(६) भाषाका कारण विभेद– मधेशमा मैथिली, अवधी, भोजपुरी, थारुभाषा प्रधान रुपमा बोलिने भाषा हो । अरु पनि स्थानीय भाषाहरु छन् जो सूचीकृत छैनन् । भाषाले पनि मधेशलाई राज्यबाट अलग राख्ने काम भयो । नेपाली भाषालाई लादने कामले दुई समुदायबीच बिग्रह ल्याउने काम गर्यो । नेपाली भाषा बुझने क्षमतामा आउँदासम्म मधेशलाई राज्यले गुलाम बनाई सकेको थियो । भाषा नबुझदा सम्बन्ध बन्दैन । सम्बन्ध नबनेको अवस्थामा परायापन विद्यमान रहन्छ । न मधेशको न राज्यको भाषाले मधेशलाई राज्यसंग जोड्ने कोशिश गर्यो । एउटै देशमा दुई फरक समुदाय (मधेशी र पहाडी) शताब्दियौंसम्म मिल्न नसकेर भिन्न शैलीमा बसेका छन् । भाषाका कारण राज्यसंग आत्मीय सम्बन्ध बन्न नसकेका कारण मधेशी राज्यविहीनताको अवस्थामा बस्न बाध्य भयो । यसलाई शासकवर्गले राष्ट्रिय मूलधारमा ल्याउने प्रयास गरेन । अधिकारबाट बञ्चित मधेशी समुदायका प्रबुद्धवर्ग आफनै तरिकाको व्यवहार (गुलामी, चापलुसी) ले विस्तारै केही मधेशीहरु राज्यको संयन्त्रमा पुगे । शासकहरुले आफूलाई जनमुखी देखाउन मन्त्रि परिषदमा मधेशीहरुलाई समावेश गराउन थाले । नीतिगत त होइन, कृपा, दया र चापलुसीको भरमा मधेशीहरु एक दुई गरि राजधानीमा देखिन थालियो । यसरी राजधानीमा पदासीन हुन आएका मधेशीहरु मधेशमा देउता सरह पूज्य हुन्थ्यो । यो क्रम चल्न थाल्यो तर नीतिगत रुपमा मधेशलाई अधिकार सम्पन्न गर्ने कुनै राजनीतिक दलहरु अगाडि आएन । भाषाले ठूलो अन्तर्विरोधको जन्म दियो । अरु कारणहरु जस्तै यो कारण पनि मधेशलाई ठेल्ने काम गर्यो । मधेशमा सम्पर्क भाषाको रुपमा विकसित भई रहेको हिन्दी भाषाका कारण पनि मधेशीलाई भारतीय बुझ्ने चलन शुरु भयो । मैथिली भाषीले अवधी वा भोजपुरी भाषीसंग कुरा गर्दा मुखबाट स्वतः निस्किने हिन्दी भाषा स्वाभाविक रुपमा सम्पर्क भाषाको रुपमा प्रयोग भई रहेको छ । ०३० सालभन्दा पूर्व नेपाली पाठ्यक्रममा स्वीकृत हिन्दी भाषा पछिल्ला दिनमा नेपाली पाठ्यक्रमबाट हटाइयो । तर पनि हिन्दी भाषाको प्रयोगमा कुनै कमी आएन । नेपाली भाषाभाषी पनि मधेशका मानिससंग कुरा गर्दा हिन्दी भाषाको प्रयोग गर्दथ्यो । मधेशको जन जीवनमा हिन्दी भाषा स्थापित रहेकोले यसको विस्थापन सम्भव छैन । एउटा लामो समयसम्म राज्यमा हिन्दी भाषाको अभ्यास भई सकेपछि यसलाई बलपूर्वक हटाइयो । नेपालको आधी जनसंख्याबाट स्वीकृत यो भाषा नेपाली भाषाभाषीको मुखबाट विस्थापित भए पनि नेपालको भूमिबाट यसको विस्थापन असम्भव भएको छ । नेपाली भाषाभाषीको पनि रुचिको बिषय बनी सकेको हिन्दी भाषालाई धपाउन जतिसुकै प्रतिबन्धात्मक कानून बनोस् वा साम्प्रदायिक दङ्गा गराइयोस, हिन्दीभाषा जन जनमा रहि रहने यथार्थ स्वीकार्नै पर्छ । हिन्दी भाषा भारतको भाषा भएकोले नेपालमा प्रयोग गर्ने मधेशीलाई विदेशी नागरिक झैं विभेद गर्न थालियो र यो विभेद संस्थागत रुप लियो । धेरै विभेदहरु यहाँ संस्थागत रुपले गरिएको छ । यसलाई हटाउन जतिसुकै कानून बने पनि गहिरोसम्म जमेको जरालाई उखेल्न त्यति सजिलो छैन ।
(७) पहिरनबाट विभेद– धोती कुर्ता मधेशीको परम्परागत पहिरन रहेकोले नेपाली भाषी खसहरुले यसलाई पनि विभेदको कारण बनायो । मधेशीको पहिरनबाट यति घृणा गरियो कि मधेशीलाई धोती भन्न थालियो । सबै मधेशीको खस समुदायमा धोतीको नामले पहिचान कायम भयो । धोती भने पछि मधेशीलाई बुझ्ने चलन कायम भयो । संसारमा सभ्य र लोकतान्त्रिक शक्तिको रुपमा चिनाएका खस समुदायको दैनिक शब्दकोषमा “धोती भनेको मधेशी” कायम छ । असभ्यहरुले धोती प्रयोग गर्दा सभ्यहरुले मधेशीतिर हेर्न लाग्ने चलन कडाई का साथ लागू छ । नागरिकको मौलिक हकको महलमा कसैलाई जात, रंग, वर्ण, पहिरन, पछौटेपन, गरिब, महिला, असहाय, अछूतको आधारमा विभेद गरिने छैन । यस्तो गर्नेलाई बात लाग्ने समसामयिक रुपमा अनेकौं कानून बने पनि विभेदले गहिरो जरा गाडि सकेको छ । खसको आफनो धार्मिक संस्कारमा धोती लगाएर कर्म गर्ने प्रचलन अहिले पनि कायम छ । यिनी पनि धोती नै थिए । आफनो मौलिकता बचाउन नसक्ने यो जात समयसंगै परिवर्तन हुँदै पहिरन पनि बदल्दै गएको छ । परिवर्तित परिवेशमा आफूले मौलिकता गुमाएर अरुको पहिरनलाई हेला गरि विभेद गर्ने यो खसजातिलाई आफैले बनाएको कानूनले छुँदैन । शासकले बनाएको कानून अरुको लागि हुन्छ, आफनो लागि होइन । त्यसैले त नागरिकको मौलिक हकबारे जतिसुकै कानूनी परिभाषा गरिए पनि पहाड सरिको विभेद कायम छ । यो विभेदको विरुद्ध प्रति १० वर्षमा उठ्ने आन्दोलनहरु यसका उदाहरण हुन् । व्यक्तिगत रुपमा कोई सभ्य भएर केही हुँदैन । खस वर्चस्वको यो राज्यसत्ता अहिलेसम्म असभ्य नै छ । मधेशप्रति सहिष्णु नबनेर विभेद कायम राख्नु यसको असभ्यताको ठूलो प्रमाण हो ।
(८) मधेशी भएकोले विभेद– मधेशी न कहींबाट आएको न कहीं गएको, अविचल रुपमा आफनो भूमिमा प्राचीनकालदेखि वसोवास गरि संसारलाई आफनो संस्कृतिको पहिचान दिएको छ । संसारमा प्रसिद्ध गौतम बुद्ध, सीता, राजा जनक, याज्ञवल्क्य आदि महापुरुष मधेशमा नै जन्मेका हुन् । गौतम बुद्ध नेपालमा जन्मेको गौरव दिलाउने मधेश नै हो । गौतम बुद्ध जन्मेको देश नेपाल हो भनेर संसारले चिनेको छ । हामी पनि गौतम बुद्ध जन्मेको देशको नागरिक भनेर गौरवान्वित हुन्छौं । यी सबै विभूति मधेशले दिएको गौरव पाउनु पर्दथ्यो । तर त्यसो भएन । गोपालवंशी, महिषपालवंशी, किराँत, लिच्छवी, मल्ल, शाहवंश र गोर्खाली (खस) सबैका उद्गम स्थल भारत नै हो । विभिन्न कारण्वश विस्थापित भई नेपएथ्ग्त्च्ल्न्लल आएर आफनो रणकौशलद्वारा नेपालका राजा बनेर शासन गरे । तर मधेशी यिनीहरुको शासनकालभन्दा पूर्व शताब्दियौंदेखि आफनो भूमिमा विद्यमान रहेको कुरा इतिहासले देखाएको छ । ब्रिटीश सरकारको दलाली गर्दै मेचीदेखि महाकाली सम्मका केही समथर भूभाग विभिन्न कालखण्डमा रोयल्टी तिरेर लिएदेखि यो भूभागको वासिन्दालाई भारतीय भन्दै आई रहेको छ । पूर्वजले भारतीय भनेर मधेशीको पहिचान कायम गरेदेखि सन्तान दर सन्तान मधेशी नेपाली नागरिकता पाएपनि नेपाली नागरिक बन्न सकेको छैन । उनीसंग विदेशी सरहको व्यवहार गर्नु भनी थालिएको चलनमा भने कुनै परिवर्तन भएको छैन । व्यक्तिले मधेशीलाई स्वीकारे पनि नेपाली राज्यसत्ता आफनो नागरिकको रुपमा स्वीकार गरेको छैन । मधेशीको नाममा नाक खुम्च्याउने प्रचलन धार्मिक संस्कार जस्तै स्थायित्व पाई सकेको छ । खसवर्ग मात्र खाँटी नेपाली रहेको मान्यता स्थापित गरेर मधेशीलाई परम्परागत रुपले विदेशी सम्झिने, आसाम, नागाल्याण्ड, सिक्किम, भूटान आदिका विदेशी नेपाली भाषाभाषीलाई आफनो नागरिक बुझ्ने खसवर्गको आफनै विशेषता छ ।
पश्चिम बंगालका नेपाली भाषाभाषीहरु आफनो छुट्टै प्रान्त गोर्खाल्याण्ड लिनका लागि आन्दोलन उठाउँदा काठमाण्डौंका नेपाली भाषाीहरु उसको समर्थनमा पत्रपत्रिकादेखि सडकसम्म तताउने गर्दछन् । भारतको संघीय शासन प्रणालीमा पनि नेपाली भाषाभाषीहरुको अधिकार कुण्ठित भयो भनेर नेपाली भाषाभाषीहरुले आफनो राज्य खोजेको हो । वैदेशिक कूटनीतिक मर्यादालाई पनि बिर्सेर काठमाण्डौंवासीले त्यस्को समर्थनमा सामानान्तर आन्दोलन गर्न पछि पर्दैन, तर राज्यविहीनताको अवस्थामा राखिएको मधेशीले आफनो अधिकारको सुनिश्चितताका लागि संघीय राज्य माँग गर्दा भारतीय, विखण्डनकारी, नेपाली राष्ट्रियता नभएको विदेशी, धोती आदि अपमानजनक संज्ञाबाट सम्बोधन गरिन्छ । अधिकारका लागि उठेको मधेश आन्दोलनलाई “भारतको इशारामा संचालित” भनेर यहाँका पत्रपत्रिकाहरु लेख्दै रह्यो । भारतलाई तथानाम गाली गरेर यो आन्दोलनलाई मात्र होइन, आन्दोलनबाट स्थापित संविधान सभा समेतलाई अर्थहीन बनाएर अन्त गर्यो । नेपालमा संविधान सभाको समाप्ति पछि पनि राजनीतिक गतिरोध कायम रह्नुको पछाडि मधेशीले माँग गरेको संघीयता नै मुख्य कारण हो । मधेशीको संघीयताप्रतिको दृढ अडान र राज्य कुनै पनि शर्तमा दिन नचाहेको हठले नेपालमा गतिरोधलाई बढाएको छ । संघीयताबाट खसवर्गको राज्यमाथिको एकाधिकार नै समाप्त हुने डरले संघीयतालाई साजिशको शिकार बनाइएको हो ।
गोर्खाल्याण्डलाई जातीयको आधारमा प्रान्त लिने आन्दोलनकारीको अडानमा समर्थन जनाउने यहाँका नेपाली भाषाभाषीहरु आफनो देशमा एकल जातीय पहिचानको विरुद्ध एकल जाती (बाहुन र क्षेत्री) ले आन्दोलन नै चलाए । आफनो देशमा संघीयताको लागि उठेको आवाजको विरुद्धमा पूर्ण संगठित रुपमा खसवर्ग आन्दोलनकै अवस्थामा रहेकोले अरु देशका नेपाली भाषाभाषीले प्रान्तबारेको माँगलाई समर्थन गर्नु कुन नैतिकताको प्रदर्शन हो । खसवर्गको यो बहुरुपियापनलाई संसारले मात्र होइन, भारतले पनि राम्ररी बुझि रहेको छ । आफनै देशमा मधेशीलाई अधिकारबाट बञ्चित राख्ने र अर्को देशमा रहेका नेपालीभाषीका लागि ज्यान अर्पण गर्नेहरु विधि विधान र मानवाधिकारको खिल्ली उडाएको कुराले मधेशीलाई थप आक्रोशित नै बनाएको छ ।
राज्यविहीन विदेशी सरह बाँची रहेका मधेशीहरुलाई शताब्दियौंसम्म चाकडी, चापलुसी गर्न बाध्य पारि दास, गुलामको रुपमा मात्र स्वीकार गर्ने नेपाली राज्यसत्ता मधेश आन्दोलन पश्चात् मधेशीलाई हेर्ने दृष्टिकोण झन् घृणात्मक भएको छ । बाह्य रुपमा जतिसुकै सभ्यता प्रदर्शन गरे पनि आन्तरिक रुपमा उत्तिनै घृणा राखेकाले सम्बन्ध सुध्रिने कुनै अवस्था देखिदैन । मधेशीलाई अपमानजनक सम्बोधन गर्दा काखका बच्चाले पनि यिनी घृणित जात हुन भनेर आफना आमा बाबुसंगै सिकेर पिढी दर पिढी यो घृणा सारिदै जाने खस संस्कृतिले मधेशी र पहाडीबीच सामन्जस्यता कायम हुनै दिदैन । साधनस्रोत सम्पन्न मधेशीले आफनो छुट्टै प्रान्त माँगेदेखि आफनो अस्त्त्विनै खतरामा पर्न जाने भयले विधी विधान मिचेर भएपनि संघीयतालाई देशबाटै धपाउनु पर्छ भनेर पूरैवर्ग संगठित भएर उत्रेको छ । यसबाट एउटा कुरा के प्रष्ट हुन्छ भने मधेशीप्रतिको भेदभाव कम पनि हुँदैन, संघीयता पनि दिदैन । त्यसकारण चाकडी र चापलुसी छाडेर आफनो अधिकार लिन मधेशी फेरि पनि आन्दोलनको माध्यमलाई स्वीकार्नुबाहेक अर्को अब कुनै उपाय पनि छैन ।
(९) संघर्ष गर्ने विचारका कारण विभेद– २००७ सालदेखि देशमा उठेका हरेक आन्दोलनमा मधेशको अग्रणी भूमिका रहेको स्पष्ट छ । तथाकथित प्रजातान्त्रिक आन्दोलनमा मधेशको योगदान उच्च स्थान ओगटेको छ । यी आन्दोलनहरुमा मधेशले दिएको शहादत कसैभन्दा कम छैन । कम्युनिष्ट आन्दोलन होस् अथवा प्रजातान्त्रिक आन्दोलन मधेशले इमान्दारीसाथ सहभागी भई बलिदान दियो । सधैं राज्यविहीन अवस्थामा बस्नु पर्दा र राज्यद्वारा शताब्दियौंदेखिको अमानवीय शोषणको पीडाबाट मुक्ति पाउन प्रजातान्त्रिक आन्दोलन र साम्यवादी आन्दोलनलाई जीउ ज्यानबाट सघाउँदै आउँदा पनि मधेशीहरुको समस्या समाधान हुन सकेन । यति लामो समयमा मधेशको समस्यालाई न राजतन्त्र, न प्रजातन्त्र, न कम्युनिष्टहरुले समाधान गर्नेतिर गम्भीर देखिए । उसको जीवनशैलीमा कुनै परिवर्तन देखिएन । फलतः खसवर्गप्रतिको अविश्वास बढ्दै गयो ।
राष्ट्रिय आन्दोलनमा आफनो रगत पसीना अर्पण गरेपनि मधेशप्रति सबैको विभेद यथावत् रहेको कारणलाई मधेश गम्भीरतापूर्वक अध्ययन गर्यो । यहाँ खस वर्चस्वको राज्यसत्तालाई नबिगारि यसलाई संचालन गर्ने सरकार प्राप्तिका लागि मात्र आन्दोलन गरेको देखियो । सर्वहारा मुक्तिका लागि कम्युनिष्ट आन्दोलनको नाममा, समाजवाद ल्याउन प्रजातान्त्रिक आन्दोलनको नाममा खस वर्चस्वका सबै राजनीतिक दलहरु आफू सरकार प्राप्त गर्न जनतालाई झुक्याए । सत्तापक्ष र प्रतिपक्ष दुबै क्षेत्र खसहरुकै एकाधिकारमा रहेकोले यिनीहरुको कब्जाबाट जनतालाई अन्यत्र जाने बाटो पनि थिएन । जनतालाई आकर्षित गर्ने उद्देश्यहरु समेटेर गरिएका आन्दोलनको उपलब्धि नेतृत्वसम्म मात्र सिमित रह्यो । सरकार प्राप्त गरि सकेपछि जनताका कुरा पछि पार्दै खस नेतृत्वका कम्युनिष्ट र काँग्रेस पार्टीहरु सरकार प्राप्त गरि रमाए । राज्यसत्तामा जनताका कुरा गर्ने यी छद्मवेशीहरु आन्दोलनमा उठेका जनताका कुराप्रति उदासीन बन्दै गए । असलमा सत्तामा जानुबाहेक यिनको कुनै एजेण्डा नै थिएन । ०४६ सालपछि कम्युनिष्ट, काँग्रेसको सरकार राजाभन्दा पनि बढी तानाशाहको रुपमा प्रस्तुत भयो । एमाले र काँग्रेसप्रति जनताको विश्वास घट्दै गयो । खासगरि मधेशले त यिनीहरुले पनि परम्परागत विभेदलाई निरन्तरता दिएको व्यवहारबाट आक्रोशित नै भयो । आफूप्रति गरिएको विश्वासघात सम्झेर मधेशको आक्रोश घृणामा रुपान्तरण भयो । एउटै वर्ग सत्ता र प्रतिपक्ष दुबै भूमिकाबाट ठग्ने साजिशको भण्डाफोर भयो । खसवर्गको यो महिमालाई मधेशले धेरै सूक्ष्मतम अध्ययन गरेर नै मधेशी यिनीहरुको पार्टी छाडेर आफनै धरातलमा संगठित हुन थाले ।
हुनत, खसवर्गले थालेका आन्दोलनलाई उत्कर्षमा लैजाने मधेशीहरुको शहादत, जोश, जाँगरबाट उनी सत्ता प्राप्त गर्न सके, तर पनि मधेशीको संघर्षबाट यिनी भयभीत पनि थिए । ०४६ साल पछि कम्युनिष्ट, काँग्रेसको व्यवहारले मधेशीलाई आफनो अधिकारको लागि आफनै धरातलमा संगठित हुन बाध्य गर्यो । विभिन्न प्रकारका खसहरुलाई सत्तामा पुर्याउने मधेशीहरु ०६३ सालमा आफै भीषण आन्दोलन गरे । मधेशको संघर्षको विभत्स रुप खस राज्यसत्तातिर केन्द्रित रहेबाट सबैप्रकारका खसहरु एकजूट भई मधेशको प्रतिकार गर्न उत्रेका छन् । गुलाम मधेश क्रान्तिकारी बनेको कारणबाट यो विभेद झन् बढेर स्थायित्व ग्रहण गरेको छ ।
२०७० भाद्र १४ गते मधेशवाणीमा प्रकाशित
