बलियो सरकारको कमजोर राजनीतिक धरातल

बलियो सरकारको अभावमा राजनीति सहज ढंगले गतिशील नभएर घिस्रिदै अगाडि बढेको विगतको इतिहास छ । अस्थिर सरकारको तरल अवस्थामा विकासका अवधारणाहरु अवरुद्ध हुँदै आयो । सौभाग्यले कुनै बेला बहुमतको जनादेश पाएर सरकार बने पनि लगत्तै त्यो दुर्भाग्यको शिकार भएको छ । बहुमत र अल्पमतको सरकार आफ्नो कार्यकाल पूरा गर्न नसकेर विकासको, उद्योगको अभीष्ठ पूरा हुन सकेन भन्ने बलियो कारण देखाएर सरकार संचालकहरुले क्लीन चीट पाउँदै आएका छन् । लामो समयसम्म अस्थिर सरकारको दुर्भाग्य नेपाली जनताले भोग्दै आए । हरेक सरकार जनताको अपेक्षा पूरा गर्ने दायित्वबाट बञ्चित नै रहे । फलतः जन अपेक्षा पूरा नभएको कारण ठूला ठूला द्वन्द्वहरु बेहोर्नु प¥यो ।

नेपालले पहिलो पल्ट दुईतिहाई प्राप्त बलियो सरकार पाएको छ । व्यवधानका रुपमा प्रतिपक्षको क्षीण आवाज सत्यापित हुन सक्दैन । प्रधानमन्त्री के.पी.शर्मा ओलीले मन्त्री मण्डलको सदस्यमा कर्मशील योद्धा साथीहरुलाई छनौट गरेको कुरालाई प्रशंसा गर्नु गल्ती हुँदैन । आर्थिक सहयोगका लागि कुबेरको भण्डारै ओपेन भएको छ । इच्छा छ, टीम छ, योजना छ, सहयोग छ परिस्थितिको यस्तो अनुकूलतामा विकासको अभावमा समाजमा फैलिएको बिषमतालाई हटाउन सकिएन, विकासलाई गतिशील बनाएर अवसर सिर्जना गरिएन भने घोषणा पत्रका सारा प्रतिबद्धता मिथ्या साबित हुने र एक से एक कर्मशील योद्धाहरु निकम्मा साबित हुनेमा किञ्चित शंका हुँदैन । प्रधानमन्त्रीको टीममा छनौट गरिएका सदस्यहरु दृढ इच्छाशक्ति, उच्च मनोवल, प्रगतिशील र जन उत्तरदायी भएकोले शंका गर्ने ठाउँ छैन ।

कमजोर राजनीतिक धरातलः– नेपाल दुई महाशक्ति देशबीच अवस्थित छ । चीन समृद्धि हासिल गरेर एक दशकदेखि नेपालमा हस्तक्षेपकारी चासो राखेको छ । दीर्घकालीन रणनीति अन्तर्गत चीनले नेपालको हरेक क्षेत्रमा आफ्नो प्रभाव बढाउने चासो राखेको छ । नेपाल गरिब मुलुक भएकोले सहयोगको माध्यमबाट नेपाललाई आफ्नो पकडमा लिने उद्देश्यले चीनले एसडीपी कार्यक्रम अन्तर्गत नेपालका सीमामा पर्ने १५ वटा हिमाली जिल्लालाई विकास गरि समृद्ध बनाई दिने भनेर लिएको छ । भारतको झूठो आश्वासनको भरमा नेपाल दिनानुदिन पराश्रित बन्दै गएको भनेर चीनसंग सम्बन्ध बनाउने बाध्यता रहेको मान्यता राख्ने वर्तमान सरकार विकास सहयोग लिएर चीनसंग एकतर्फी सम्बन्ध बनाएकोले नेपाली राजनीतिमा असन्तुलन बढेको बुद्धिजीविहरुको आकलन छ ।

हिमाली जिल्ला तथा केन्द्र सरकार चीनको प्रभावमा गई सकेकोले मधेश अहिले चीनको टारगेटमा परेको छ । मधेश भारतको विश्वसनीय आधारक्षेत्र रहेको मान्यता राख्ने चीन मधेशमा उद्योग धंधाहरुको माध्यमबाट विकास गरि आफ्नो धरातलीय प्रभाव बनाउन खोजेको छ । मधेशमा एमालेको प्रभाव पनि न्यून रहेको निर्वाचनको नतिजाले देखाई सकेको छ । मधेशको सर्वांगीण विकास एमाले सरकारको माध्यमबाट भयो भने मधेशमा एमालेको प्रभाव बढ्दै गएपछि मधेशको पार्टीको लोकप्रियता त्यसै पनि घटेर जाने एमालेको रणनीति हो । मधेशको विकास नै सरकारको प्राथमिकतामा रहेकोले त्यहाँ नियतको कुरा उठ्दैन । यसरी हिमाल पहाड र मधेशलाई आफ्नो पकडमा लिने चीन पाश्र्वमा तीव्र रुपले सक्रिय छ भने सतहमा विकासका विशाल आकृति देखिएको छ जसको नेपाल कहिल्यै कल्पना गर्न सक्दैन । पहिलो पल्ट जुरेको विकासका यस्ता अवसरहरु प्राप्त गर्नु मुर्खता कसैले भन्न पनि सक्दैन ।

श्रीलंका जस्तै अनुदान र ऋणभारले गुलाम बनाए जस्तै नेपाललाई पनि विकासको नाममा चीनले आफ्नो अनुयायी बनाएको हो । भर्खरै पनि चैत १ गते ५० अरबको अनुदान सहयोग दिनेबारे अर्थ सचिव र चीनको राजदूतबीच सम्झौता भएको हो । भारतले यति धेरै मात्रामा सहयोग गर्न सक्दैन भन्ने सोचले नेपाल चीनतिर आकर्षित भएको हो । भारतसंग एकपक्षीय सम्बन्धको उदासीनता तथा हेपिएको भनेर सोझै चीनसंग अप्राकृतिक सम्बन्ध बनाउनु प्रतिक्रियात्मक व्यवहारबाहेक अरु केही होईन । यसबाट भारत नेपालको सम्बन्धमा आउने असन्तुलनको जवाफदेहिता पनि नेपालसंगै रहने भएकोले यसको दबाव निश्चय पनि सरकार समक्ष अवरोधको रुपमा आउने कुरामा शंका छैन ।

समृद्ध शक्तिशाली राष्ट्रको रुपमा विकसित भएको चीन अब आफ्नो क्षेत्रफलभित्र अटाउन सकि रहेको छैन । ठाउँ खोज्दै संसारभरि विचरण गर्ने उसको बाध्यता हो । यसै क्रममा नेपाललाई आफ्नो प्रभावमा ल्याउन खोजेको हो । भारतसंग चीनको मैत्रीपूर्ण वैरभाव रहेको नेपालको सन्दर्भमा स्पष्ट देखिएको छ । भारतमा मोदी सरकारको उदयदेखि नेपाली राजनीतिमा चीनको पकड तीव्र रुपमा बढेको छ । आफ्नो फायदा मात्र देखेर चीनसंग प्रगाढ सम्बन्ध बनाउने नेपाललाई चीन र भारतको राजनीतिक सन्तुलन कायम राख्न यति सहज पनि छैन ।
नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको छ । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ । खुला सिमानाले नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । धार्मिक सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । यसैकारण कतिपय भारतीयहरुले नेपाल भारत कै हिस्सा हो भनेर भ्रमवश गल्ती पनि गरेका छन् ।

नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ । भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, वेशभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्यक्रममा समावेश गरियो । शिक्षकको अभावमा स्कूलदेखि कलेजसम्म पढाउन सक्ने शिक्षकहरु भारतबाट झिकाईए । नेपालको शिक्षामा अतुलनीय योगदान गरेका ती सयकडौं शिक्षकहरु सेवा गरेवापत नेपालको नागरिकता पनि पाए । नेपाल भारतको प्राकृतिक सम्बन्ध भनिएको यही कारणले हो ।

खुला सिमाना र भौगोलिक सुगमताले दुबै देशको अन्योन्याश्रित सम्बन्ध एकपक्षीय रुपमा रहेकोले सानो देशको हैसियतले हेपिएको र चेपिएको अनुभूति तथा अन्यान्य कारणले भारत विरोधी भावना नेपालमा तीव्र रुपमा बढ्दै गयो । तीनतिरबाट भारतले घेरेको तथा खुला सिमानाले जहाँ भातृत्व भावनालाई प्रगाढ बनाई भूपरिवेष्ठित राज्य नेपालको भारतसंग प्राकृतिक सम्बन्ध बनाएको छ सोही अनुपातमा भारतविरोधी भावना पनि नेपालमा शक्तिको रुपमा विकास भएको छ । भारत कै विरोध गरेर एमाले शक्तिशाली पार्टी बनेको हो । यसको एकपक्षीय रुपमा चीनसंग प्रगाढ सम्बन्ध रहेको छ । भारतको विरोधमा आफ्नो पहिचान बनाउन सफल एमाले भारतसंग जतिसुकै कूटनैतिक मैत्रीभावको सद्भाव प्रकट गरेतापनि चीनलाई क्रस गरेर भारतसंग मधुर सम्बन्ध बनाउन सक्दैन । मित्रता र वैरभाव व्यवहारबाटै थाहा हुन्छ । भारतीय विदेशमन्त्रीको नेपालमा आकस्मिक अवतरणलाई पचाउन नसकेर पाकिस्तानी प्रधानमन्त्रीलाई बोलाएर भारतलाई जवाफ दिनु कस्तो मैत्री सम्बन्ध हो ?

नेपालमा बाम गठबन्धनको शक्तिशाली सरकार बनेपछि भारतले पनि समर्थनमा कूटनीतिक अभिव्यक्ति नदिएको होईन । यो सरकारलाई कसैले “बाम गठबन्धन भारतले बनाएको हो” भने । कसैले “प्रधानमन्त्री के.पी.शर्मा ओली भारतीय प्रभावको मानिस भएकोले भारतसंग सहकार्य गरेर जाने” भने । तर यथार्थ भने यो होईन । नेपालका कतिपय बुद्धिजीवीहरुले पनि राजनीतिक असन्तुलनबारे लेखि सकेका छन् । राजनीतिक असन्तुलनले बिषम परिस्थितिको निर्माण गर्छ भन्ने तर्क दिएर कतिपय बुद्धिजीविहरुले एमाले सरकार सहज रुपमा अगाडि नबढ्ने सम्भावना प्रकट गरेका छन् ।

चीन र भारतलाई काखा र पाखा गर्ने नेपाल सरकारको रणनीति निश्चय पनि तीनै नेपालको हितमा छैन । भौगोलिक जटिलताका कारण चीनसंगको कूटनीतिक सम्बन्धबाहेक व्यावहारिक सम्बन्ध राख्न सकिन्न । भारतसंगको प्राकृतिक सम्बन्धलाई तनावमा राखेर नेपाल सहजताको बाटोमा हिंड्न सक्दैन । नेपालमा बढि रहेको भातिविरोधी भावना तीव्र रुपमा बढ्नुको कारण के हो यो बिषयमा भारतले पनि समीक्षा गर्न जरुरी छ । नेपाललाई हेर्ने भारतको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । आफ्नै छिमेकी देशहरु नेपाल, श्रीलंका, माल्दिभ्स, पाकिस्तान चीनको प्रभावमा जानु निश्चय पनि भारतको लागि सोचनीय बिषय हो । नेपाल भारत नछुट्याईने देशको रुपमा रहेको सम्बन्ध तनावपूर्ण हुनुमा नेपाल मात्र दोषी हुन सक्दैन । भारतले पनि आफ्नो त्रुटिलाई सच्याउनु पर्दछ । चीन सम्बन्धको अध्ययन गर्ने एक जना भारतीय विश्लेषक जयदेव राणा देले हालै अनलाईनमा नेपाल सन्दर्भमा चीनको बढ्दो प्रभाव भारतको लागि खतरा भन्ने आशयको लेख प्रकाशित गरेको छ । नेपालसंग भारतको खुला सिमाना जहाँ भाईचाराको प्रतीक थियो, अब त्यो भारतको लागि थ्रेट बनेको छ ।

नेपालको सन्दर्भमा चीनको प्रभावले भारतलाई प्रतिरक्षा पंक्तिमा पु¥याएकोले काखा पाखाको मापदण्डले नेपालमा राजनीतिक असन्तुलनलाई तीव्र रुपमा बढाएको छ । अर्को शब्दमा यहाँ चीन र भारतको शीतयुद्ध नै शुरु भएको छ । यसले नेपालको राजनीतिमा नराम्रो प्रभाव पार्न सक्दछ । अन्धराष्ट्रवादको उदय पश्चात नेपाल भारत सम्बन्धमा तनाव बढ्दै गएको हो । यो असन्तुलनले नेपालको राजनीतिक धरातल कमजोर भएको छ । यसले बलियो सरकारको भार थाम्न सक्छ कि सक्दैन । हेरौं नेपाल भारतको उज्ज्वल भविष्यको लागि भारतसंग सहकार्य गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति साँचो रुपमा आउला यसको भने प्रतीक्षा नै गर्नु पर्ला ।
२०७४ चैत ९ गते मधेशवाणीमा प्रकाशित

 

Leave a Comment

error: Content is protected !!