मधेशसँग चर्को अन्तर्विरोध राखेपनि नेपालको हरेक आन्दोलनमा मधेशको सक्रिय सहभागितालाई पहाडी शासकवर्गले नकार्न सकेन । मधेशको सघन बसोवास तथा पहाडी शासकवर्गको काइते भाषासँग कुनै शंका नलिई विश्वास गर्ने मधेशीहरूले शासकहरूलाई सहयोग गर्नेदेखि लिएर शहादत दिएर आन्दोलनलाई उत्कर्षमा लैजानेसम्म मधेश कहिल्यै पछि हटेन ।
भारतमा पनि ब्रिटीश उपनिवेशबाट मुक्ति पाउनका लागि आन्दोलन चलि रहेको थियो । नेपालपनि एकतन्त्री राणा शासनबाट मुक्त हुन छटपटाई रहेको थियो । दुबैतिर आन्दोलनको अपरिहार्यताले आम जनतामा चेतनाको लहर बढाई रहेको थियो । यही चेतनाले दुबैतिरका नेता, आन्दोलनकारी शक्तिबीच तादात्मय स्थापित गरेको थियो । दुई देशको सिमानाले पनि अधिकारवादी आन्दोलनको पारस्परिक सहयोगलाई छेक्न सकेको थिएन । यसको ठूलो उदाहरण वि.सं. १९९९ (सन् १९४२) मा ब्रिटीश सरकारविरूद्ध “भारत छाडौं” आन्दोलन चलाई रहेको केही भारतीय स्वतन्त्रता सेनानीहरू भागेर नेपाल प्रवेश गर्दा सप्तरी कोइलाडीका ५ विशिष्ट व्यक्तिहरू जयमंगल प्रसाद सिंह (जंगली बावु, रामराजा प्रसाद सिंहका पिता) चतुरानन्द सिंह, रामेश्वर सिंह, तारणी प्रसाद सिंह र वीर बहादुर सिंहहरूले भारतीय क्रान्तिकारीहरूको आवास, खानपानको व्यवस्था मिलाएका थिए ।
जयप्रकाश नारायणको नेतृत्वमा आएका स्वतन्त्रता सेनाहरूमा अच्युत पटबद्र्धन, बहिनी बिजया पटबद्र्धन, डा. राम मनोहर लोहिया, डा. बैजनाथ झा, बावा श्यामनन्द, ब्रजकिशोर शास्त्री र कार्तिक प्रसाद सिंह थिए । सरदार नित्यानन्द सिंहको नेतृत्वमा “आजाद दस्ता” गठन गरि कुशहा जंगलमा आम्से टे«निङ दिलाउने व्यवस्था नेपाल सरकारका बागी जामिन्दार दलबहादुर सिंहलाई सुम्पियो ।
ब्रिटीश सरकारका आज्ञापालक दलाल राणा सरकारले ती सबै स्वतन्त्रता सेनानीहरूलाई सप्तरीको कुशहाबाट पक्राउ गरी हनुमाननगर जेलमा राख्यो । भारतका क्रान्तिकारी पाहुनाहरूलाई गिरफ्तारीबाट बचाउन नसक्दा ती व्यक्तिहरू शर्मिन्दा भए । जेलबाट रिहा गराउन सबै बवुआनहरू बडा हाकीमलाई ५०,००० को प्रलोभन लिएर जाँदा उल्टै गाली बेइज्जती सहनु प¥यो । त्यसपछि नेपाली क्रन्तिकारीहरूले हनुमाननगर जेल तोड्ने निश्चय गरी वि.सं. २००० सालको अषाढ महिनामा जेल तोडेर भारतीय स्वतन्त्रता सेनानीहरू सबैलाई रिहा गरी भारत पठाइयो । कोइलाडीका रामेश्वर प्रसाद सिंह, जयमंगल प्र.सिंह र तारणी प्रसाद सिंहद्वारा गठित “संघर्ष समिति” का सयकडौं मधेशी युवाहरू सो ऐतिहासिक घट्नामा गिरफ्तार भए ।
तारणी प्र.सिंह, मीन बहादुर सिंह, शखडाको अब्दुल मियाँ, कुशहाको कृष्णबीर कामी, किशन दुसाध, शमशेरपुरको सेवक माझी, दल बहादुर सिंहको पोतीहा कारिन्दा रामजी सिंह, शभुहन प्रसाद सिंह, रामेश्वर प्रसाद सिंह, चतुरानन्द प्रसाद सिंह, जयमंगल प्रसाद सिंह, मीन बहादुर सिंह, विन्देश्वरी प्रसाद सिंह, अखण्ड नारायण सिंह, रामदत्त कोईराला, जे.सी. समर बहादुर प्रजापति, कामानन्द मिश्र, नेबु मण्डल, विष्णुध्वज श्रेष्ठ, बैजनाथ उपाध्याय, आनन्दी प्रसाद सिंह, चन्द्रनारायण सिंह, देवनारायण सिंह, आदि सबै १५० जना जति गिरफ्तार भए । सन् १९४४ वि.सं. २००१ मा सबै महात्मा गान्धीको अनुरोधमा सबै रिहा भए । अब्दुल मियाँ, कृष्णवीर कामी र नेबु मण्डल जेलमा मारिए ।
भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली जनता तथा नेपालका स्वतन्त्रता आन्दोलनमा भारतको जनताको सहयोग भई नै रह्यो । नेपालका क्रन्तिकारीहरू प्रतिवन्धित अवस्थामा भारतमा नै शरण लिएर क्रन्तिकारी गतिविधी संचालन गर्थे । दुबैतिरको स्वतन्त्रता आन्दोलनले मधेशी जनतामा राजनीतिक चेतना बढेर आयो । यसरी आफ्नो अधिकारप्रति आवाज उठाउने क्षमताको विकासले नै हरेक आन्दोलनको उर्बर भूमि मधेश बन्यो ।
राणाहरूको निरंकुश शासनबाट मुक्ति पाउन नेपाली जनता छटपटाई रहेको परिस्थितिले चारैतिर क्रान्तिको मशाल बाल्ने राजनीतिक चेतना फैलिसकेको थियो । भारत स्वतन्त्र भएपछि राणा सरकार धेरै कमजोर भईसकेको थियो । ब्रिटीशको कृपापात्र रहेको राणा सरकार बेसहारा भएको र भारत पनि नेपाली राजनीतिमा सक्रिय भएको अवस्थामा राणा सरकारले ३ वर्ष आफ्नै बूतामा सरकार चलाएर २००७ सालमा ढल्यो ।
राजनीतिक अधिकार, जनताको मौलिक हक, समानता, मानवाधिकारबारे जनतामा व्यापक चेतनाको विकास भएकोले अधिकारवादी आन्दोलन सशक्त भएको थियो । निरंकूशतन्त्रमा कुण्ठित रहेका मानवाधिकार र यसबाट सृजित समस्याको पीडाबाट मुक्त भई २००७ सालको उज्यालोमा आई सकेको नेपाली जनता पटक पटक शासकीय प्रवृतिको जालझेलमा परि पीडाबोध गरि नै रहे ।
राणा शासन विरूद्ध ५ मई १९३५ ( वि.सं.१९९२) मा जनकपुरमा युवाहरू पं. रामाकान्त झाको नेतृत्वमा २२ युवाहरूले पापमोचनीमा भेला भई रगतबाट हस्ताक्षर गरि “संघर्ष समिति” बनाएर शपथ लिए । ती थिए–पं. रामाकान्त झा, अनिरूद्ध प्र. सिंह, बोध प्रसाद उपाध्याय, कमलकान्त चौधरी, देवशंकर गिरी, जमुना प्रसाद सिंह, श्रीकान्त ठाकुर, बलभद्र चौधरी, बौएलाल झा, राम दुलार साह, पं. रामचन्द्र झा, राजेश्वर निधी, महंथ गोकुल गिरी, गंगेश्वर झा, गुलाब नारायण झा, कुँवर झा, रामनन्द ठाकुर, पं. सूर्यकान्त झा, यिनी भूमिगत रूपमा संघर्षमा होमिएका थिए ।
वि.सं. १९९३ मा काठमाडौंका पहिलो मधेशी पत्रकार रघुनाथ प्र. गुप्ता राणा सरकार विरूद्ध जन चेतना फैलाउने उद्देश्यले दिल्लीबाट पत्रिका प्रकाशन गरि काठमाडौंमा प्रचारप्रसार गर्थे । वि.सं. १९९३ मा विरगंज मोर्चाका युवा क्रन्तिकारी राजलाल कलवारलाई राणा सरकारले गिरफ्तार गरि ५ सालको लागि जेल चलान गरेको थियो । वि.सं. १९९५ सालमा शुक्रराज शास्त्रीद्वारा राणा सरकार विरूद्ध “नेपाली नागरिक अधिकार समिति” स्थापना गर्दा सोही समितिमा राजलाल कलवारको नाम उल्लेख छ ।
राणाविरोधी आन्दोलनमा इकाई समितिहरू नेपालमा भूभिगत तथा भारतमा सर्वत्र गठन भईरहेका थिए । देहरादूनमा रहेका नेपालीहरू, असम, गोहाटी, डिबुगढ, दार्जिलिङ आदि ठाउँमा धमाधम संघर्ष समिति गठन हुने क्रम जारी थियो । मधेशमा बृहद रूपमा युवाहरू संचालित थिए । भारत भूमि प्रयोग गरेर नेपालमा भूमिगत गतिविधी संचालन गर्न सहज भएकोले मधेशका युवाहरू बढि सक्रिय रहन्थे । भारतको सहयोग सजक उपलब्ध हुने सुविधाले संघर्षको केन्द्र मधेश नै बनेको थियो । क्रमशः
२०७६ पुस २५ मधेशवाणीमा प्रकाशित
