नेपाली राजनीतिमा भारतको प्रत्यक्ष संलग्नता आदिकालदेखि नै रहि आएको छ । दुबै देश बीचको स्वाभाविक र प्राकृतिक सम्बन्ध राजनीतिक सम्बन्ध कायम हुनुभन्दा धेरै पुरानो कालदेखि रहि आएको इतिहासले देखाएको छ । नेपालको नक्शा बिना भारतको नक्शा बनेको देखिएको छैन । भारतको नक्शा हेर्दा अरु कुनै देश देखिदैन, नेपाल प्रष्ट रुपमा नक्शाको काँधमा बसेको देखिन्छ । नेपाल अस्तित्वकालदेखि राजनीतिक रुपले स्वतन्त्र राष्ट्रको रुपमा रहेपनि दुबै देशको धर्म संस्कृतिको समानताले सम्बन्ध स्वाभाविक रुपले प्रगाढ बन्न गएको हो । नेपालको उत्तरी गगनचुम्बी हिमाली चुचुराले चीनसंग प्रत्यक्ष सम्बन्ध हुन दिएन । भारतसंगको प्राकृतिक सम्बन्धकै कारण नेपालको हरेक क्षेत्रमा भारतको प्रभाव र दबदबा रहेको प्रष्ट अनुमान गर्न सकिन्छ । यहाँको राजनैतिक वृतमा बौद्धिकवर्गमा पनि अनन्तकाल सम्मकालागि एउटा सोच जरा गाडेको छ– “भारतको समर्थन बिना नेपालको राजनीति चल्न सक्दैन ।” प्राचीनकालदेखि नेपालले बाध्यता वा स्वाभाविक रुपले भारतमुखी राजनीति गर्दै आएको कारणले होला विद्वतवर्गमा पनि पराश्रित राजनीतिक संस्कृतिको विकास भयो । धेरै हदसम्म यो सत्य पनि हो । भारतलाई नसोधी गरिएको राजनीतिमा धेरैले आफ्नो अस्तित्व गुमाई सकेको यथार्थता पनि हाम्रै सामु छ ।
हाम्रो विकट भौगोलिक अवस्था र तीनतिरबाट भारतको सिमाना जोडिएको परिस्थितिले पनि हामीलाई आर्थिक र राजनीतिक रुपले भारतमुखी बनायो । मौलिकताको खोजी पनि हामीले परमुखापेक्षी राजनीतिको माध्यमले नै गर्यौं । परनिर्भरताको संस्कारले हाम्रो स्वाभिमान, हाम्रो मौलिकता, हाम्रो राष्ट्रियता परोक्ष रुपमा बन्धक रहेको हामीले अनुमान पनि गर्न सकेको छैनौं । परजीवी लता कहिले पनि आफनो बलबूतामा उभिन सक्दैन । यो लता झैं हाम्रो इच्छाशक्ति पनि कमजोर भएको अवस्थाले गर्दा नवनिर्माणको दिशामा अग्रसर हुन डराई रहेको अवस्था छ । नेपालमा अस्तित्वमा रहेका पुराना शक्ति तथा नवोदित शक्तिहरु जो आएपनि राजनीतिक रुपले पराश्रित हुनु पर्ने बाध्यात्मक अवस्थाले गर्दा नै अहिले राजनीति धरातलीय यथार्थबाट टाढिएको छ ।
केही वर्ष यता चीनको प्रभाव नेपालमा बढदै गएको अवस्थामा भारतको सजगता बढेको छ । अब शक्ति सन्तुलन गर्न नेपाल मामिलामा धेरै दक्ष जनशक्ति संलग्न छन् । चीन आर्थिक सहयोग लिएर नेपालका विभिन्न क्षेत्रलाई आफनो प्रभावमा पार्दै आउँदा भारतको सनातनी सोचलाई धेरै प्रभावित गरेको छ । चीनले नेपालको ध्यान आफूतिर आकृष्ट गर्न खोजी रहेको छ । धेरै हदसम्म चीनले नेपाली बजारमा आफनो बर्चस्व कायम गरि सकेको छ । शिक्षा, स्वास्थ्य, कृषि, विद्युतगृह, सडक, वैकल्पिक ऊर्जा, गरिबी निबारण, उद्योग आदि क्षेत्रमा ठूलो लगानी गरि नेपाललाई सहयोग गर्ने चीनको रणनीति नहोला जस्तो लाग्दैन । सन् २०१०–२०११ मा ए. ने.क.पा. माओवादी भारतीय राजदूतसंग खेलेको जुहारी यसै श्रृँखलाभित्रको परिणाम थियो । आफनो देशलाई आर्थिक समृद्धिको दिशामा उत्पादन क्षमता बढाउन तल्लीन चीनले दशकौं संसारमा घटी रहेको घटनाप्रति कुनै चासो नराखी आफनै देशमा ध्यान केन्द्रित गर्यो । सम्पन्नता प्राप्त गरि सके पछि नेपालबाट बजार खोज्दै शुरु गरेको चीन भारत लगायत संसारका धेरै देशमा आफनो बजार स्थापित गरि सकेको छ । नेपाल गरिब तथा छिमेकी मुलुक रहेकोले चीनले सस्तो दरमा खाद्यान्न देखि लिएर तरकारी, फलफूल, कपडा, इलेक्ट्रोनिक सामान लगायत औद्योगिक उत्पादनका सबै बस्तु उपलब्ध गराएको छ । करोडौंको संख्यामा रहेको नेपाली उपभोक्तालाई आफनो उत्पादनको प्रभावमा आकर्षित गरि भारतको उत्पादित वस्तुलाई विस्थापित गरि दिएको छ । भारतको उत्पादित धेरै वस्तु चीनको वस्तुभन्दा मँहगो भएकोले नेपाली बजारबाट विस्थापित हुनु स्वाभाविक हो । यसरी सामान बेच्न आएको चीनको प्रभाव विस्तार हुँदै ठूलो पैमानाको विकासका कार्यक्रममा लगानी गरि नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव बढायो । नेपालको कतिपय क्षेत्रमा ठूलो आर्थिक सहयोगको निरन्तरताले तत्कालीन भारतीय राजदूत चिढिएको र माओवादी सरकारले राष्ट्रिय स्वाभिमानको नारा उचालेर भारतको प्रत्यक्ष विरोध गरेको थियो । सोही समयमा कूटनीतिक मर्यादाको उल्लंघन गरि भारतीय राजदूतको मान मर्दन पनि गरियो जो बिलकुलै अशोभनीय थियो । नेपालमा चीनको बढ्दो प्रभाव र भारतको शक्ति खुम्चिदै जानुको यो भन्दा ठूलो अर्को प्रमाण के हुन सक्दछ ? वैकल्पिक ठूलो शक्तिको प्रत्यक्ष प्रभाव प्राप्त गरेपछि परम्परागत रुपमा कायम भारत जस्तो मित्र शक्तिको प्रभाव नेपालमा घट्नु स्वाभाविक हो । नेपालमा भारतको प्रभाव घट्नुको कारक तत्व मध्ये नेपालको राजनीतिमा भारतको अस्पष्ट दृष्टिकोण रहनु पनि प्रमुख तत्व हो । नेपालको राजनीतिलाई सहज दिशातिर डोर्याउनमा सहयोग गर्नुभन्दा राजनीतिलाई असहज, दूषित तथा कलहपूर्ण बनाउनमा बढी सहयोग रहेको विगतको परिस्थितिले देखाएको छ । नेपालमा विद्यमान राजनीतिक गतिरोध पनि त्यही श्रृँखलाको एउटा कडी हो ।
नेपालमा चीनको उपस्थितिले नेपालप्रति भारतको परम्परागत दृष्टिकोणमा परिवर्तन गर्न परिस्थितिले स्पष्ट देखाएको छ । हाल तटस्थ र संयमित रही “सी एण्ड वाच” को रणनीतिमा रहेको भारत यदि गम्भीरतापूर्वक नेपालको राजनीतिलाई अध्ययन गरि स्पष्ट दृष्टिकोणका साथ नेपालको धरातलीय समस्याको समाधानमा मैत्रीपूर्ण भूमिकामा प्रस्तुत हुन्छ भने माओवादीलाई मूलधारमा ल्याएर कमाएको राजनीतिक प्रतिष्ठा जस्तै पुनश्च ठूलो सम्मान आर्जन गर्न सक्दछ । होइन भने प्रभावहीन कूटनैतिक सम्बन्धमा सीमित भएर बस्न बाध्य हुनेछ । नेपाल मामिला हेर्ने दक्ष भारतीय कूटनीतिज्ञ विज्ञहरुको नेपालको संक्रमण कालका तरल तथा अन्योलग्रस्त राजनीतिमा कस्तो सार्थक भूमिका हुने भन्ने चासोको बिषय बनेको छ ।
अहिले नेपाल दुई छिमेकी मुलुकको प्रत्यक्ष प्रभाव भोगि रहेको अवस्था र त्यसबाट उत्पन्न राजनैतिक गतिरोधमा पश्चिमा मुलुक पनि प्रभाव पार्न पछि परेका छैनन् । दुई मुलुकभन्दा बढी आकर्षित पार्ने उद्देश्यले सहयोगको नाममा पश्चिमा मुलुकले नेपालमा आफनो बलियो उपस्थिति देखाएको छ । बलियो आर्थिक सहयोग र धर्मको नाममा २० वर्षदेखि कार्यरत पश्चिमा मुलुकको नेपालको राजनीतिमा बलियो पकड रहेको छ । हिन्दु राज्य नेपाल धर्म निरपेक्षतामा रुपान्तरण हुनु पश्चिमा प्रभावकै परिणाम हो । धर्मकै नाममा नेपालमा आफनो बलियो पकड बनाउन सफल पश्चिमा मुलुकको चाहना यहाँ चीन र भारतभन्दा कम छैन । लामो समयदेखि अन्तर्राष्ट्रिय सहयोगको चपेटामा अभ्यासरत नेपाल शनैः शनैः क्षमता विहीन भएर परनिर्भरतातिर बढ्दै गयो । अन्तर्राष्ट्रिय विभिन्न प्रभावबाट आकर्षित नेपाली शासकहरुले आफनो मौलिकतालाई थन्काएर शासन गरे । परनिर्भरताले आफनो मौलिकता, स्वाभीमान, राष्ट्रिय अस्मितालाई कमजोर बनाउँछ भन्ने कुरा जान्दा जान्दै पनि शासकहरु वर्गीय, बंशीय वा पार्टीगत बर्चस्व कायम राख्न सधैं विदेशी शक्तिलाई सहयोगको लागि गुहारेका छन् । एकवर्ष पूर्व सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा विदेशीहरुद्वारा अवैध रुपमा जडित सोलार क्यामेराबारे नेपाल सरकारलाई जानकारी पनि छैन, न चासो नै । हालै एभी न्यूज टी.वी.ले उक्त क्यामेराको रहस्योद्घाटन गरि सरकारी निकायलाई सोधनी गर्दा कसैलाई सोबारे जानकारी नरहेको कुरा प्रकाशमा आयो । नेपालको आन्तरिक गोप्य कुरा विदेशमा पठाउने जासूसी क्यामेराको एकवर्षको सक्रियताप्रति अन्जान रहेको नेपालको सरकारी निकायको लापरवाहीलाई दास मनोवृति भन्दा अत्युक्ति नहेला ।
नेपाल अन्तर्राष्ट्रिय प्रभावको राजनैतिक क्रीडास्थल बनेको छ । विभिन्न विचारको दबाव र प्रभावका कारण देश राजनीतिक रुपले बन्दी बनाईएको छ । धरातलीय यथार्थबाट टाढा रहेका नेताहरु पराश्रित राजनीतिको माध्यमले राजनीतिक तरलता अझ बढाएर देशलाई ठूलो संकटमा धकेलेको छ । आफनो अस्तित्व जोगाई दिन विदेशी सहयोगको सधैं अपेक्षा राख्ने यो दास मनोवृतिले देशको समस्याको सहज समाधान गरि देशलाई संकटमुक्त गर्लान् भन्ने विश्वास नेपाली जनताले गुमाई सकेको छ । परिस्थितिले नै बाटो खोलला कि ?
२०६९ कार्त्तिक १७ गते मधेशवाणीमा प्रकाशित
