संविधान सभाको अवसान पछि साधन स्रोत सम्पन्न दलहरू पुनश्च राजनीतिक खेतीको शुरूवात् गर्न लागेको छ । सबैको आफ्नो पुश्तैनी व्यवसाय अनुसार दलहरूको पनि व्यवसाय निर्धारित छ । विगतको दिनमा मधेशमा राजनीतिक व्यवसायीको संख्या न्यून रहे तापनि संविधान सभाले मधेशमा धेरै मात्रामा राजनीतिक व्यवसायी जन्माउन उल्लेखनीय योगदान गरेको छ । कतिपयलाई संविधान सभाले जन्म दिएको छ भने कतिपयले समयको अनुकूलता पाएर आफै जन्मिएका छन् । आधी जनसंख्या ओगटेको मधेशलाई सम्हाल्न कठीन थियो । धेरै संख्यामा उत्पन्न पार्टीहरूले कित्ताकाट भएको मधेशमा सजिलोसंग राम्रो खेती गर्न सकिन्छ भन्ने उद्देश्यले हौसिएका छन् । साधन स्रोत सम्पन्न पार्टीहरूले शान्दार खेती गर्ने कुरामा कुनै संशय छैन । गरिब पार्टीहरूलाई पनि कुनै चिन्ता छैन । भयो भने भयो होइन भने सम्पन्न किसानको कित्तामा उभेर भएपनि फायदा लिने कुरा त छदैछ । जेहोस्, फेरि यसपाली क्षेत्रीय पार्टी तथा राष्ट्रिय पार्टीको यशोगान मधेशका जनताले मनग्गै सुन्न पाउने छन् । सबैले मधेशको मुक्तिका कुरा नै गर्ने छन् । मधेश समुद्र जस्तै सबैकुरा पचाउने क्षमता राख्दछ । संघीयता प्राप्त गर्ने कुरामा समर्थन जनाउँछ भने हालै जनकपुरमा भएको झलनाथ खनालको संघीयता नचाहने भाषण पनि सुन्छ । “राजा आऊ देश बचाऊ”भनेर राजाको स्वागत गर्दछ भने संघीय लोकतान्त्रिक गणतन्त्रको संघर्षमा शहादत पनि दिन्छ । यही विविधता बोकेको मधेशको बिशेषता हो ।
अहिले ठूला बडा पार्टीले समग्र मधेशको एउटा पार्टी हुनु पर्दछ भन्ने नारा अगाडी सारेको छ सबैलाई चकित तुल्याउने गरि । संघीयताको माँग घनीभूत रूपमा उठेपछि “हिमाल, पहाड, तराई, कोई छैन पराई”को नारा घन्के झैं “मधेशंको एक पार्टी नीति”को नारा अगाडि सारिएको छ । आफत कालमा “भगवान एकमात्र तेरा ही सहारा” भनेर दया बटुल्ने प्रपंच गरे जस्तै, बसुधैव कुटुम्बकम् भनेर कसैलाई कसैसंग सम्बन्ध बन्न नदिने जस्तै आदर्श वचनभित्र लुकेको तीक्ष्ण स्वार्थको अनुभूति दिलाउँछ । भर्खरै टुक्रा टुक्रामा विभाजित मधेशका पार्टीहरूमा शहादत दिने शहीदहरू जस्तै मधेशप्रति समर्पणको भावना भई दिएको भए पार्टी विभाजनको कुरा सोच्न पनि सकिन्नथ्यो । तर कसैमा देखिएन त्यो भावना । एकअर्कालाई मेटाई हाल्ने प्रतिशोधका साथ फुट्ने पार्टी अहिले गोहीको आँसू झारेर मधेशी जनतालाई फेरि झुक्याउने खेलको पुनरावृति गर्न लागेको हो । आदर्शको गला रेटेर राजनीतिलाई अगाडी बढाउने दलहरूले पुनश्च आदर्शको कुरा गर्नु प्रपंच बाहेक अरू केही बुझ्न सकिन्न । मधेशलाई टुट्नबाट रोक्ने साहस नदेखाउन सक्नेले मधेशमा एक पार्टी नीतिको कुरा ल्याउनु बकम्फुसे कुरा मात्र ठहरिन्छ । एक पार्टी नीतिको कुरा सुन्दा राम्रो लाग्छ । यस कुराको समर्थनमा फेसबुकले ठूलो आन्दोलन शुरू पनि गरेको छ । सम्भवतः “डुबते को तिनके का सहारा” पाए जस्तै अहिले फेसबुकका आन्दोलनकारीहरू एक पार्टी नीतिबाट खुशी भएर आन्दोलित भएका होलान् । तर यसको जगमा न आदर्शको मर्म छ, न कुनै ठोस रणनीति नै । जनताको सेन्टिमेन्टलाई आकर्षित गरि सत्ताका लागि प्रयोग गर्ने रणनीति नै होला । मधेश आन्दोलन पश्चात २७ पार्टीमा विभाजित मधेशलाई यति मात्र दण्ड भोग्नु परेन, जातिवादको जहरबाट मधेशको एकतालाई खण्डित गर्ने काम पनि गरिएको छ । मधेशको पार्टीहरूले आहत भई रहेको मधेशलाई बचाउन प्रतिरक्षात्मक पहल गरेन, बरू राज्यको षडयन्त्रमा प्रत्यक्ष, परोक्ष रूपमा मतियार नै बने । फलतः मधेशको एकता विखण्डित हुँदा सबै पार्टीप्रति असन्तोष, अविश्वास, घृणा र आक्रोश मिश्रित प्रतिक्रिया राखेको छ ।
सवाल उठ्दछ, एक पार्टी नीति के को लागि ? निर्वाचन प्रयोजनका लागि कि मधेशलाई अधिकार सम्पन्न गराउने अभियानका लागि ? सहज रूपमा मधेशले दिएको जनादेश बमोजिम एक भएर आवाज उठाउन नसक्ने पार्टीले आज एक पार्टी नीतिको अवधारणा ल्याएर कतिको सफलता हासिल गर्न सक्दछ, समयले नै बताउला । अधिकारवादी आन्दोलनका आवाजलाई सम्बोधन नगरिकनै प्रपंचपूर्वक समाप्त गरिएको संविधान सभा पश्चात् पुनश्च संविधान सभाको स्थापना हुने आश न्यून हुँदै गएको छ । यद्यपि संविधान सभा चुनावको घोषणा गरिएको भए पनि राजनीतिक गतिरोध चरम अवस्थामा रहेकोले यसको सम्भावना कमै छ । जुन कपट मानसिकताले संविधान सभालाई विस्थापित गरेको छ, निश्चय पनि संविधान सभालाई स्थापित हुन दिदैन । यही बिन्दुबाट अधिकारवादी आन्दोलनको शुरूवात हुन्छ । जनताले संविधान सभाबाटै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान माँग गरेका छन् । संघीयता नदिने शक्तिहरू अप्रत्यक्ष रूपमा अधिकारवादी आन्दोलनलाई चुनौती नै दिएका छन् । “ताकत छ भने आन्दोलनबाटै यी कुरा लेऊ” भन्ने मानसिकता विगतको क्रियाकलापबाट स्पष्ट भई सकेको छ । संघीयता लिनका लागि सशक्त आन्दोलनको आवश्यकता पर्दछ र यसको लागि सबै अधिकारवादी आन्दोलनको बलियो एकताले मात्र सम्भव छ । अब एउटा शक्तिले एकात्मक राज्यको दुष्ट मानसिकतालाई झुकाउने अवस्था छैन । फेरि मधेशको सेन्टिमेन्ट टुक्रिएको अवस्थामा छ । मधेशमा अनेक किसिमको विचार पनि उपस्थित छ । यी सबै बाधा अवरोध पार गरेर सशक्त आन्दोलन तयार गर्नु मामुली कुरा होइन । सैद्धान्तिक विचलन बोकेका शक्तिहरू आन्दोलनको सुत्रपात गर्न सक्दैन । सम्झौता परस्त र बिचलित मानसिकताले आन्दोलनलाई परिणाममुखी बनाउन सक्दैन, विगतको अनुभवले देखाई सकेको छ । विगतका दिनमा इमानदारीपूर्वक मधेशका मुद्दाप्रति अडान राख्न नसकेका, सत्तालिप्सामा चुर्लुम्म डुबेका दलहरू सुविधाबाट बञ्चित भएको अवस्थामा इमानदारीका जति कुरा गरे पनि आन्दोलनको नेतृत्व भने गर्न सक्दैन । यो कार्य अन्ततोगत्वा मधेशका वीर सपूतहरूले नै निर्विवाद रूपमा गर्न सक्दछ र राज्यलाई चुनौती दिन सक्दछ । पहिलेको आन्दोलन जस्तै मधेशको सहज अवस्था अहिले छैन । यो कार्य दीर्घकालीन अभ्यासको क्रममा रहने भएकोले सत्ता भोगी शक्तिहरू यतिका दिन पर्खेर बस्ने कुरा पनि आउँदैन । तसर्थ आन्दोलनको अभिभारा बहन गर्न नसक्ने कुरा स्पष्ट छ । अधिकारवादी आन्दोलनको झंझटमा लामो समय अल्झेर बस्न नसक्ने दलहरू अन्ततः शीघ्र लाभको छोटो बाटो निर्वाचनलाई नै अंगालेर सत्ता प्राप्त गर्ने अभिष्टबाट प्रेरित भएको हुन्छ र मुक्तिको संघर्षसंग टाढा सम्म उसको सम्बन्ध हुँदैन भन्ने कुरा विगतका दिनले हामीलाई शिक्षा दिई सकेको छ ।
मधेशमा अहिले जुन किसिमले एक पार्टी नीतिको राजनीतिक पत्ता फ्याँकिएको छ, मलाई लाग्दछ यसको अभिष्ट जान्न उपरोक्त विश्लेषण नै पर्याप्त हुनेछ । समय अनुसार जनतामा जागृति आउँदै जाँदा शासक वर्गको राजनीतिक चाल पनि फेरिएको विकसित र उत्कृष्ट अवस्थामा निरन्तरता पाएको हुन्छ । जनताको अवस्थालाई राज्यले बडो गम्भीरता साथ अध्ययन गर्दै नबुझिने षडयन्त्रको सूत्रपात गरि रहेको हुन्छ । मधेश आन्दोलन पश्चात मधेशको प्रतिरक्षात्मक अवस्था पनि रहेन । राज्य एकपक्षीय रूपमा निर्बाध षडयन्त्र गर्दै गयो । मधेशका प्रतिनिधी पार्टीहरू न त प्रतिरक्षात्मक पंक्तिमा उभिए, न मधेशलाई राज्यको षडयन्त्रबारे सजग नै गराए । एकपक्षीय रूपमा मधेश राज्यको शिकार हुँदै गयो । मधेशलाई तोडन गरिएको प्रयासमा अपेक्षित सफलता प्राप्त गरेपछि राज्य अहिले मधेशप्रति आक्रामक बन्नु स्वाभाविक हो । मधेशको सर्वांग शरीरको पार्ट पार्ट विखण्डित रहेको अवस्थामा एक पार्टी नीतिको अवधारणा हास्यास्पद नै लाग्छ । निर्वाचन प्रयोजनको लागि पनि यो असम्भव लाग्दछ ।
२०६९ आषाढ २९ गते मधेशवाणीमा प्रकाशित
