारायण निधी, नकुल बहादुर सिंह र प्रं.रामाकान्त झा लगायत धेरैको गिरफ्तारी भयो । वीरगञ्ज मोर्चाबाट नथुनी साहलगायत दर्जनौ युवाहरू गिरफ्तार भए ।
३१ जनवरी १९५० (वि.सं.२००६ माघ १६ गते) जनकपुरबाट भद्रकाली मिश्र, रामनारायण मिश्र, ज्ञानीशंकर गिरी, महावीर शर्मा, श्याम सुन्दर शर्मा, आनन्दीलाल झुनझुनवाला, राधाप्रसाद चौधरीको गिरफ्तारी भयो ।
रौतहट किसान आन्दोलन ः विं.स २००७ मंसिर १ गते (सन् १९५०, १२ नोभेम्बर) चारैतिर राणा विरोधी आन्दोलन उठिरहेको थियो । रौतहटमा पनि हजारौंको संख्यामा किसान आन्दोलन प्रस्फुष्टित भयो । सेनाको बर्बर आक्रमणमा निहत्था किसानहरूको दर्जनौंको हत्या भयो । किसान नेता शिवप्रसादको पनि हत्या भयो र सयौं किसानहरू घाइते भए ।
राणा शासनबाट मुक्त भएपनि मधेशका आन्दोलनकारीहरूलाई छानीछानी मार्ने क्रम जारी नै रह्यो । २००९ सालमा रौतहटमा अशर्फी साह, २०११ सालमा सिरहाको बहादुर सदा सोही सालमा बाराको मुगालाल महतो, २०१४ सालमा सप्तरी धनपुरीको अघोरी यादव किसान आन्दोलनका अगुवा भएकाले मारिए ।
प्रजातन्त्रको उज्यालोमा मधेशमाथि रहेको भेदभावको उत्पीडन समाप्त हुन्छ भन्ने आशामा मधेशी जनताहरू आन्दोलनमा जति शहादत्त दिएपनि उपनिवेशिक दोहन शोषणको अन्त्य , समान हैसियतको मौलिक हक बहाल हुन नसकेका कारण मुक्ति आन्दोलन अब कथित प्रजातन्त्रवादी, राजवादीतिर मोडियो । राज्य र मधेशबीचको अन्तरविरोध बारे गहिरो अध्ययन राख्ने मधेशका प्रखर अग्रणी नेता रघुनाथ ठाकुरले आन्दोलनलाई अगाडि बढाउन आफ्नै नेतृत्वमा अहिंसात्मक मधेश मुक्ति आन्दोलनको माध्यमले मधेशी जनतामा जागरण ल्याउन विभिन्न पर्चाहरू, पुस्तकहरू लेख्ने, प्रकाशित गर्ने साथै आफ्ना सहकर्मीहरूसँग मधेशमा संगठन विस्तार गर्न लाग्नुभयो । २०१५ सालमा ‘परतन्त्र मधेश और उसकी संस्कृति’ प्रकाशित गरेर मधेशीसँग भैरहेको भेदभावबारे जनचेतना फैलाउने क्रममा यिनका संगठनका कर्मठ, इमान्दार, कर्मयोगी र रघुनाथ रायलाई रूपन्देहीको एउटा गाउँमा प्रशिक्षण शिविरमा हत्या गरियो । टुक्रा टुक्रा पारी निर्मम हत्या गरी लाश फालियो भने सत्यदेवमणी त्रिपाठीलाइ नौतनवामाा गोली हानी हत्या गरियो । त्यस्तै मोरङ जिल्लाको कटहरी निवासी मधेश मुक्ति आन्दोलनका सक्रिय सदस्य तथा रघुनाथ ठाकुरको निकटतम सहकर्मी शनिश्चर चौधरीको आफ्नो पत्नीका साथ शहादत दिए ।
२०७६ माघ ३ मधेशवाणीमा प्रकाशित
