मधेशमा संघीय समाजवादी फोरम मधेशको उपलब्धिलाई रक्षा गर्न चुनावमा भाग लिएको छ भने राजपा नेपाल संशोधन प्रस्ताव पास नभईकन चुनावमा नजाने भनेर आन्दोलन गरि रहेको छ । आन्दोलनको तीव्रता देखेर २ नं. प्रदेशमा १४ गते आषाढमा गराईने चुनाव सारेर सरकारले असोज २ गते लगेको छ । १, ५, ७ मा निर्धारित समयमा नै चुनाव गराउने सरकारको अडान कायम छ । चुनावको लागि उम्मेदवारी नामाँकन पनि ४ गते आषाढमा सम्पन्न भई सकेको छ । संशोधन प्रस्ताव पास गराएर चुनाव गराउने अडानमा कायम रही राजपाले १ र ५ मा आन्दोलन जारि राखेको छ । मधेशको शक्ति चुनाव र आन्दोलन दुवैतिर विभाजित भएकोले मधेश शक्ति प्रदर्शनमा कमजोर देखिएको छ ।
अन्तरिम संविधानमा समावेश गरिएको मधेशको माँगलाई दलहरु नियतवश छेडछाड गर्न खोज्दा एक दशकदेखि मधेश आन्दोलनमार्फत आफनो आवाज राख्दै आएको छ । राज्य मधेशलाई अलमलाउन अनेक विधिका साजिशहरु गर्दै मधेशलाई पछाडि धकेल्दै आएको छ । मधेशले पनि आफनो अडानलाई छोडेको छैन । छोड्नु पनि हुँदैन । सहकार्य गर्दै आएका मधेशका दुवै शक्ति चुनावको घोषणासंगै अलग मात्र भएका छैनन्, पारस्परिक गाली गलौजमा उत्रेर मधेश आन्दोलनलाई कमजोर बनाएका छन् । मधेशका लागि चुनावभन्दा मुद्दा नै सर्वोपरि हो भन्ने कुरा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब तथा राजपाका अध्यक्षहरु सबैले भन्दै आएका थिए । उपेन्द्र यादबले “संविधान संशोधन बिना सरकारले चुनाव गरायो भने महाभारत हुन्छ”, “देश विखण्डनमा जान्छ”, “कुनै पनि हालतमा चुनाव हुन दिंदैनौं” आदि आदि क्रान्तिकारी नाराहरु दिंदै आई रहेका थिए ।
यतिकैमा मधेशका ६ राजनीतिक दलहरु (तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी तथा मधेशी जनअधिकार फोरम, गणतान्त्रिक) एकीकृत भई राष्ट्रिय जनता पार्टी, नेपाल बन्यो । राजपाको जन्म एउटा चमत्कार थियो । राजपाको जन्म त उपेन्द्र यादबको कल्पनाभन्दा बाहिरको विषय थियो र आन्दोलनबाट आएको आफनो पहिचान निर्विकल्प रुपमा कायम थियो । राजपाको जन्म उपेन्द्रका लागि ठूलो झट्का थियो । आफनो लोकप्रियताको बदलामा उपेन्द्र यादब भगवानसंग पनि सम्झौता गर्दैन ।
एक दशकदेखि राज्यको तिकडमी चाललाई झेल्दै, सिक्दै उपेन्द्र यादब प्रचण्डलाई पनि मात दिन सक्ने प्रपंचपूर्ण राजनीतिक खिलाडीको रुपमा पारंगत भए । जानजातीको सहयोगमा पहाडका कतिपय जिल्लाहरुमा आमसभा गर्दै, सम्मान पाउँदै लोकप्रियताको शिखर चढ्दै गयो । विदेशका जनजातीहरुले संसारका कुना काप्चामा उपेन्द्र यादबको आतिथ्यमा अनेकौं आमसभा गराएपछि उपेन्द्र यादब लोकप्रियताको सर्वोच्च शिखर चढेको आत्मरतिमा तल्लीन भएपछि उनका निर्णय जनचाहना विपरित आउन थाल्यो । बाबुराम भट्टराईसंग चुनावी तालमेल मिलाएपछि क्रान्तिकारी ब्यानरहरु सबै फ्याँकेर उपेन्द्र यादब एकाएक चुनावमा भाग लिने निर्णय ग¥यो । मधेशको उपलब्धिहरुलाई संस्थागत गर्न उनको देववाणी सार्वजनिक भयो । अन्तर्राष्ट्रिय जगतमा उनको जस्तो कसैको ख्याति नरहेको मनोगत विचारले वास्तवमा उनलाई यथार्थबाट धेरै टाढा पु¥याई दियो । आफूले भनेको मधेशले मान्नै पर्ने अन्धविश्वासका कारण मैले विगतमा चुनावबारे के के बोलें, केही ख्याल नगरि “यू टर्न” को राजनीतिबाट नै आफनो भलो हुने ठानेर उनी त्यतातिर नै लागे । त्यसपछि राज्यले बोलेको भाषा, के.पी.ओलीले बोलेको भाषासंग मेल खाने भाषाहरु क्रान्तिकारी नारामा परिलक्षित हुन थाल्यो । उपेन्द्र यादबले राजपाका सबै नेताहरुलाई चुनौती दिंदै “चुनावलाई कसैले रोक्न सक्दैन” “सरकारले गोला बारुदबाट पनि चुनाव गराउनु पर्छ” “राजपाका नेता नामर्द हुन्” आदि आदि भाषा प्रयोग गरि गाली गलौजको चलन चलाए । त्यसपछि राजपाका युवा नेताहरु पनि के कम, प्रत्युत्तरमा नासूरमाथि नै चोट गरि दिए । असह्य पीडाको प्रभावबाट मधेशका दुवै शक्ति अहिले पारस्परिक भिडन्तमा लागेका छन् ।
मधेशको अधिकारका लागि पहिचान बनाएको पार्टी आन्दोलन छोडेर बिना शर्त चुनावमा भाग लिएपछि मधेशमा नैराश्यता व्याप्त भयो । कार्यकर्ताले जय जयकार मनाएपनि मधेशको धरातलले उपेन्द्र यादबको आलोचना नै गरि रहेको छ । त्यसमा पनि मधेशको उपलब्धिलाई संस्थागत गर्ने उपेन्द्र यादबको देववाणीलाई त झनै विश्वास गरेन । सालभरिदेखि के मधेश के पहाड, संघीय समाजवादी फोरम पार्टीमा प्रवेश गर्ने क्रम तीव्र गतिमा बढेको छ । २, ४ दिन बिराएर पार्टीमा प्रवेश गर्नेको न्यूनतम संख्या २ हजार हो । पार्टीको आफनो संख्या छँदैछ । यी सब कुराबाट उत्साहित बनेका उपेन्द्र यादब पहाडमा चारो खाने चित्त भएपछि मधेश त आफनै हाँडीको माछा हो, कहाँ जान्छ भनेर चित्त बुझाएका छन् ।
बाबुराम भट्टराईलाई साथमा लिएपनि उपेन्द्र यादब अहिले एमाले, माओवादी केन्द्र सबैसंग ठाउँ अनुसार चुनावी तालमेल मिलाउन व्यस्त छन् । तीनबटै पार्टीसंग तालमेल मिलाएर चुनाव लड्नुको अर्थ उनलाई आफनो शक्तिमाथि भरोसा नभएर नै हो । साजिशपूर्ण तरिकाबाट चुनावको नाममा मधेश आन्दोलनलाई निस्तेज पार्ने सरकारको रवैयाको विरुद्ध मधेशका सबै शक्ति एकजूट हुनु पर्ने र मधेशको शक्ति प्रदर्शनबाट आफनो कुरा मान्न सरकारलाई बाध्य पार्ने विचार अब उपेन्द्र यादबको लागि बकवास नै सावित भएको छ ।
स्थानिय चुनावमा सबैले भाग लिएपछि मधेशको मुद्दा कसरी उठ्ने भन्ने विषयबारे उपेन्द्र यादबले केही भनेको छैन । फेरि प्रदेशको चुनाव हुने, देशको चुनाव हुने, मधेश चार ठाउँमा बाँडिने आदि व्यवधानमा मधेशको मुद्दा कसरी उठ्ने देववाणीमा कतै उल्लेख नभएकोले राजनीतिक धोखा त्यसै प्रष्ट हुन्छ । त्यसैले २ नं. प्रदेश आन्दोलनमा होमिएर चुनावलाई चुनौती दिएको हो । शक्ति विभाजन कै कारण १ नं. र ५ नं. प्रदेशमा सरकारको चुनावी प्रयास सफल हुनेमा शंका छैन । एकातिर एमालेमुक्त मधेशको अभियान चलि रहेको छ भने अर्कोतिर उपेन्द्र यादब एमालेसंग चुनावी तालमेल गरि रहेको छ । पार्टीका जिम्मेवार व्यक्तिहरु पार्टी छाडेर एमालेको सदस्यता लिने क्रम शुरु गरेका छन् । एमाले अध्यक्ष केपी ओली १ नंं प्रदेशमा ६४ प्रतिशतले एमाले जित्ने कुरा गरि रहँदा चुनावलाई रोक्न सक्ने ओन्दोलन पनि देखिदैन । विभाजित मानसिकताले आन्दोलनलाई त्यसै पनि कमजोर बनाएको छ । आन्दोलनको क्रममा इनरुवाका—८ का दुःखीलाल मेहताको निधन भएको छ । चुनावमा पनि अपेक्षित सफलता नभेट्ने, आन्दोलन पनि निर्णायक बन्न नसक्ने अवस्थामा मधेशको क्षतिको जिम्मेवार को हुने ? दुःखीलाल मेहताको शहादतको अर्थ के ? कसले उनलाई क्षतिपूर्ति दिने, दिलाउने ? आदि धेरै प्रश्न अनुत्तरित रहेका छन् ।
मधेशका शक्तिहरु अहिले पनि राज्य षडयन्त्रलाई बुझेका छैनन वा बुझ पचाएका छन् । आमूल परिवर्तनका लागि शुरु भएको माओवादी जनयुद्ध सम्झौतामार्फत अवतरण गरेपछि त्यति ठूलो शक्तिलाई राज्यले आफनो गुलाम बनाएर राखेको छ । त्यसको दाँजोमा मधेशको शक्ति केही पनि होईन । सेन्टीमेन्टको आन्दोलनबाट पहिचान बनाएका नेताहरु असलमा राज्यको अजेय शक्ति सामू आत्मसमर्पण नै गरेको देखिन्छ । आफनो र पार्टीको लोकप्रियता मात्रको लागि केन्द्रीत रहेको उपेन्द्र यादबको राजनीति वास्तवमा मधेशको लागि रहेन । मधेशी जनताले उनको पार्टीको लागि काम गर्नु पर्ने बाध्यात्मक परिस्थिति नै मधेशको राजनीति बनाईएको छ ।
मधेश मुद्दाको सामुन्ने चुनाव महत्वपूर्ण नभएकोले तथा स्थानिय चुनाव प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने कुरालाई केन्द्र सरकारले बलपूर्वक गराउनु कुनै साजिश तहत नै हो भनेर बुझ्नु पर्ने अवस्थामा हाँ मा हाँ मिलाएर चुनावमा भाग लिनु राज्यशक्तिको मतियार बन्नुबाहेक अरु के हुन सक्दछ । राजपाले प्रतिकूल परिस्थतिमा लिएको निर्णय र सोही अनुसार आन्दोलन संचालन गरेको प्रयास प्रशंसनीय नै हो । परिणाम जेसुकै आओस्, मधेशको अपेक्षा अनुरुप चल्नु दलहरुको दायित्व हो र राजपाले आत्महत्या वा आत्मसमर्पण नगरेको, राजनीतिक प्रतिष्ठा बचाएकोले इतिहासले राजपाका नेताहरुलाई धिक्कार्ने वा आलोचना गर्ने छैन ।
२०७४ आषाढ ९ गते मधेशवाणीमा प्रकाशित
